+
+

भारतमा मजदुरी गर्नेहरु भन्छन्- दशैंमा घर गए गुजारा कसरी गर्नु ?

रासस रासस
२०८० असोज २६ गते २१:२६

२६ असोज, नैनीताल (भारत) । कालीकोटको खिना घर भएका दानसिंह विक दसैंको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिए ।

उनले नैनीतालमा यसरी भारी बोक्न थालेको १८ वर्ष भयो । विक साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्छन् । यसबाहेकको बाँकी समय भारी बोक्छन् । ‘भारी बोकेरै घरको खर्च धानेको छु, यो नगरे घरमा सबै ठप्प हुन्छ’, ४७ वर्षीय विकले भने ।

उनी केही अघि मात्रै कालिकोट गएर नैनीताल काममा फर्किएका हुन् । ‘घरमा छोरो बिरामी भएको खबर आयो, उपचारका लागि खर्च लगेर गए, अब घर ढिलै जान्छु, दसैंमा गइन्न ।’

नैनीतालमा मजदुरी गरेर विकले मासिक ३० हजारसम्म कमाउँछन् । ‘स्वदेशमै काम पाएको भए विदेश आउन मन थिएन, काम पाइहाले पनि उचित ज्याला पाइँदैन’, उनले भने, ‘यहाँ दुखः गरे अनुसारको पारिश्रमिक पाइन्छ ।’

नैनीताललाई सुन्दर बनाउन धेरै नेपाली मजदुरको मेहेनत छ । नैनीतालको तल्ली र मल्ली ताल क्षेत्रमा सयौँ नेपाली मजदुर दिनरात भारी बोक्दै गरेको अवस्थामा भेटिन्छन् । कोही होटल त कतिपय स्थानीय साहुमहाजनको घरमा काम गरेर जीविका चलाउँदै आएका छन् । पछिल्लो समय सडक पेटीमा पसल सञ्चालन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैंको मुखमा समेत मजदुरी गर्नेको सङ्ख्या उत्तिक्कै छ । ‘दसैंमा घर परिवारसित बसेर पर्व मनाउने इच्छा कसको हुन्न र ?” कैलालीको घोडाघोडी नगरपालिका–२ का १८ वर्षीय रमेश रावतले भने, ‘दसैंमा घर गए बाँकी समय गुजारा कसरी गर्नु ?’

नैनीतालकै कमाइले घर परिवारको खर्च चलाएको उनको भनाइ छ । राजनीतिक परिवर्तन भए पनि स्वदेशमै रोजगारीका सम्भावना नदेखिनु दुःखद् भएको रावतको भनाइ छ ।

कक्षा १२ कक्षाको परीक्षा दिएर मजदुरी गर्न नैनीताल आएका रावतका बुबा पनि यतै मजदुरी गर्छन् । बुबाको साथले उनलाई मदजुरी गर्न सहज भएको छ । ‘घरको परिस्थितिका कारण बुबासित यहाँ आएँ, धेरैभन्दा धेरै भारी बोकेर खर्चको जोहो गर्नु हाम्रो नियति नै बनिसक्यो”, रावतले भने ।

दसैं तिहारमा कतिपय नेपाली घर जाँदा सो समयमा भारी बोक्ने काम बढी पाइने आशामा रावत बाबु–छोरा यसपाली नैनीतालमा बसेका छन् । यहाँ नेपाली मजदुर घरघरमा गएर तरकारी बेच्ने तथा होटलमा भाँडावर्तन सफा गर्ने काममा बढीजसो खटिने गरेका छन् ।

चारैतिर पहाड अनी बीचमा आकर्षक नैनीताल अवस्थित छ । कोरोना महामारीमा सुनसान बनेको नैनीतालमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । योसँगै नेपालीले पनि काम गर्ने अवसर पाएका छन् । नैनीताल, खुर्पा ताल, भीम ताललगायत क्षेत्रमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत छन् ।

नैनीताल क्षेत्रमा सिमेन्ट, छड, तरकारी, ग्यास सिलिण्डरलगायत अन्य घरायसी सामान ढुवानी गर्नमा उनीहरु दिनरात व्यस्त देखिन्छन् । दुरी तथा तौलका हिसाबले उनीहरुलाई पारिश्रमिक दिइन्छ । ‘नेपाली नागरिक इमान्दार भएर लामो समयदेखि काम गर्दैआएका छन्,’ नैनीतालका एक होटल व्यवसायीले भने, ‘होटलमा तरकारी बोक्नेदेखि घर घरमा ग्यास पु¥याउने काममा नेपालीको ठूलो साथ र सहयोग छ ।’

बझाङ्गको तलकोटका नवराज विष्ट दसैंका लागि घरमा सरसामान पठाए पनि आफू भने नजाने मनस्थितिमा छन् । उनले भारी बोक्न थालेको झण्डै डेढ दशक भयो । होटलमा तरकारीको भारी बिसाउँदै गरेका विष्टले भने, ‘यहाँको कमाइले घरखर्च चलाउन सहज भएको छ ।’

परिवारको पालनपोषण नैनीतालको भारी बोकाइले चल्दै आएकाले चाडपर्वको खासै महत्व नहुने उनी बताउँछन् । ‘ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदै छ,’ विष्टले भने ।

कालिकोटको खानीत्रिवेणीका ५६ वर्षीय शेरबहादुर विकले भने नैनीतालमा भारी बोकेर कमाएको पैसाले छोरा जीवनलाई काठमाडौँमा लोकसेवाको तयारी गराउँदै छन् ।

‘छोरा पढाउन लाखौँ ऋण काढेको छु, दसैं सम्झेर घर जाने अवस्था छैन, घर गए सब चौपट हुन्छ’, उनले भने, ‘छोरो जागिरे होला र बुढेकासलमा घरमा सुखका साथ बस्न पाइला भन्ने आशामा भारी बोक्दै छु ।’

मुख्यतया सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक यहाँ रोजगारीका लागि आउने गरेका छन् । उनीहरुका लागि नैनीताल रोजगारीको प्रमुख गन्तव्य हो । बाजे, बुबादेखि नातीसम्मको पुस्ता यहाँ एकसाथ भारी बोक्ने गरेको पाइन्छ । यहाँ मजदुरी गर्ने अधिकांश नेपालीले आफ्नो कमाइ छोरा छोरीको पढाइमा खर्चिदै आएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?