
२१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ ।
चेकजाँचका क्रममा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी धुवाँजन्य प्रदूषण गर्ने सवारीलाई कारवाही गरिने महानगरले जनाएको छ ।
काठमाडौं महानगरभित्रका सडकमा मापदण्डभन्दा बढी प्रदूषण गर्ने सवारी साधन सञ्चालनमा रहेको जनगुनासो आएपछि वायु प्रदूषण चेकजाँच गरेर कारबाही गर्ने जानकारी महानगरले सूचनामार्फत गरेको हो ।
‘वायु प्रदूषणका मुख्य कारकहरुमध्ये सवारी साधनबाट उत्सर्जन हुने धुवाँ प्रमुख कारक रहेकोले आगामी दिनहरुमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भएर गुड्ने सवारी साधनहरुको वायु प्रदूषण चेकजाँच गर्ने र मापदण्ड विपरीत गुड्ने सवारी साधनलाई कारबाही गरिनेछ,’ सूचनामा भनिएको छ ।
यस्ता सवारीलाई काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन अनुसार मापदण्ड विपरीत कार्य गर्न बन्देज लगाएर तीन लाख रुपैंयाँसम्म जरिवाना गर्न सक्ने सूचनामा उल्लेख छ ।
महानगरको वातावरण व्यवस्थापन विभागले भनेको छ, ‘दुई महिनाभित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने र दिएको आदेश बमोजिम कार्य नभएमा सोही उपदफा बमोजिम गरिएको जरिवानाको तेब्बर जरिवाना गराउने छ ।’
प्रतिक्रिया 4