+
+

लगानी विना एसियाडमा कबड्डीले दिलाएको मेडल

नमिता दाहाल नमिता दाहाल
२०८० असोज २६ गते २०:२४

२६ असोज, काठमाडौं । राष्ट्रिय महिला कबड्डी टिमले चीनमा भएको एसियाली खेलकुदमा कास्य पदक जित्यो । एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेको भए पनि कबड्डी खेल कसैको प्राथमिकतामा थिएन ।

कबड्डी प्राथमिकतामा हुन्थ्यो भने त नियमित प्रशिक्षण लागि खेलाडीले हल पाउथेँ, नियमित रुपमा प्रतियोगिता खेल्न पाउँथेँ । तर कबड्डी टिमले त अभ्यास गर्ने ठाउँ नै पाएनन् ।

प्रतियोगिताका लागि जम्मा ३ महिनाको प्रशिक्षण गरेको कबड्डी टिमले एक महिना भारतमा बिताएको थियो भने एक महिना दशरथ रंगशालाको मैदान तथा ट्रयाकमा र अर्को १ महिना लैनचौरस्थित टेबल टेनिसको हलमा त कहिले चौमतीको हलमा अभ्यास गरेको थियो ।

‘न कबड्डीको हल थियो न त लगानी तर हामीले मेडल लिएर आयौं’, कप्तान मेनुकाकुमारी राजवंशी भन्छिन् । राज्यको लगानी बिना पनि खेलाडीको मिहिनेतको बलमा यो पदक आयो ।

आफ्नै हल नभएकाले विरालोले बच्चा सारे जसरी ठाउँ सारेर अभ्यास गराउनु परेको बाध्यता प्रशिक्षक पार्वती राई सुनाउँछिन् । ‘हामीसँग आफ्नो हल छैन । के गर्नु जताजता खाली हुन्छ, त्यतैत्यतै जाँदै प्रशिक्षण गर्‍यौं ।’

प्रशिक्षणका लागि राखेपले म्याट दिएको थियो, तर खेलाडीले त्यो ओछ्याउने ठाउँ पाएनन्, ‘हामीसँग राखेपले दिएको म्याट छ, तर ओछ्याउने हल छैन’ कप्तान मेनुकाले अनलाइनखबरसँग भनिन् ।

चीन उड्नुअघि नै पदक जित्नेमा ढुक्क

राष्ट्रिय खेलकुद परिषद र अन्य खेल पदाधिकारीले पदकको आशा गरिएको खेलमा कबड्डीलाई नराखे पनि खेलाडी भने चीन प्रस्थान गर्नुअघि नै पदक जित्नेमा ढुक्क थिए ।

एसियाली खेलुकदको कबड्डीमा ७ टिम सहभागी थिए र नेपालको समूहमा इरान र बंगलादेश गरी ३ टिम मात्र । ३ टिम हुनुको अर्थ एउटा खेल जितेमा पनि सिधै सेमिफाइलनको यात्रा थियो । कबड्डीमा सेमिफाइनल पुग्ने टिमले कास्य पदक पाउने थियो ।

‘हामी बी पोलमा पर्नु निकै भाग्यको कुरा थियो,’ मेनुकाले भनिन्, ‘बंगलादेशसँग खेल पर्नु, बंगलादेशसँग हामीले १३ औं सागमा खेलिसकेका थियौं ।’

नेपालले १३ औं सागमा बंगलादेशसँग खेलेर जितेको थियो । यसपालि पनि बंगालदेशलाई जित्ने विश्वास खेलाडीमा थियो । ‘हाम्रो समूहमा बंगलादेश हुने बित्तिकै हामीले पदक लिएर आउने पक्का थियो । हामीमा त्यो विश्वास थियो । उनीहरुको खेल्ने तरिका थाहा थियो र जित्ने विश्वास पनि थियो’, प्रशिक्षक राईले भनिन् ।

यो समूहको अर्को टोली इरानले यसअघिको संस्करणमा स्वर्ण जितेको थियो, इरानले बंगलादेशलाई हराउनेमा खेलाडीलाई कुनै शंका थिए । त्यसैले खेलाडीहरु बंगलादेशलाई हराउँदै पदक जित्ने योजनासहित चीन उडेका थिए ।

‘जानेबेला नै टिमको फिक्सर आइसकेको हुनाले प्रतिस्पर्धी थाहा थियो,’ प्रशिक्षक पार्वतीले भनिन्, ‘हामीलाई पदक ल्याउने विश्वास थियो ।’

सुरुवातमा मेडलको आश राखिएका खेल र खेलाडीले निराश प्रदर्शन गरिरहेको बेला नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।

तर संयोग यस्तो भइदियो कि कबड्डी खेलाडीले पदक लगाएर खुसी मनाउँदै गर्दा करातेमा एरिका गुरुङले रजत पदक पक्का गरिन् ।

त्यसो त कबड्डी टिमले सन् २०१९ मा काठमाडौं मै भएको दक्षिण एसियाली खेलकुद सागमा रजत पदकजितेको थियो । पूर्वखेलाडी पार्वती २०५२ सालदेखि राष्ट्रिय खेलकुद परिषदमा कबड्डी प्रशिक्षकको रुपमा कार्यरत छिन् ।

यसबीचमा उनले नेपाललाई पाँच वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै ३ वटामा पदक जिताएकी छिन् । उनी भन्छिन्, ‘नेपालको कबड्डी अझै अघि जान सक्छ । हामीलाई खेल र हल दिनुहोस् ।’

हरियाणाको एक महिने प्रशिक्षण

एसियन गेम्सका लागि ६४ जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो । जसबाट १२ जना खेलाडी छनोट गरेर टिम बनाइएको थियो ।

यो टिमले राखेपको आर्थिक सहयोग र कबड्डी संघको संयोजनमा १ महिना भारतको हरियाणामा प्रशिक्षण ग¥यो, जहाँ नेपाली खेलाडीले धेरै सिक्न पाए ।

‘नेपालभन्दा बाहिर गएर प्रशिक्षण गर्दा हामीलाई धेरै सहयोग भयो,’ कप्तान मेनुका भन्छिन्, ‘बाहिर गएर सिक्दा धेरै फरक कुराहरु हामीले सिक्ने मौका पायौं ।’ भारतको प्रशिक्षणबाट एसियन गेम्समा निकै सहयोग भएको कप्तान मेनुकाले भनिन् ।

सबै दुःखलाई पछि पारेको पदक

मेनुका राजवंशी मोरङको जहदा गाउँपालिका ३ जैरामपुरमा जन्मिएकी हुन् । सानोमा साथीहरुसँग खो खो खेल्ने उनको जिउ भारी भएपछि उनलाई पहिलो गुरु विकुलाल चौधरीले कबड्डी खेलमा ल्याए ।

खेलमा लाग्न जति सहज भयो । उति नै गाह्रो भयो निरन्तरता दिन । गाउँमा कुर्ता सुरुवाल लगाउनु पर्ने थियो । नत्र फलानाकी छोरी यस्ती भनेर कुरा काट्न थाल्थे ।

खेल्न थालेपछि उनले हाफ पेन्ट तथा जर्सीको सेट लगाउनु पर्ने भयो । ‘मलाई निरन्तरता दिन साह्रै गाह्रो भएको हो । खेलको अभ्यास सकेर खेल्ने लुगामै घर पुग्दा फलानोको छोरीले यस्तो लुगा लगाउँछे भन्थे,’ उनी भन्छिन्, ‘त्यसैले म त कसैले नदेखुन् भनेर बिहान २ बजे उठेर कुद्थें, अभ्यास गर्थेँ ।’

उनको यो कठिन समयमा उनको परिवार आमा, बुवा र दाजुले निकै सहयोग गरे । बुवा अर्जुनप्रसाद राजवंशी पुलिसमा थिए । जसले गर्दा उनलाई खेलमा लाग्न सहज भयो । उनको प्रेरणा आमाको साथ र दाजुको उनी माथिको विश्वासले मेनुकाले राष्ट्रिय टिममा २०६५ मा पाँचौं राष्ट्रियमा पूर्वाञ्चलको कप्तान भएर आएपछि उनी राष्ट्रिय टिममा परिन् ।

१५ वर्षदेखि खेलमा रहेकी उनी कबड्डीकै कारण १० वर्षयता नेपाली सेनामा कार्यरत छिन् । सेनामा रहेकोले नै कबड्डीलाई निरन्तरता दिन सकेको उनी बताउँछिन् ।

एसियाली खेलकुदमा पदक विजेता टिममा २ जना बाहेक अरु सबै विभागीय टिमका खेलाडी छन् । टिममा ४ जना सेनाका, ३ जना सशस्त्र र ३ जना नेपाल पुलिसका खेलाडी छन् ।

पाँचौं राष्ट्रिय खेलकुदबाट राष्ट्रिय खेल खेल्न थालेकी उनले कबड्डी हल बन्ने आशैआशमा खेलिरहेकी छिन् । ‘हाम्रो लागि हल अहिले मात्रै नभएको होइन । पहिलाबाट नै छैन । हामी भन्दा अगाडिका पुस्ताले हाम्रो पालामा बन्छ भन्नुहुन्थ्यो । हामीले खेलेको यत्रो वर्ष भइसक्यो तर हाम्रो कबड्डीको लागि भनेर हल छैन,’ कप्तान मेनुकाले भनिन् ।

हल नहुँदा यता र उता भौतारिँदाको दुःख र कबड्डी निरन्तरता गर्न पाएको दुःख उनलाई यहि मेडलले बिर्साइदियो । ‘हामीले गरेको हरेक दुःख यो मेडलले बिर्साइदियो’, मेनुकाले भनिन् ।

अबको लक्ष्य

नेपाल कास्यपछि रजत र स्वर्ण जित्न चाहन्छ । यसका लागि आवश्यक वातावरण मिलेको खण्डमा नेपाली टिम अघि बढ्न सक्ने कप्तान मेनुका बताउँछिन् । भन्छिन्, ‘हाम्रो टिममा खेलाडी राम्रा छन् । हामी यहिसम्म सिमित हुनु हुँदैन ।’

संघबाट खेलाडीलाई गराउनु पर्ने प्रतिस्पर्धा र प्रशिक्षण कम भएको कप्तान मेनुकाले महसुस गरेकी छिन् । ‘हामी ३ महिनाको प्रशिक्षणमा एसियन गेम्समा गएका थियौं । तर चाइनिज ताइपेइले ११ महिना १५ दिन तथा इरानले १० महिना प्रशिक्षण गरेर आएको थियो ।’

नेपाललाई अब पदक चाहिन्छ भने संघबाट पनि प्रतियोगिता र हलको लागि पहल गर्नु पर्ने प्रशिक्षक पार्वती पनि बताउँछिन् ।

‘नेपालका लागि यो पदक इतिहाससँगै बनेको चुनौती पनि हो । २० औं एसियनमा हामीले यसलाई जोगाउन या बढाउन सकेनौं भने हाम्रै बेइज्जती हुन्छ । त्यसका लागि संघबाट जतिसक्दो धेरै प्रतियोगिता गराई खेलाडी उत्पादन गर्नुपर्छ र हल बनाउनु पर्छ’, उनी भन्छिन्, ‘अर्को पटक हामी फाइनल पुग्न सक्छौं । सरकारले लगानी गर्नुपर्छ । प्रतियोगिता गर्नुपर‍्‍यो ।’

हराए कबड्डी खेलाडी !

कबड्डीको खेल नहुँदा खेलाडीहरु खेल छोडेर पलायन भएका छन् । १३ औं सागमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीमध्ये ५ खेलाडीमात्रै हाल टिममा छन् । कति त अर्कै पेशामा छन् । ‘खेल नहुँदा खेलाडी हराइरहेका छन् । खेल भए पो खेलाडीले खेलिरहन्छ । च्याम्पियनसिपहरु गराउनुस्, नतिजा ल्याउनु छ भने’, कप्तान मेनुकाले भनिन्, ‘खेलाडीलाई प्रशिक्षण चाहियो ।’

नयाँ खेलाडी उत्पादन नहुने र पुराना खेलाडी पलायन हुँदा कबड्डी खेल कसले खेल्ने हो भन्ने प्रश्न तेर्सिन सक्छ । एसियन गेम्समा नेपालको साख बचाएको एक मात्र टिम गेम बनेको कबड्डीमा अब वार्षिक क्यालेन्डर र प्रतियोगिताको जरुरत छ ।

लगानी बीना र सरप्राइज प्याकेज भएर सधैं पदक नआउन सक्छ । बढ्दो प्रतिस्पर्धाको युगमा भगवान भरोसा र कमजोर लागनीले पदक नआउने कप्तान र प्रशिक्षक दुवैको निष्कर्ष छ ।

भिडियो तथा तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?