+
+

निजी क्षेत्रलाई पेलिरहे अर्थतन्त्र गम्भीर संकटमा पर्छ : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १०:०७

२५ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले पेलेर जाने गरेको गुनासो गरेका छन् । उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।

आज काठमाडौंमा आयोजित आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई सधैं पेलेर अगाडि बढे अर्थतन्त्रमा झन् संकटमा जाने चेतावनी दिए ।

‘निजी क्षेत्र चलायमान नहुँदा राजश्व घटिरहेको विदितै छ । उच्च मूल्यवृद्धि छ,’ उनले भने, ‘निजी क्षेत्रमैत्री वातावरण होस् । हामीले समयमा सही नीति लिन सकेनौं र टालटुले ढंगले गयौं भने धेरै असजिलो अवस्थामा जान्छौं ।’

अर्थतन्त्र संकटतर्फ धकेलिएको अवस्थामा बजेट, मौद्रिक नीति जस्ता राज्यको नीतिहरु व्यवसायी मैत्री नभएको अध्यक्ष ढकालले बताए । अर्थतन्त्रको सुधारका लागि कदम चालेको भन्दै नीति ल्याउने तर उद्योगी व्यवसायीलाई घुमाउरो ढंगबाट लखेट्ने काम भएको अध्यक्ष ढकालले गुनासो गरे । ‘अर्थतन्त्र समस्यामा छ तर राज्य अनेक ढंगबाट निजी क्षेत्रलाई लखेट्ने काम भइरहेको छ,’ अध्यक्ष ढकालले प्रश्न गरे, ‘यसरी गएर कहाँ पुगिन्छ ?’

संसदीय समितिमा निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरी भएको छलफलप्रति पनि ढकालले आपत्ति जनाए । ‘प्रधानमन्त्रीको निर्देशनमा रोकिएको यो विषय पुनः छलफलमा आएपछि  हामी झस्किएका छौं’ अध्यक्ष ढकालले भने । राज्यका नियामकहरु व्यक्तिलाई पेलेर समग्र अर्थतन्त्रमा समस्या ल्याउनमा उद्दत रहेको उनले आरोप लगाए ।

आफूहरुले सरकारलाई दिने सुझाव कुनै व्यक्ति विशेषको वा संस्थाको लागि नभई समग्र निजी क्षेत्रको भएको बताउँदै ढकालले तर सरकारले गर्ने व्यवहार व्यक्ति विशेषलाई पेलेर जाने खालको भएको गुनासो गरे । ‘हामीले सरकारलाई दिने सुझाव समग्र निजी क्षेत्रको हो, कुनै व्यक्ति वा संस्थाको होइन,’ ढकालले भने, ‘तर कतिपय नियामक निकायबाट व्यक्ति विशेषलाई पेलेर डिसिजन हुने गरेको छ । यो निजी क्षेत्रका लागि दुर्भाग्यपूर्ण छ ।’

एउटा कर्जा कालो सूचीमा परे सहकार्यका सबै व्यवसाय ब्ल्याकलिष्टमा पर्ने प्रावधान गलत भएको उनको भनाइ छ ।

आर्थिक सुधारका लागि तत्काल नयाँ पुस्ताको आर्थिक सुधार घोषणा गर्न र आर्थिक सुधार आयोग वा संयन्त्र घोषाणा गर्न सरकारसँग माग गरे । त्यसको अध्यक्ष प्रधानमन्त्री हुने र अन्य निजी क्षेत्रका संस्थाका प्रतिनिधि अवैतनिक सदस्यको रुपमा रहने गरी आयोग वा संयन्त्र गठन गर्न सकिने उनको सुझाव छ । ‘यसबाट खर्च बढ्ने भएकाले आयोगका पदाधिकारीहरु अवैतनिक हुने गरी कार्यविधि निर्माण गर्न सुझाव दिन्छु,’ उनले भने ।

उद्योगी व्यवसायीले जग्गा र शेयरमा लगानी गर्नु गलत हो भनेर राज्यले बुझ्नु गलत भएको ढकालको दाबी छ । कुनै दातृ निकायको सानो ऋणका कारण अर्थतन्त्रमै समस्या आएको भन्दै उनले त्यस्ता दातृ निकायको ऋण फिर्ता गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा अर्थविद डा. अच्युत वाग्लेले अर्थतन्त्र संकटमा छ कि छैन भनेर भाष्य निर्माण नगरेसम्म आर्थिक क्षेत्रको समस्याको उपचार नहुने बताए ।

उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, मुख्य सचिव डा. बैकुण्ठ अर्याललगायत सहभागी छन् ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?