+
+

‘एनआरएन द सिङगर’ मा उत्कृष्ट १० जनाको छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते ६:३९

२१ असोज, काठमाडौं । ‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर संचालन भैरहेको रियलिटी शो ‘एनआरएन द सिङगर’का सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ ।

प्रतियोगिताअन्तर्गत १२ जना प्रतिस्पर्धीहरु मध्येबाट अनलाइन भोट र निर्णायकहरुको मूल्यांकनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो ।

उत्कृष्ट १० बाट अब ग्रान्ड फिनालेका लागि ५ जना छनोट हुने छन् । त्यसका लागि अनलाइन भोटिङ खुला भएको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिए ।

आयोजकका अनुसार  झापा घर भएका यूएई बस्ने भीम शेर्मा लिम्बूले उत्कृष्ट १० मा स्थान बनाएका छन् । ३६ वर्षीय लिम्बूले शिव परियारले गाएको ‘रित्तो रित्तो छु म’ भन्ने बोलको गीत प्रस्तुत गरेका थिए ।

यस्तै, काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङले विक्रम गुरुङको शब्द तथा अरुण थापाको स्वरमा रहेको ‘आँखाको निद खोसिएला नि’ बोलको गीत प्रस्तुत गर्दै उत्कृष्ट १० मा स्थान बनाउन सफल भए ।

त्यसैगरी पोर्चुगल बस्ने दाङ घर भएका सुवास चन्द्र पुन मगरलाई स्वरसम्राट नारायण गोपालको ‘सल्ला झैं आमा सुसाइ रहिन, अल्झेछ क्यारे पछ्यौरी’ बोलको गीतले टप १० मा प्रवेश गराएको छ ।

मोरङ घर भै हाल कतारमा बसोबास गर्ने लोकेन्द्र दूधराजले नारायण गोपालले  गाएको ‘वीरताको चिनो’ बोलको गीत प्रस्तुत गरेका थिए ।

त्यसैगरी नर्वे बस्ने चितवनका विष्णु क्षेत्रीले गुलाम अलिले गाएको ‘लोलाएका दुई ती तिम्रा ठुला नयन’ बोलको गजल प्रस्तुत गर्दै अन्तिम १० मा स्थान पक्का गर्न सफल भएका थिए ।

दक्षिण कोरिया बस्ने पाँचथरको प्रदीप कोयु राइले दीपेश किशोर भट्टराईको ‘मलाई माफ गरिदेउ मेरा लोभी नजर’ बोलको गीत प्रस्तुत गर्दै आफूलाई सेमिफाइनलमा पु-याएका छन् ।

जर्मनी बस्ने काठमाडौंका केदार कार्कीले नारायण गोपालको गीत ‘आजै र राति के देखें सपनी मै मरी गएको’ गीत गाउँदै अन्तिम १० मा स्थान बनाए ।

यसैगरी काठमाडौं घर भएकी युके बस्ने १७ वर्षीया युक्ती बलामी, मोरङ घर भई यूएई बस्ने कृष्ण खवास र भोजपुर घर भई कतार बस्ने गुन मगर निशुले पनि अन्तिम १० मा स्थान बनाएका छन् ।

अब उनीहरु उत्कृष्ट ५ मा पर्नका लागि अक्टोबर ९ सम्मका लागि अनलाइन भोटिङ खुला भइसकेको छ ।

ग्रान्ड फिनालेमा पुग्ने ५ जनाको छनोट

उत्कृष्ट १० बाट ग्रान्ड फिनाले (फाइनल) मा पुग्ने पाँच जनाको छनोट गर्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गर्ने छ ।

ग्रान्ड फिनालेमा पाँच जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन् ।

उपाधि जित्नले नगद पाँच लाख प्राप्त गर्दा फस्ट रनरअपले दुई लाख  र सेकेन्ड रनरअपले एक लाख नगद पुरस्कारका  साथै ट्रफि र प्रमाणपत्र पाउने छन् ।

यही असोज २२ गते (अक्टोबर ९ मा) सेमिफाइनल (उत्कृष्ट १०) को प्रस्तुति प्रसारण गरेर फिनालेका लागि उत्कृष्ट पाँच जनाको छनोट गरिने र  फिनाले घटस्थापना का दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।

प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एनआरएनएका सचिव गोविन्द प्रसाद गौतमले बताए ।

झन्डै दुई वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरे।

एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल),  शर्मिला बर्देवा (युके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) रहेका छन् ।

खल्ती एपबाट कसरी भोट गर्ने ?

आफूले मन पराएका उत्कृष्ट प्रतिभा छनोट गर्न सबै भन्दा पहिले खल्ति एप डाउनलोड गर्नु पर्ने छ ।

उक्त एप खोलेपछि इन्टरटेनमेन्ट सेक्सनमा ‘एनआरएन द सिंगर’ देखिने छ । त्यसपछि आफूलाई  मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सकिने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?