+
+

गैरआवासीय नेपालीका नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउँछन् : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते ११:२०

२० असोज, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गैरआवासीय नेपालीका छोराछोरी र नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)द्वारा शनिबार आयोजित भर्चुअल अन्तरक्रियामा पुनले गैरआवासीय नेपालीका शाखा सन्तननहरुको हैसियत पनि नेपालीकै हुने बताएका हुन् ।

एनआरएनए र उनीहरुका सन्तानले राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग पाउने व्यवस्था संविधान र नागरिकता ऐनले स्पष्ट गरेकाले उनीहरु विदेशी हुन नसक्ने पुनको भनाइ थियो । ‘अध्ययनको सिलसिला अवसरको खोजी वा अन्य बाध्यताले नेपालीहरु विभिन्न देशमा पुग्नुभएको छ । एकपटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको भावनात्मक नाराले हामी नेपालमा भएकाहरुको मन छुन्छ’, पुनले भने, ‘तपाईंहरुको नारामा पूर्ण सहमत हुँदै म भन्न चाहन्छु, एकपटकका नेपालीका छोराछोरी र नातिनातिनासम्म पनि नेपाली नै हुन् ।’

त्यही कारण धेरै लामो बहस र छलफलपछि संविधानमा गैरआवासीय नागरिकताको प्रावधान राखिएको पुनले स्मरण गराए ।

‘संविधान लेखनका क्रममा हाम्रो बीचमा धेरै छलफल र बहसहरु भए,’, उनले भने, ‘अन्तिममा हामी विदेशमा रहेका नेपालीलाई गैरआवासीय नागरिकता दिनुपर्छ । राजनीतिक बाहेक वंशज वा अंगीकृत नागरिकले पाउने सबै अधिकार एनआरएनएहरुले पाउनुपर्ने भन्ने व्यवस्था हामीले गरेका छौं ।’

नेपाली नागरिकताको निरन्तरताबारे एनआरएनएले उठाउँदै आएको मागबारे राजनीतिक तहमा र संसदमा छलफल हुन सक्ने उनको भनाइ थियो ।

एनआरएनएले पाउने भनिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे ऐन, नियमावली र कार्यविधिमा कुनै अस्पष्ट व्यवस्था भए परिमार्जनमार्फत व्यवहारिक बनाइनुपर्ने धारणा उनले राखे ।

एनआरएनएहरुले आफू रहँदै आएको मुलुकस्थित नेपाली दूतावास, बाणिज्य दूतावास वा अनलाइन प्रणालीमार्फत पनि एनआरएनए नागरिकताको आवेदन दिन सकिने लचिलो व्यवस्था राखिएकाले कार्यान्वयनमा जटिलता नआउने विश्वास पुनले व्यक्त गरे ।

अन्तरक्रियाका सहभागीको जिज्ञासाबारे पुनले यसअघि लिएको नेपाली नागरिकता वा नागरिकता नलिएको व्यक्तिका हकमा बाबुआमा, बाजेबज्यैसमेत खुल्ने गरी एनआरएनए नागरिकता वितरण हुने बतए ।

पुनले संयुक्त राज्य अमेरिकासँग दोहोरो करसम्बन्धी सम्झौताको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र सम्वद्ध पक्षको आफूले ध्यानाकर्षण गराउने जानकारी पनि दिए ।

उनले नेपालमा रहेको पैत्रीक सम्पत्ति बेचबिखन गरेर नलैजान पनि सुझाए । त्यसो गर्दा आफ्नो पुख्र्यौली जरोसँग सम्बन्ध रहिरने र छोराछोरी वा नातिनातिनाहरु नेपाल फर्कने बाटो बन्द नहुने उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?