 
																			१४ फागुन, काठमाडौं। काठमाडौं विश्वविद्यालय उपकुलपतिका ८ उम्मेदवारले कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई गुहारेका छन् ।
छनोट समिति बनेको अढाइ महिना हुँदा पनि समितिले नाम सिफारिस नगरेपछि उपकुलपतिका उम्मेदवार बालचन्द्र लुइँटेल, हरिप्रसाद न्यौपाने, कन्हैया झा, विभूति रञ्जन झा, वेदमणि दाहाल, श्यामनारायण लाभ,बिमप्रसाद श्रेष्ठ, धिरज गिरिले प्रधानमन्त्री एवम् केयूका कुलपति ओलीलाई गुहारेका छन् ।
सबै प्रक्रिया पूरा भएको दुई साता बितिसक्दा पनि समितिका सदस्यबीच सहमति जुटेको छैन। ‘उपकुलपति खोज तथा सिफारिस समितिले आफैंले बनाएको कार्यविधि अनुरुप छनोटका सबै प्रक्रिया पूरा गरेको दुई हप्ता भइसक्दा पनि अझै विश्वविद्यालयले उपकुलपति पाउन सकेको छैन ।
यस बीचमा खोज तथा सिफारिस समितिका संयोजक अनलाइनखबर र बीबीसी नेपाली सेवाका दुई अन्तर्वार्तामार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् । आफैंमा परस्पर विरोधी देखिने यी प्रसारित दुई अन्तर्वार्ताले तपसीलका विषयलाई उजागर गरेको छ,’ प्रधानमन्त्री ओलीलाई लेखिएको पत्रमा भनिएको छ ।
गत फागुन ६ मा छनोट समितिका संयोजक सुरेशराज शर्माले अनलाइनखबरसित मेरिट तर संस्थाको हितलाई हेरेर नाम सिफारिस गर्ने बताएका थिए। सर्ट लिस्टमा १० जना रहेकाले संयोजक उहाँले चाहेको व्यक्तिले मात्र हित गर्ने भन्ने आशाय रहेकोमा उपकुलपतिका उम्मेदवारहरूले असन्तुष्टि जनाएका छन् ।
‘वर्षौदेखि आफ्नो कार्यथलो बनाइ आएका र त्यहाँका महत्वपूर्ण पदमा समेत काम गरिआएका प्राध्यपकहरुमध्ये उहाँले चाहेकोले मात्र विश्वविद्यालयको ‘हित गर्ने’ देखे संयोजक दृष्टिलाई सच्याउन कुन भाषा प्रयोग गर्ने भन्नेमा अलमलमा परेका छौ,’ प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ।
कार्यविधि अनुसार नाम सिफारिसका लागि सहजीकरण गरिदिन प्रधानमन्त्रीलाई उनीहरूले ध्यानाकर्षण गराएका छन्। ‘उच्च अंकभार ल्याउने तीन जना कुलपति समक्ष सिफारिस गर्ने उहाँहरुको योजना र आफैले बनाएको कार्यदिश हो।
छनोट आधार बनिसके पश्चात कुनै आवेदक तेश्रो नम्बर पनि नपरेपश्चात ती आवेदकलाई के के भनेर र कहाँ कहाँ चलखेल गरेर सिफारिस गर्न सकिन्छ भनेर संयोजक आफै लाग्न सुहाउने कुरा थिएन,’ कुलपतिलाई लेखेको पत्रमा भनिएको छ।
प्रक्रिया छिटो टुंग्याउन उपकुलपतिका उम्मेदवारहरूले प्रधानमन्त्रीलाई सहजीकरण गर्न अनुरोध गरेका छन्। ‘सिफारिस समितिका संयोजकलाई उहाँकै समितिले बनाएको विधि र प्रक्रियाको आधारमा तय भएका नामलाई सिफारिस गरि संयोजकीय भूमिकामा रहन सम्झाउनु पर्ने अवस्था आएको र उहाँ आफैंले पनि सिफारिस सहजीकरणका लागि कुलपतिज्यूको भूमिका मिडिया मार्फत खोजेकाले यो प्रक्रियालाई छिटो टुङ्गयाउन आवश्यक सहजीकरणका लागि अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।
 
 
नाम सिफारिस गर्न समितिलाई सकस भएको छ। सर्ट लिस्टमा परेका १० जनाको अन्तर्वार्ता सकिए पनि सिफारिस भएको छैन। फागुन २ र ३ गते सर्ट लिस्टमा परेका १० जनाको अन्तर्वार्ता लिएसँगै समितिले नाम सिफारिस गर्नुपर्ने हो ।
उपकुलपतिको दौडमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्रप्रसाद कोजु, श्यामनारायण लाभ र सुबोध शर्मा छन् ।
समिति संयोजकमा केयूका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् ।
समितिले १८ पुसमा उपकुलपतिका लागि खुला आह्वान गर्यो। तर, सबैलाई समेट्न भन्दै १८ माघमा दोस्रो पटक पनि आवेदन माग गरियो । जसमा २० जनाको आवेदन परेको थियो। यसमध्ये १० जना सर्टलिस्टमा परेका हुन्।
 
                









 
             
                             
                             
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4