+
+

आरती साहका पति र ससुरा साधारण तारेखमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते २०:४५

१८ असोज, जनकपुरधाम । जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरा रिहा भएका छन् । उच्च अदालत जनकपुरको आदेशमा पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडी साधारण तारेखमा रिहा भएका हुन् ।

मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले पति र ससुरालाई साधारण तारेखमा छोड्ने आदेश दिएको अदालतका श्रेस्तेदार खडगराज अधिकारीले जानकारी दिए ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको बताएको हो । त्यसै कारण देखाएर उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

‘…पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादीहरु मोतीबाबु साह र मदन मोहन साह भन्ने मदन मोहन व्याहुत साह सुडीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम मुद्दा पुर्पक्षको लागि तारिखमा राखी मुद्दाको कारबाही किनारा गर्नुहोला’, आदेशमा भनिएको छ ।

गत ७ जेठमा आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुराविरुद्ध उजुरी दिएको थियो ।

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो । तर दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको दाबी छ ।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भई मामा लगायत करिब तीनमहिनादेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् ।

आफूहरुमाथि प्रहरीले नै कुटपिट तथा दुव्र्यबहार गरेको भन्दै उनीहरुले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, तत्कालिन डीएसपी वेदप्रसाद गौतमसहितलाई कारबाहीको मागसमेत गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?