+
+

विदेशमा ‘आउटडोर ड्यूटी’ गर्ने नेपालीमा मिर्गौला रोगको जोखिम बढी

अमृत चिमरिया अमृत चिमरिया
२०८० असोज २३ गते १९:१२

२३ असोज, काठमाडौं । खाडी मुलुक र मलेसियामा ‘आउटडोर ड्यूटी’ गर्नुपर्ने नेपाली नागरिकमा मिर्गौला सम्बन्धी रोगको बढी जोखिम रहेको अध्ययनले देखाएको छ । खासगरी एकै स्थानमा लामो समय खटिनु पर्ने र ‘आउटडोर ड्यूटी’ पर्ने नेपाली कामदार यस्तो जोखिममा रहेको बेलायतको बर्नमथ विश्वविद्यालयले नेपालमा आएर गरेको स्थलगत अध्ययनमा देखिएको हो ।

विश्वविद्यालयले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा विगत एक वर्षभित्र खाडीका ६ मुलुक कतार, साउदी अरब, कुबेत, ओमान, यूएई, बहराइन र मलेसियामा काम गरी फर्किएका नेपालीमा यस्तो अध्ययन गरेको थियो ।

नेपाल फर्किएका ७१८ जना पुरुष र स्थानीय ७२० जना (३७९ पुरुष र ३४१ महिला) बीच तुलना गरेर सो अध्ययन गरिएको अध्ययनका नेतृत्वकर्ता डा. निर्मल अर्यालले जानकारी दिए । डा. अर्याल मिर्गौला रोग विशेषज्ञ समेत हुन् ।

डा. अर्यालका अनुसार मृगौलाको रोगको जोखिम उच्च भएकाहरुमा सबैभन्दा धेरै लामो समयसम्म एकै स्थानमा काम गरेका कामदार रहेका छन् । सुरक्षा गार्ड र सवारी चालकहरुमा समेत मिर्गौलाको समस्या अन्य काम गर्ने कामदारको तुलनामा धेरै पाइएको छ । प्रत्यक्ष घाममा, आउटडोर, धुलो–धुवाँमा काम गर्ने कामदारमा समेत यो समस्या धेरै पाइएको अध्ययनले देखाएको छ ।

यस अध्ययनका सिलसिलामा रगत र पिसाबको नमूना लिइएको थियो । त्यसपछि प्रश्नहरु सोधिएको थियो ।

अध्ययनमा मिर्गौला रोगको सम्भावित जोखिम जनाउने सिरम क्रियटिनिनको मात्रा औसतमा आप्रवासीहरुमा बढी देखिएको अर्यालले जानकारी दिए ।

‘मृगौलाको अवस्था जनाउने सबैभन्दा महत्वपूर्ण परीक्षण मानिने ‘ग्लोमेरुलर फिल्ट्रेसन रेट’को कमी ५.८ प्रतिशत अप्रवासी र ३.६ प्रतिशत गैरआप्रवासीहरुमा देखिएको छ,’ अध्ययनको नतिजाबारे अर्यालले भने ।

मिर्गौला रोगको अर्को परीक्षण पिसाबमा प्रोटिनको मात्रा भने खाडीबाट आउने नेपाली भन्दा धेरै स्थानीयमा देखिएको छ । खासगरी पुरुषमाभन्दा महिलाहरुमा यो समस्या बढी देखिएको छ । यसको कारकतत्व खोज्न भने बेग्लै अध्ययन गर्नुपर्ने देखिएको उनको भनाइ छ ।

खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपाली र स्थानीयको  तुलना गर्दा उच्चरक्तचापको समस्या विदेशबाट नेपाल फर्किएका कामदारमा धेरै देखिएको छ । खाडीबाट फर्किएका नेपालीमा ३८ प्रतिशतलाई रक्तचापको समस्या देखिएको छ । स्थानीयमध्ये १९.४ प्रतिशतमा यस्तो समस्या देखिएको छ ।

मधुमेहको समस्या समेत विदेशबाट नेपाल फर्कनेमा धेरै देखिएको छ । खाडी मुलुक र मलेसियाबाट फर्किएका नेपालीमा ७.४ प्रतिशतलाई मधुमेह देखिएकोमा स्थानीय ४.७ प्रतिशतमा यो समस्या देखिएको छ ।

वैदेशिक रोजगारीमा जानेमा मोटोपन धेरै

नेपालबाट विदेश गएकाहरुमा बढी तौल वा मोटोपनको समेत समस्या देखिएको छ ।

स्थानीयमा तुलनात्मक रुपमा कम समस्या देखिएको छ । विदेशबाट फर्कनेहरुमा नेपालीमा ६७.४ प्रतिशत र स्थानीयमा ४९ प्रतिशतमा यस्तो समस्या देखिएको छ । अध्ययन अनुसार विदेश नगएका स्थानीय पुरुषमध्ये उच्च रक्तचाप, मधुमेह र बढीतौल वा मोटोपन क्रमशः २१.८, ५.९ र ३९.४ प्रतिशतको देखिएको छ ।

३० दिन नै काममा खट्छन् नेपाली

अध्ययनमा सहभागी मध्ये ९० प्रतिशत कतार, साउदी अरब र मलेसियामा कार्यरत रहेको देखिएको छ । उनीहरुमध्ये दुई तिहाईभन्दा बढी निर्माण र उद्योग क्षेत्रमा कार्यरत थिए । यी कामदारमध्ये ३०.९ प्रतिशतले मासिक एक दिन पनि बिदा नबसी काममा खटिएको जानकारी गराएका थिए । अध्ययनमा सहभागी कामदार औसत दैनिक १०.७ घण्टा काममा खटिएका थिए । २५.८ प्रतिशतले शारीरिक रुपले भार बहनको काम गरेका थिए ।

सहभागीमध्ये आधा नेपाली (४५.५ प्रतिशत)ले चर्को गर्मीमा काम गर्नुपरेको प्रतिक्रिया दिएका थिए । विदेशमा ९७ प्रतिशतले काम गर्ने ठाउँमा पिउने पानी र शौचालयको सुलभ सुविधा रहेको थियो ।

यो अध्ययनमा बर्नमथ विश्विद्यालयबाट डा. निर्मल अर्याल, डा. प्रमोदराज रेग्मी, प्रा.डा. एडविन भान तेजलिन्जिन सहभागी थिए ।

नेशनल एकाडेमी अफ मेडिकल साइन्सेस वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ प्रा.डा अरुण सेढाईं, आईओएमका डा. राधेश्यामकृष्ण केसीलगायत समेत सहभागी थिए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?