+
+
ब्लग/स्वास्थ्य :

धुवाँरहित सुर्तीजन्य पदार्थको जोखिम  

नेपालको लगभग ३० प्रतिशत जनसङ्ख्याले धुवाँरहित सुर्तीजन्य पदार्थ उपभोग गर्ने तथ्याङ्कले देखाउँछ। प्रतिशतको हिसाबमा यो छिमेकी मुलुक भारत, श्रीलङ्का र बंगलादेश भन्दा धेरै हो।

डा. विश्वबन्धु बगाले डा. विश्वबन्धु बगाले
२०८० असोज १९ गते १३:२५
Photo Credit : Pixabay

दक्षिणएशियाका मुलुकहरूमा विश्वका अन्य देशहरूको तुलनामा धुवाँरहित सुर्तीजन्य पदार्थको सेवन उल्लेख्य रूपमा बढी पाइन्छ। सुर्ती, खैनी, गुट्खा आदि र नेपालको तराई भूभागमा बढी मात्रामा प्रयोग हुने पान र जर्दा धुवाँरहित सुर्तीजन्य पदार्थ हुन्। विभिन्न खतरनाक क्यान्सर र मुखजन्य स्वास्थ्य समस्याको प्रमुख कारण सुर्तीजन्य पदार्थ नै हो।

मुख स्वास्थ्यमा सुर्तीजन्य पदार्थले पुर्‍याउन सक्ने हानिहरूको लेखाजोखा स्वास्थ्यको दृष्टिकोणबाट मात्र नभई आर्थिक र सामाजिक दृष्टिकोणबाट पनि उत्तिकै महत्वपूर्ण छ। नेपालमा क्यान्सरबाट हुने मृत्युमध्ये ४.२ प्रतिशतको कारण मुखको क्यान्सर हो। यो रोग कुल क्यान्सरहरूमा छैटौं नम्बरमा पर्दछ।

प्रक्षेपित तथ्याङ्कहरूलाई आधार मान्ने हो भने यो सङ्ख्या बढ्दै जाने देखिन्छ। त्यसैले यस बारेमा बेलैमा उचित पहलकदमी लिनु जरुरी छ। व्यक्तिगत आचरण र बानी परिवर्तन गर्नसके मात्र पनि यसबाट हुनसक्ने सम्भावित जोखिम र क्षति अधिकतम रूपमा कम गर्न सकिन्छ।

नेपालको लगभग ३० प्रतिशत जनसङ्ख्याले धुवाँरहित सुर्तीजन्य पदार्थ उपभोग गर्ने तथ्याङ्कले देखाउँछ। प्रतिशतको हिसाबमा यो छिमेकी मुलुक भारत, श्रीलङ्का र बंगलादेश भन्दा धेरै हो।

नेपालको सबै भूगोलमा यसको प्रयोग व्याप्त छ भने वयस्क पुरुषहरूमा अत्यधिक प्रयोग भएको पाइन्छ। विशेषतः निम्न आय भएका र सामाजिक रूपमा पिछडिएका वर्गमा बढी प्रयोग हुने अनुसन्धानले देखाउँछन्। यी वर्गमा स्वास्थ्यको पहुँच समेत राम्ररी पुग्न नसकेको वर्तमान परिस्थितिमा रोग लागिहालेमा अन्य वर्गको तुलनामा यिनीहरूमा झनै बढी समस्या हुने कुरा सहजै अनुमान गर्न सकिन्छ।

धुवाँरहित सुर्तीजन्य पदार्थको यस्तो व्यापक प्रयोग बढ्नुका पछाडि थुप्रै कारण छन्। मूलतः वयस्क उमेरमा चेतनाको कमी, संगतको असर आदि हुन् भने यसको सहज उपलब्धता र बिक्री–वितरण अर्को महत्त्वपूर्ण पाटो हो। अधिकांशमा यो चुरोट जत्तिकै खतरनाक छ र मुखको क्यान्सर लगायतको कारक तत्वका हिसाबले अझै बढी जोखिमयुक्त छ भन्ने चेतनामा प्रष्ट कमी देखिन्छ।

लगभग सबै समुदायमा यसको प्रयोगलाई कम हानिकारक मान्ने मानसिकता व्याप्त छ। यस बाहेक पान सेवन तराईका अधिकांश भागमा नेपाली समाजको एउटा अभिन्न पाटो नै हो।

पान सेवन हरेक उत्सव र परम्परासँग जोडिएको त हामीलाई थाहा छ तर यसले मुखको स्वास्थ्यमा पार्ने हानिको बारेमा हाम्रो समाज अनभिज्ञ छ। पानमा हुने रसायनिक पदार्थको हानिकारक असर त छँदैछ, झन् यसमा जर्दा समेत राखी सेवन गर्दा यसले मुखको स्वास्थ्यमा पुर्‍याउने हानि कैयौं गुणा बढ्न जान्छ।

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बनेको विश्व स्वास्थ्य संगठनको ‘फ्रेमवर्क कन्भेन्सन अफ टोब्याको कन्ट्रोल’ मा उल्लेख भए बमोजिमका रणनीतिक कार्यमा नेपालले दक्षिणएशियामा नै उल्लेख्य सफलता हासिल गरेको कुरा सर्वविदित नै छ।

सुर्तीजन्य पदार्थको उत्पादन, ओसारपसार, बजारीकरण, व्यापार प्रवर्धन, बिक्री–वितरण, राजस्व संकलन, चेतावनीमूलक सन्देशका प्रावधानहरूमा नेपालले हासिल गरेका उपलब्धिहरू कैयौं अरु मुलुकका लागि उदाहरण बन्ने गरेका छन्। यी उपलब्धिहरू धुवाँजन्य सुर्ती पदार्थ अथवा चुरोटमा जति सफल छन्, धुवाँरहित सुर्तीजन्य पदार्थमा त्यति सफल देखिंदैनन्।

चुरोट लगायत धुवाँजन्य पदार्थको नियमन गर्न नेपाल सरकार सफल भएको रणनीति बमोजिम धुवाँरहित पदार्थको उपभोग तथा बिक्री–वितरणमा नियमन गर्नुपर्ने देखिन्छ। किन्न, लिएर हिंड्न र सेवन गर्न सहज भएकोले चुरोटको तुलनामा यसको प्रयोग घटाउन केही चुनौती अवश्य पनि छन् तर असम्भव भने छैन।

विश्व स्वास्थ्य संगठनको सोही रणनीति बमोजिम यस्ता पदार्थको उत्पादनदेखि बिक्री–वितरणसम्म समयसापेक्ष र परिवेश अनुकूल व्यवस्था गरी अझै कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ। यस सम्बन्धमा छिमेकी देशहरूमा भएका केही सफल प्रयासहरूको अध्ययन र अनुसरण गर्न सकिन्छ।

वयस्कहरूमा यसको प्रभावलाई न्यूनीकरण गर्न विद्यालय शिक्षामा जोड दिई यसका सम्भावित हानिहरूको बारेमा अध्यापन गराइनु जरुरी छ। यस बाहेक मुख स्वास्थ्य सम्बन्धी सामग्री पाठ्यक्रममा नै समावेश गर्नु अपरिहार्य छ।

पान लगायत वस्तुको सेवनबाट हुने हानिको सन्दर्भमा समुदायमा आधारित जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्नुपर्ने देखिन्छ। यस्ता खालका कार्यक्रम प्रदेश वा सम्बन्धित स्थानीय तहबाट नै भएमा प्रभावकारिता अझै बढी हुने देखिन्छ।

हाम्रो देशमा धुवाँरहित सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने गरेको हानिको यकिन विवरण निकाल्न यस क्षेत्रमा अनुसन्धान र शोधकार्यमा जोड दिनुपर्ने देखिन्छ। यसो गर्न सके दुईवटा फाइदा हुन्छ एउटा त हामीलाई आवश्यक रणनीति बनाउन सजिलो हुन्छ भने आर्को चाहिं हामीले प्राप्त उपलब्धिहरू अन्य मुलुकसामु उजागर गर्न आधार हुन्छ।

यस बाहेक यसको बढी प्रभाव रहेको समुदायमा स्वास्थ्य प्रवर्धनात्मक कार्यक्रम संचालन गर्नुका साथसाथै मुखको क्यान्सरको स्क्रिनिङ परीक्षण गर्न सकिन्छ।

हाल स्थानीय तहको अस्पतालहरूमा मुख स्वास्थ्य सम्बन्धी सेवाहरू त छन् तर धुवाँरहित सुर्तीजन्य पदार्थको सेवन अत्यधिक रहेको र मुखको क्यान्सरका बिरामीको सङ्ख्या बढी रहेको प्रदेश वा स्थानीय तहहरूमा विशेष खालको समुदायमा आधारित खोज-पड्तालका कार्यक्रमहरू संचालन गर्नुपर्छ।

सम्भव भएसम्म क्यान्सरको अवस्थामा पुग्नुभन्दा अघिल्लो अवस्थामा नै पहिचान गर्नुपर्ने देखिन्छ। यसो गर्न सके यसबाट हुने मृत्यु घटाउन सकिन्छ भने उपचारमा खर्च हुने आर्थिक भार पनि धेरै हदसम्म कम गर्न सकिन्छ।

धुवाँरहित सुर्तीजन्य पदार्थको बढ्दो प्रभाव र सम्भावित जोखिमलाई कम गर्नको लागि तीनै तहको सरकारको भूमिका उल्लेख्य छ। यससँग सम्बन्धित सबै पाटोको मिहिन ढंगबाट अध्ययन गर्ने र आवश्यक रणनीतिहरू अवलम्बन गर्ने हो भने आनीबानीका कारण भइरहेको मृत्युदर घटाउन सकिन्छ।

साथै, उपचारमा परेका आर्थिक भारहरू निकै हदसम्म न्यूनीकरण गर्न सकिन्छ। धेरैको लागि समस्या बनिरहेको यस विषयमा दक्षिण एशियाली मुलुकहरूमा जनस्वास्थ्यमा सफल उदाहरण पनि नेपाल बन्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?