+
+

हेलचेक्य्राइँको हद : निजी अस्पताल वर्षौदेखि दर्ताविनै संचालनमा

जनकपुरधाम उपमहानगरपालिकाले हालै गरेको एउटा अध्ययनले यहाँका दर्जनौं निजी अस्पतालहरु वर्षौदेखि दर्ताविनै संचालनमा रहेको भेटिएको छ । 

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असोज २७ गते २०:००

२७ असोज, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालित निजी अस्पतालहरु वर्षौदेखि दर्ताविनै सञ्चालनमा रहेको पाइएको छ ।

जनकपुरमा मात्रै करिब ६० वटा निजी अस्पताल छन् । तीमध्ये करिब एक दर्जन अस्पताल दर्तावनै सञ्चालनमा रहेको पाइएको हो ।

जनकपुर उपमहानगर पालिकाले हालै निजी अस्पतालसहित स्वास्थ्य संस्थाहरुको तथ्यांक संकलन गरेके थियो । तीमध्ये ८ वटा निजी अस्पताल दर्ता नै नभई संचालन भएको उल्लेख छ । तर, यसमा पनि कतिपय अस्पतालले झुठो विवरण टिपाएका र कतिपयको विवरण नै समावेश भएको छैन । यसरी हेर्दा करिब दर्जन बढी अस्पताल दर्ताविनै संलनमा रहेको भेटिएको छ ।

दर्ताविनै संचालनमा रहेको एउटा अस्पताल तराई राजधानी हस्पिटल हो । यो जनकपुरको रामानन्दचोकको प्रवेशद्वारको सय मिटर दक्षिण पश्चिम छेउमा चार वर्षदेखि संचालनमा छ ।

उपमहानगरपालिका-८ मा पर्ने यो हस्पिटलमा यसअघि पटकपटक लापरबाही भएको विवरणहरु सार्वजनिक भएका थिए । तर, पनि हस्पिटललाई हालसम्म कुनै निकायबाट कारबाही भएको छैन ।

यस्तै रामानन्द चोकमै दर्ता बिनै चलिरहेको अर्को अस्पताल हो, जनक मेमोरियल हस्पिटल प्रा.लि. । खानेपानी कार्यालयको उत्तरी छेउमा रहेको यो हस्पिटल वर्षौदेखि संचालनमा छ । स्थानीय रामानन्द चोकभन्दा केही भित्र दर्ताविनै अरमान हस्पिटल प्रा.लि र सहयोग हस्पिटल प्रा.लि. पनि संचालनमा छन् ।

त्यस्तै बाह्रविघा मैदानको पश्चिमतर्फ अमृत श्री हस्पिटल प्रा.लि. संचालनमा छ । त्यो पनि संचालनका लागि स्वीकृति नलिएको उपमहानगरपालिकाको अध्ययनले देखाएको छ । अरमान र अमृत श्री अस्पताल स्वीकृतिको लागि केही महिनाअघि निवेदन परेका छन् । तर दर्ता भने नभएको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नवीनकुमार मिश्र बताउँछन् ।

यस्तै तथ्यांकमा दर्ता नरहेको अरु पनि अस्पतालहरु छन् । वडा नं. १३ मा माँ वौधी हस्पिटल प्रा.लि, वडा नं. ६ मा शुभ ओम हस्पिटल प्रा.लि., वडा नं. ८ मा लाइफ केयर अस्पताल दर्ताविना संचालनमा छन् । माँ वौधी हस्पिटल स्वीकृतिको लागि बल्ल निवेदन आएको स्वास्थ्य शाखा प्रमुख मिश्र बताउँछन् ।

यस्तै दर्ताविना संचालनमा रहेको रहेको अर्को अस्पताल हो जनकपुर न्यूरो हस्पिटल प्रा.लि.। दुई वर्षदेखि जनकपुरको मुरलीचोकको पूर्वतर्फ विशिष्टकृत हस्पिटल भनेर यो संचालनमा छ । सञ्चालनकहरु आफ्नो हस्पिटल स्वास्थ्य मन्त्रालयमा दर्ता भएको बताउँछन् ।

तर दर्ताका लागि स्वास्थ्य सेवा विभागमा निवेदन दिएपनि मापदण्ड पूरा नभएकोले यो अझै दर्ता भएको छैन । हामीले स्वास्थ्य सेवा विभागको अस्पताल अनुगमन तथा सुदृढीकरण शाखा प्रमुख नरेन्ऽ खनालसित सम्पर्क गर्दा यो अझैसम्म दर्ता नरहेको बताए ।

न्यूरो हस्पिटलमा पटकपटक लापरबाहीका घटना सार्वजनिक भइरहेका छन् । लापरबाहीका घटना बाहिरिएपछि एक महिनाअघि स्वास्थ्य सेवा विभाग र मेडिकल काउन्सिलसहितको टोलीले अनुगमन गरेको थियो । सो अनुगमन प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गर्ने टोलीले बताएको थियो । तर, हालसम्म प्रतिवेदन सार्वजनिक भएको छैन ।

निजी अस्पताललाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्न नसक्दा पनि मनोमानी स्वीकृति दिने क्रम जारी छ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले समन्वयको अभाव रहेको स्वीकार गर्दै यसैले समस्या भएको बताए ।

यस्तै दर्ताविनै संचालनमा रहेको अर्को अस्पताल हो सुरक्षा अस्पताल । यो अस्पतालका संचालकले स्वास्थ्य निर्देशनालयमा दर्ता रहेको उल्लेख गर्ने गरेका छन् । तर, उसको दर्ता अभिलेख स्वास्थ्य निर्देशनालयको तथ्यांकमा देखिंदैन । नत स्वास्थ्य महाशाखा र जनकपुर उपमहानगरपालिकामा उसको दर्ता छ । निर्देशनालयका निर्देशक डा. राजिव झाले तथ्यांकमा रहेका अस्पतालहरुको अभिलेलख मात्रै कार्यालयमा रहेको बताए ।

सुरक्षा अस्पतालमा पनि बेलाबेलामा लापरबाहीका घटना भइरहन्छन् । ६ साउन २०८० मा पाठेघरको शल्यक्रिया गर्ने क्रममा जनकपुरधाम १६ कपलेश्वरकी सोनिया साहको मृत्यु भएको थियो । मृत्यु पछि पनि अन्यत्र उपचार गराउन लैजाने भन्दै अस्पताले शव एम्बुलेन्समा राखेपछि घटना बाहिर आएको थियो ।

यस्तै, जनकपुरको क्याम्पस चोकमा संचालित निर्मला देवी मेमोरियल हस्पिटल, उपमहानगरपालिकामा दर्ता रहेको तथ्यांकमा उल्लेख छ । तर उपमहानगरले उपलब्ध गराएको हस्पिटल दर्ता तथा नवीकरण तथ्यांकमा यो देखिंदैन ।

तथ्यांक केलाएपछि अस्पताल संचालकले टिपाएको विवरण अनुसार थप भन्न सकिने स्वास्थ्य शाखा प्रमुख मिश्र बताउँछन् । ‘यो उनीहरुले भने अनुसार हाम्रो कर्मचारीले टिपेको विवरण हो । विवरण केलाएपछि मात्रै सही गलत भन्न सकिन्छ,’ उनले भने ।

संकलित तथ्यांकमा उपमहानगरभित्रै भए पनि केही अस्पतालको नाम उल्लेख छैन । ती अस्पतालहरु पनि दर्ताको लिस्टमा देखिंदैनन् । जसमध्ये जनकपुरको भ्रमरपुरा चोकमा संचालनमा रहेको म्याक्स लाइफ हस्पिटल प्रा.लि.हो । यो अस्पताल दर्ताको लागि निवेदन दिए पनि हालसम्म प्रक्रियामै रहेको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख मिश्र बताउँछन् ।

उपमहानगरको तथ्यांक अनुसार दर्ताविनै संचालनमा रहेको अर्को अस्पताल हो नीलकण्ठ मल्टि स्पेशलिटी हस्पिटल एण्ड रिसर्च सेन्टर । यो पनि दर्ता प्रक्रियामा रहेको स्वास्थ्य शाखा प्रमुख मिश्रको भनाइ छ ।

उपमहानगर पालिकाको तथ्यांकमा उल्लेख नभएकोमा भ्रमरपुरा चोकस्थित मेड नेपाल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि र गायत्री मेमोरियल हस्पिटल प्रालि छन् ।

तीन तहबीच समन्वय छैन

स्थानीय तह स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरण सम्बन्धि निर्देशिका २०७४ मा २५ बेडसम्मको जनरल अस्पताल स्थानीय पालिकामा दर्ता तथा नवीकरण हुने उल्लेख छ । २५ बेडभन्दा माथि तथा विशिष्टिकृत अस्पताल दर्ताका लागि सम्बन्धित पालिकाको कार्यपालिकाको सिफारिसमा प्रादेशिक स्वास्थ्य संरचना वा मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी प्रावधान छ ।

संघीयता आएपछि यो ६ वर्षमा तीनै तहको सरकारसंग कति बेडको कति हस्पिटल जनकपुरधाममा छन्, कति कहाँ दर्ता भएका छन् भन्ने तथ्यांक छैन । त्यसैले बेलाबेला अस्पतालमा चरम लापरबाहीका घटना सार्वजनिक हुँदा तिनको दर्ता र स्वीकृतिको विवाद वाहिर आउने गरेको छ ।

निजी अस्पताललाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्न नसक्दा पनि मनोमानी स्वीकृति दिने क्रम जारी छ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले समन्वयको अभाव रहेको स्वीकार गरे । ‘समन्वयको अभाव छ । हामी प्रदेश र केन्द्रसंग पनि समन्वय गरेर अस्पतालहरुलाई व्यवस्थित गर्ने प्रयासमा छौं,’ उनी भन्छन् ।

समन्वयको अभावकै कारण निजी अस्पतालमा बेतिथि देखिएको स्वीकारोक्ति मधेश प्रदेशको स्वास्थय महाशाखा निमित प्रमुख डा. इन्द्रजीत रजकको छ । उनका अनुसार केही दिनअघि स्वास्य निर्देशनालयका निर्देशक डा.राजीव झाको संयोकत्वमा अनुगमन समिति बनेको छ ।

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले केहीदिन अघि २५ बेडभन्दा माथिका अस्पताललाई मन्त्रालयले पत्र काटेर दर्तालगायतको जानकारी माग गर्दै पत्र पठाइएको बताए । पालिकाले वितरण गर्ने गरेको १५ वडेको हस्पिटलमा बढी लापरबाही र मनोमानी शुल्क लिने गरेको उनको तर्क छ ।

‘पालिकाले स्वीकृति दिने १५ बेडको हस्पिटलमा नै उपचारमा बढी लापरबाही भएको छ । औषधि उपकरण र चिकित्सकको अभाव छ । तर बढी शुल्क उसैले असुल्छ,’ मन्त्री सिंह भन्छन्, ‘अस्पताल सुधारका लागि पालिकासंग समन्वय गरिरहेका छौं ।’

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले अनुमति दिने निकायहरु अनुगमनप्रति बढी जिम्मेबार हुनुपर्ने बताउँछन् ।

जनकपुरधाम उपमहानगरपालिकाले हालै संकलन गरेको तथ्यांक –

क्र.स. अस्पतालको नाम ठेगाना दर्ताको अवस्था
अमृत श्री हस्पिटल जनकपुरधाम-९ दर्ता छैन
शुभ ओम हस्पिटल जनकपुरधाम-६ दर्ता छैन
मा वौधी हस्पिटल जनकपुरधाम-१३ दर्ता छैन
तराई राजधानी हस्पिटल जनकपुरधाम-८ दर्ता छैन
अर्मान हस्पिटल जनकपुरधाम-९  दर्ता छैन
जनक मेमोरियल हस्पिटल  जनकपुरधाम-९ दर्ता छैन
सहयोग हस्पिटल जनकपुरधाम-९ दर्ता छैन
लाइफ केयर अस्पताल जनकपुरधाम-८ दर्ता छैन

तथ्यांक संकलनमा नाम उल्लेख नभएका अस्पतालहरु –

क्र.स. अस्पतालको नाम ठेगाना दर्ताको अवस्था
म्याक्स हस्पिटल प्रालि भ्रमपुरा चौक
मेड नेपाल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि भ्रमपुराचोक
माँ गायत्री मेमोरियल हस्पिटल प्रालि
नीलकण्ठ मल्टि स्पेशलिटी हस्पिटल एण्ड रिसर्च सेन्टर
लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?