+
+

राष्ट्रपतिको सन्देश– ६२ प्रतिशत क्रियाशील जनशक्तिलाई उद्यमशील बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते २०:५७

२४ असोज,  धुलिखेल । राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्र रहेको क्रियाशील जनसंख्यालाई उद्यमशील बनाउनुपर्ने बताएका छन् ।

उनले आर्थिक रूपले क्रियाशील जनसंख्या ६२ प्रतिशत रहेको र यो जनसांख्यिक लाभलाई उद्यमशीलतामा परिणत गर्नसके मुलुकको विकास गर्न सकिने पनि बताए ।

काठमाडौं विश्वविद्यालय (केयू)मा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)को सहयोगमा निर्माण भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले नवप्रवर्तन केन्द्रमार्फत इन्क्युवेशन सेन्टर चलाएर स्टार्टअपमा बीउ पूँजी उपलब्ध गराई उद्यमशीलताको विकास गर्न सकिने पनि विचार राखे ।

उनले उद्यमशीलता विकासशील अर्थतन्त्रको महत्त्वपूर्ण आधारशिला रहेकाले उद्यमशीलताले जागिर खोज्ने नभई जागिर दिने जनशक्ति उत्पादन गर्ने धारणा दिए ।

इनोभेसन सेन्टरमा स्थापित कृषि, स्वास्थ्य र ऊर्जासम्वद्ध तीनवटै विशिष्टीकृत खोज–अनुसन्धान इकाईहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति र आलेखहरू प्रकाशित गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप,ज्ञान र दक्षता विकासमा पनि उत्तिकै योगदान गर्न सक्नुपर्ने राष्ट्रपतिको धारणा छ ।

‘मानवतामैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान, नवप्रवर्तन र प्रविधिका परिपूरक सहकार्यका अतिरिक्त वातावरण र मानवतासँग अन्योन्याश्रित सहसम्बन्ध हुनु अपरिहार्य छ,’ राष्ट्रपति पौडेलको भनाइ थियो  ।

उनले भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प नभएको बताउँदै मानव मष्तिकको क्षमताले व्यवस्थित गर्न सक्नेभन्दा छिटो गतिमा विश्वमा परिरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृत्रिम विद्वताले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्नु पर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क ताइ योङ्गले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर नेपालको उद्योग र शिक्षाविद्हरुबिचको आविष्कार र सहकार्यको मञ्च रहेको बताए ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) का नेपालका कन्ट्री डाइरेक्टर कोङ् मोहिओन, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले इनोभेसन सेन्टर नवप्रवर्तनमा लाग्ने युवाहरूको लागि एउटा अनुसन्धान गर्ने महत्त्वपूर्ण स्थलको रूपमा रहेको सुनाए ।

उपत्यकाका तीन जिल्लाबाहेक अन्यत्र जाँदा हेलिकप्टर लैजाने प्रचलन तोड्दै राष्ट्रपति गाडीमै काभ्रे पुगेका हुन् । राष्ट्रपतिले सम्भव भएसम्म कम खर्चमै यात्रा गर्ने सोच राखेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?