+
+

टोरन्टोको ऐतिहासिक मेस्सी हलमा गुञ्जिंदै नेपथ्यले टुंग्यायो क्यानडा टुर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २३ गते १४:१३

काठमाडौं । टोरन्टोको ऐतिहासिक भव्य सभागृह ‘मेस्सी हल’मा गर्विलो प्रस्तुति दिंदै लोक-रक ब्याण्ड नेपथ्यले आफ्नो क्यानडा टुर समापन गरेको छ । पहिलोपटक क्यानाडामा प्रस्तुत भएको ब्याण्डले क्यानडाको क्यालगरी सहरबाट सुरु गरेको सांगीतिक यात्रा भ्यानकुभर हुँदै टोरन्टोमा टुंग्याएको हो ।

कन्सर्ट हेर्न आउने दर्शकले तीनतल्ले मेस्सी हल खचाखच थियो । ‘यति महत्वपूर्ण हलमा उस्तै महत्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पा भनिरहेका थिए, ‘दर्शकका रुपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।’ मिङमाका अनुसार प्रस्तुतिदेखि लिएर सहभागितासम्मका हिसाबले यस्तो भव्य अनुभूति थियो ।

कन्सर्टका लागि एक घण्टाअगावै हलको ढोका खुल्नासाथ दर्शकहरुको उपस्थिति सुरु भइसकेको थियो । स्थानीय समयअनुसार बेलुकीको ठीक सात बजे पहिलो प्रस्तुतिका रुपमा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्नासाथ तीनतल्ले हलको टनाटन दर्शक घेराले उत्तेजना र उत्साहको आवाज गुञ्जायो । त्यसपछि कन्सर्ट अवधिभर त्यो न्यानोपन उस्तै रह्यो ।

‘कोशीको पानी यो जिन्दगानी’ गाउँदै नेपथ्यका सदस्य स्टेज चढे । त्यसपछि लगातार नयाँ र पुराना गीतहरु एकपछि अर्को प्रस्तुत हुँदै गए ।

दर्शकदीर्घामा एक परिचित क्यानेडेली अनुहार पनि देखिन्थ्यो । उनी थिए लामो समय नेपालमा बसेर पत्रकारिता गरेका ड्यानियल ल्याक । ‘नेपालले समेटेको गजबको धर्ती, संस्कृति र त्यहाँका मानिसहरुका बारेमा बोल्ने उत्साहवर्धक संगीतको अनुभूति भयो,’ ड्यानियल भन्दै थिए, ‘अमृत र उनको टोलीले आफ्नो प्रतिभा र हुटहुटीलाई यति गहनताका साथ प्रस्तुत गरे कि यो बेलुकी म एउटा मगनमस्त नेपालीजस्तै झुम्न पुगें ।’

गीत गाउँदै अमृतले दर्शकसँग बीचबीचमा संवाद पनि गरे । ‘नेपालीहरु जतासुकै फैलिए पनि हामी सबैको साझा घर नेपालै हो,’ अमृतले भने, ‘तपाईंहरुले यहाँ सिकेको सीप र आर्जन गरेको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्छ ।’ उनले विदेशमा बसेका बेला नेपालीहरु एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए । यतिबेला मुलुकभित्र विभाजन ल्याउन खोज्नेहरु विरुद्ध पनि अमृतले खबरदारी गरे ।

टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक आएका थिए ।

नेपथ्यले तीव्र दर्शक उत्तेजनाकै बीच ‘रातो र चन्द्रसूर्य’ गीतबाट आफ्नो प्रस्तुतिको समापन गरेको थियो ।  कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

नेपथ्यको १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ मा स्वदेश फर्कनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?