+
+

लगातार ४ दिनको गिरावटपछि ५.१६ अंकले बढ्यो नेप्से, कारोबारमा देखिएन सुधार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १५:२८

२४ असोज, काठमाडौं । लगातार ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा बुधबार सामान्य सुधार भएको छ । गत बिहीबारदेखि मंगलबारसम्म लगातार ४ कारोबार दिन नेप्सेमा गिरावट भएको थियो । गत बिहीबार नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएर व्यक्तिलाई १५ करोड र संस्थालाई २० करोड बनाएको थियो ।

गत बिहीबार नै घटेको नेप्से आइतबारदेखि मंगलबारसम्म नै लगातार घट्यो । बुधबार भने ५.१६ अंकको सामान्य वृद्धि भएर १९९४.७६ को विन्दुमा बन्द भएको छ ।

बुधबार उत्पादनमूलक, निर्जीवन बीमा र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । उत्पादनमूलक र व्यापार उपसूचक ०.१३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ ।

होटल तथा पर्यटन उपसूचक १.८० प्रतिशतले वृद्धि हुँदा म्युचुअल फन्ड उपसूचक १.०७ प्रतिशतले बढेको छ ।

नेप्सेमा सुधार भएपनि कारोबार रकम भने घट्दै गएको छ । मंगलबार १ अर्ब २८ करोड नाघेको कारोबार रकम बुधबार भने १ अर्ब ८ करोड ८५ लाखमा सीमित भएको छ । ५५ हजार १९७ वटा कारोबारमा ३७ लाख ३३ हजार ५२४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।

बुधबार माण्डु हाइड्रोपावरको सर्वाधिक ४ करोड ८१ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा सूचीकृत भएर बुधबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको थियो । यस्तै एनआईसी एशिया बैंकको ३ करोड ५५ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ८५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १२ कम्पनीको स्थिर छ ।

बुधबार कारोबार भएकामध्ये सीटी होटलको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । माण्डु हाइड्रोपावर हाथवे इन्भेष्टमेन्ट मंगलबार नेप्सेमा सुचिकृत भई बुधबारबाट कारोबार सुरु गरेका कम्पनी हुन् । यस्तै समता घरेलु लघुवित्तको सेयरमूल्य पनि ९.९२ प्रतिशतले वृद्धि भएको छ ।

सानिमा जीआईसी इन्स्योरेन्सको सेयरमूल्य ४.२१ प्रतिशतले गिरावट हुँदा ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.४१ प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य ३.४० प्रतिशतले घटेर बन्द भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?