+
+

पाकिस्तान किन एउटी सुन्दरीसँग डराउँदैछ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते १६:५१

काठमाडौं । जमात-ए-इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमद यसलाई ‘लज्जास्पद’ भन्छन् । कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले छानबिन गर्न आदेश दिएका छन् । पाकिस्तानी पुरुषबीचको अनलाइन कुराकानी डरलाग्दो छ ।

तर यस्तो आक्रोशलाई कुन कुराले उत्प्रेरित गरिरहेको छ ?

२४ वर्षीया एक युवती ।

कराँची सहरकी क्रिश्चियन युवती एरिका रोबिनले आगामी मिस युनिभर्स सौन्दर्य प्रतियोगितामा गहिरो रुढिवादी पाकिस्तानको प्रतिनिधित्व गर्दैछिन् । माल्दिभ्समा हालै आयोजित मिस युनिभर्स पाकिस्तानको प्रतिस्पर्धामा रोबिन विजेता चुनिएकी थिइन् ।

मिस युनिभर्स बहराइन र मिस युनिभर्स इजिप्टको फ्रेन्चाइज अधिकारको स्वामित्व लिने दुबईस्थित युगेन ग्रुपले प्रतिस्पर्धा आयोजना गरेको थियो । जसका लागि मिस युनिभर्स पाकिस्तान पेजेन्टले अत्यधिक संख्यामा आवेदन प्राप्त गरेको बताइएको थियो ।

मिस युनिभर्सको फिनाली आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुँदैछ ।

प्रतिक्रिया र समर्थन

‘पाकिस्तानको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई महान् ठानेकी छु । तर यस्ता नकारात्मक प्रतिक्रिया कहाँबाट आउँदैछ मलाई थाहा छैन । मलाई लाग्छ कि म पुरुषले भरिएको कोठामा स्विमसुट लगाएर परेड गर्न चाहन्छु,’ सुश्री रोबिनले बीबीसीलाई बताइन् ।

उनको मनोनयनको आलोचना गर्नेहरु भन्छन्- रोबिन यस्तो मुलुकको प्रतिनिधित्व गर्दैछिन्, जुन मुलुक वास्तविक रुपमा प्रतिनिधित्व हुन चाहँदैन । विशेषगरी मुस्लिम बाहुल्य पाकिस्तानमा सौन्दर्य प्रतियोगिता विरलै हुन्छन् ।

विश्वभरबाट पाकिस्तानी वंशका महिलाको लागि मिस पाकिस्तान वर्ल्ड सबैभन्दा प्रसिद्ध छ । यो पहिलो पटक सन् २००२ मा टोरन्टोमा आयोजना भएको थियो । तर सन् २०२० मा लाहोरमा सारियो । मिस पाकिस्तान युनिभर्सल, मिसेस पाकिस्तान युनिभर्सल र मिस ट्रान्स पाकिस्तान जस्ता विभिन्न संस्करण पनि देखिएको छ ।

प्रतियोगिताको ७२ वर्षको इतिहासमा पाकिस्तानले मिस युनिभर्सका लागि कहिल्यै प्रतिनिधि मनोनयन गरेको छैन ।

सुश्री रोबिनले स्मरण गरेअनुसार जुम बैठकमा आयोजित प्रतियोगिताको दोस्रो छनोट राउन्डमा, उनलाई आफ्नो देशको लागि गर्न चाहेको एउटा कुराको नाम दिन भनिएको थियो । यसमा उनको जवाफ थियो– ‘म यो मानसिकता परिवर्तन गर्न चाहन्छु कि पाकिस्तान एक पिछडिएको देश हो ।’

यो मनोनयनलाई लिएर प्राप्त प्रतिक्रिया हेर्दा लाग्छ, केही कठिन अवश्य हुन सक्छ ।

यद्यपि मोडल, लेखक र पत्रकारले सुश्री रोबिनलाई बधाई दिएका छन् । पत्रकार मारियाना बाबरले एक्स (पहिलेको ट्वीटर)मा रोबिनको सौन्दर्य र बुद्धिको प्रशंसा गरेकी छन् ।

तर रोबिनलाई मोडलिङमा आउन प्रोत्साहित गर्ने पाकिस्तानी मोडल भानिजा अहमदले भनिन्, ‘जब यी पुरुषहरू ‘मिस्टर पाकिस्तान’ भनिने अन्तर्राष्ट्रिय प्रतियोगितालाई लिएर ठीक छन् भने उनीहरूलाई महिलाको उपलब्धिमा किन समस्या छ ?’

रक एण्ड रोलदेखि इस्लामिक गणतन्त्रसम्म

‘हामी धेरै विरोधाभास मुलुकका नागरिक हौं । महिला र सीमान्तकृतले हामीलाई सबैभन्दा उत्प्रेरित गर्छन्,’ कराँचीमा बसोबास गर्ने लेखक र टिप्पणीकार रफे महम्मदले बीबीसीलाई भने ।

‘पाकिस्तान अधिनायकवादी राज्य हो र यसले कठोर पितृसत्तात्मक मूल्यलाई संस्थागत र सामाजिक रूपमा बलियो तुल्याउँछ । एरिका रोबिन र उनले सामना गरेको पुलिसिङ त्यसको विस्तार हो,’ उनले थपे ।

तर कुनै समय उदार मुलुक थियो भन्ने कुरालाई बिर्सन हुँदैन । सन् १९५० देखि १९७० को दशकको उत्तरार्द्धसम्मको डन अखबारका प्रतिलिपिमा क्याबरे र विदेशी बेली डान्सर कराँचीस्थित डाउनटाउनका क्लबमा प्रदर्शन गर्ने विज्ञापन छापिएका छन् । यी रात्रि क्लबमा पार्टीका कार्यकर्ता, कूटनीतिज्ञ, राजनीतिज्ञ, एयर होस्टेस र युवा पटक–पटक जाने गर्थे ।

कराँचीको ऐतिहासिक मेट्रोपोल होटल पनि गायन र ज्याज प्रदर्शनको लागि लोकप्रिय थलो थियो । तर १९७३ मा पाकिस्तानको संसदले एक संविधान बनायो जसले देशलाई इस्लामिक गणतन्त्र र इस्लामलाई राज्य धर्म घोषणा गर्‍यो ।

चार वर्षपछि सैन्य नेता जनरल जिया उल-हकले प्रधानमन्त्री जुल्फिकार अली भुट्टोको सरकारलाई हटाए । इस्लामिक कानुन लागू भएको र पाकिस्तानी समाजमा आमूल परिवर्तन भएकाले कार्यकर्ता र वकिलले एक दशकपछिको घटनालाई ‘कडाको अवस्था’ भनेका छन् ।

सन् १९८० को मध्यमा, जनरल जियाले इस्लामिक कानूनप्रति आफ्नो प्रतिबद्धता देखाउन सार्वजनिक कोर्राको पुनः थालनी गरे ।

आज नाइटक्लब र बार चल्न छाडेको लामो समय बितेको छ । मेट्रोपोल होटेल भत्किने खतरामा छ जस्तो देखिन्छ । सडकको तल, सुरुमा क्यासिनो मानिने कंकालको संरचना पनि बेवास्ता गरिएजस्तो छ ।

तर स्वतन्त्र, अधिक सहिष्णु पाकिस्तानको चाहना हटेको छैन र सुश्री रोबिन के स्वीकार्य र के होइन भन्ने सीमालाई जोड्नेमध्ये एक पात्र बनेकी छन् । सेन्ट प्याट्रिक हाई स्कुल र गभर्नमेन्ट कलेज अफ कमर्स एण्ड इकोनोमिक्सको स्नातक रहेकी उनले कुनै गल्ती नगरेको कुरामा आफू अडिग रहेको बताएकी छन् ।

‘मैले विश्व प्लेटफर्ममा पाकिस्तानको प्रतिनिधित्व गरेर कुनै पनि कानुन तोडेको छैन । म यसको बारेमा कुनै पनि स्टिरियोटाइप हटाउनको लागि प्रयास गरिरहेको छु,’ उनले भनिन् ।

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?