+
+
अभिनेता विपिन कार्कीसँग संवाद :

‘कोरियन फिल्मको इमेज आँखा चिम्लिनेबित्तिकै आएजस्तै नेपाली फिल्मको पनि आउनुपर्छ’

फिल्म पहिल्यै देखाइने वातावरण निर्देशकले गर्नुपर्छ । दोष त भन्दिनँ, एक्टरले आफूले गर्नुपर्ने सुधार सबैको छ । एक्टरको काम राम्रो देखिने वा नदेखिने कुरा, निर्देशकमा निर्भर हुन्छ । यो प्रश्न निर्देशकलाई सोध्नुपर्छ- किन तपाईंहरूले नेपाली एक्टरलाई काम गराउन सक्नुहुन्न भन्ने चाहिं ।

विष्णु शर्मा विष्णु शर्मा
२०८० असोज २८ गते १४:५८

काठमाडौं । ११ वर्ष लामो फिल्म करिअरमा विपिन कार्की उम्दा उचाइ भएका अभिनेता हुन् । कलालाई बक्स अफिससँग जोड्ने कुरा होस्, या घरेलु फिल्ममा चरित्र स्थापित गर्ने मामिलामा उनी अब्बल छन् । ‘पशुपति प्रसाद’, ‘जात्रा’ जस्ता व्यावसायिक हिट फिल्मदेखि हरि, नाका, कालोपोथी जस्ता अन्तर्राष्ट्रिय रूपमै रुचाइएका फिल्ममा उनी प्रस्तुत छन् ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने मान्यता राख्ने विपिन नेपाली फिल्मले आइडियाभन्दा मेकिङलाई विदेशमा लैजानुपर्छ भन्ने मत राख्छन् । पछिल्ला केही फिल्म बक्स अफिसमा असफल भएपछि फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘भष्मे डन’ ले सफलता चुम्ने उनको आशा छ । भारतीय फिल्ममेकर सन्दीप रेडी भांगासँग निकट भविष्यमै फिल्म खेल्ने संकेत पनि विपिनले गरे । प्रस्तुत छ अभिनेता कार्कीसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको संवादको सम्पादित अंश :

तपाईं यसै महिना द रेड सुट्केस प्रिमियरको लागि भेनिस फिल्म फेस्टिभलमा पुग्नुभयो, अनुभव कस्तो रह्यो ?

मेरा लागि यो विशेष रह्यो किनभने दर्शकले मप्रति पैसा कमाउन व्यावसायिक फिल्म खेलेको सोच राखेका छन् । देखेका पनि छन् । यस्तै पनि गरिरा/छु’ । यस्तै खाले पनि बनिरहेका छन् । तर, कलात्मक फिल्म उतिसारो बन्दैनन् पनि । वर्षमा फाट्टफुट्ट बन्ने हो । मलाई यो अनुभव लिनुपर्ने पनि थियो ।

प्रतिष्ठित भेनिस फेस्टिभलमा पुग्नु सबै फिल्ममेकरको सपना हो । एक्टरले पनि त्यहाँ आफ्ना फिल्म परोस् भन्ने चाहेका हुन्छन् । पछिल्लो पटक मैले यस्तै खालका फिल्म गरें । ‘कालोपोथी’ पनि भेनिस पुगेको थियो तर, म चाहिं त्यहाँ पुग्ने सौभाग्य पाएको थिइनँ ।

११ वर्षे अभिनय करिअरमा तपाईंले खेलेका १९ फिल्म प्रदर्शन भएछन् । यो यात्रालाई कसरी बुझ्नुहुन्छ

मैले गर्नुपर्ने कुरा सबै गरिसकें भने जस्तो त कहिल्यै पनि लाग्दैन । दिमागमा सोचेका र गर्न चाहेका कुरा नै गर्न सकेको छैन । मैले गरेका क्यारेक्टर मेरो दिमागमा बस्छ, गर्छु र वाह्-वाही पाउँछु त्यहाँबाट ।

मैले हुनुपर्छ भनेको क्यारेक्टर त्यहाँ हुन्छ कि हुँदैन भन्ने कुरामा ‘सिन्क्रोनाइज’ हुनुपर्छ भन्ने कुरामा म मान्यता राख्छु । कालोपोथी र रेड सुट्केसमा मैले गरेको एक्टिङलाई भष्मे डनमा गर्छु भन्दा दृष्टिकोण नै भिन्न हुन्छ । मलाई मेरो निर्देशकले कसरी बुझाइदिन्छ, त्यसमा नि धेरै भर पर्छ ।

फ्लप भए पनि विपिन कार्कीको काम चाहिं छि… भनिहाल्ने वा जसरी फिल्म फ्लप भैरा’छ त्यसरी फ्लप भएको छैन भनिन्छ । यत्तिकैमा म सन्तुष्ट छैन । कमर्सियल भए पनि मैले चाहेको कमर्सियल भन्ने कुरामा म सन्तुष्ट छैन । मैले चाहेको कमर्सियल फिल्म पनि अर्कै हुन्छ होला जुन आएपछि भनौंला ।

भेनिसमै पुगे पनि म रेड सुट्केसको मामिलामा सन्तुष्ट छैन । त्यो केही पनि होइन रहेछ । अहिलेसम्म जति भेनिसमा पुगेका छन्, ती सबै वाह् गर्न लायकका छैनन् । मुख्य विधामा के पुगेको छ त अहिलेसम्म ? मुख्य विधामा जाने हैसियत राख्नुपर्‍यो । सानातिना क्याटेगोरीमा पुगेको छ । त्यो आइडिया हो । अझै मेकिङ पुगेको छैन हाम्रो । ‘रातो सुटेकस’को आइडिया राम्रो भए पनि मेकिङमा अझै बेस्ट हुन सक्थ्यो ।

तपाईंले खोजेको व्यावसायिक फिल्म के हो ?

यो नेपाली फिल्म नै हो भनेर बुझिनुपर्छ । जसरी तपाईंले आँखा चिम्लनुभयो भने कोरियन फिल्मको इमेज आउँछ । चिनियाँ, इरानी र बलिउड फिल्मको दृश्य आउँछ दिमागमा, नेपाली फिल्मको इमेज ढ्याक्क आइहालेको अवस्था छैन । त्यो स्टाइल हुनुपर्छ । एउटै जनरामा मात्र त्यो स्टाइल हुनुपर्छ भन्ने छैन । कबड्डी, जात्रैजात्रा जस्ता हिट भएका कमर्सियल फिल्ममा मात्र होइन ।

संसार कहाँ पुगिसकेको छ, अब नयाँ आयाममा फिल्म ल्याउनुपर्छ । ब्राजिल, डेनमार्क, चीन, कोरियामा के कमर्सियल भैराखेको छ, यी सबै कुरा हेरेर यसरी जानुपर्छ भन्ने लाग्छ । अनि मात्र हामीले नेपाली फिल्म भनेर दिमागमा यस्तो स्टाइल र पारा बनाउनुपर्‍यो ।

तपाईंका पछिल्ला फिल्म प्रसाद २एक भागवत र एक गीताले बक्स अफिसमा सेटब्याक प्राप्त गरे । यसबारे तपाईंको टिप्पणी के छ ?

मैले सफलताको जस लिन्छु भनेपछि असफलताको अपजस पनि मैले लिनैपर्छ । ‘प्रसाद २’ को म पनि एउटा उत्तरदायी मान्छे हुँ । त्यहाँ मेरो पनि गल्ती छ । नाइँनास्ति गर्दिनँ । म पहिले नै चोखिनको लागि-मेरो कामलाई दर्शकले प्रशंसा गरे भन्ने कुरातिर लाग्दिनँ। एउटा क्यारेक्टरको मात्र सफलता, एउटा फिल्मको मात्र सफलता पक्कै पनि हुँदैन ।

 पशुपति प्रसादको स्पिन–अफ फिल्म ‘भष्मे डन’ले तपाईंको करिअरमा के अर्थ राख्ला ?

तपाईंले अघि भने जस्तै मेरा फिल्म लगातार फ्लप भए । मलाई यो एंगलबाट मात्र हो भष्मे डनको आशा भनेको । यो कोणबाट जवाफ दिन भष्मे डन हिट बनोस् भन्ने कुरा हो । समयसँगै पात्र पनि परिवर्तन हुन्छन्, म त्यो कुरामा विश्वास गर्छु ।

युवावस्थाको भष्मे पात्र र सात वर्षपछिको सोही पात्रको आयाम यसमा छन् । तर, मेरा लागि यो यसअघि नै बनेको पात्र हो। बरु भागवत गीताको कमलामाई पात्रमा कलाकारको रूपमा इन्जोय गर्थें। मेरो अपेक्षा भनेको व्यापारिक फिल्म भएकाले, म नेपालका व्यावसायिक फिल्ममा पनि काम गर्छु नि ! तर, मैले गरेका फिल्म चुस्त राम्रो भएन भने मैले लगातार यस्ता फिल्म गरें भने मेरो करिअर निश्चित रुपमा ओरालो लाग्छ ।

मैले व्यावसायिक कोणबाट यसलाई हेरेको छु । यो पक्षमा भष्मे डनले नयाँ मापदण्ड नै सिर्जना गरिदिन्छ कि भन्ने मलाई लागेको छ । यस्तो भएमा मेरा लागि राहत पनि हुनेछ ।

डन भन्ने कुरा तपाईंको अब्जर्भेसन मात्र हो कि तपाईंको स्वभावमै छ ?

मेरो स्वभावमै छ । डन मात्र होइन, मैले अहिले गरेको मास्टरको स्वभाव पनि मसँग छ । अब्जर्भेसनले मात्र कुनै पनि कुरालाई धान्दै धान्दैन जस्तो लाग्छ । अब्जर्भेसनले रिसर्च गर्न भूमिका खेल्छ नै, तर त्यो पर्याप्त हुँदैन । आधा मात्र हो ।

आफ्नो अनुभव यहाँनेर आउँछ । तपाईंको बानीब्यहोरा, आदत, स्वभावको कुरा यहाँ आउँछ । तपाईं कहाँ जन्मनुभयो भन्ने कुराले पनि त्यसलाई असर पारेको हुन्छ । म तराईको विराटनगरमा जन्मिएँ । नेपाल र भारतको सीमा क्षेत्र ।

डनगिरी र तस्करी जस्ता शहरी क्षेत्र पनि देखें । काठमाडौंमा आएर आरआर कलेजमा भर्ना हुँदा खुकुरी लिएर निस्कन्थे । यो देखेर म सुरुमा चकित परें तर, यस्तै हुँदोरहेछ । रडले घोच्ला, उता लैजा भन्ने जस्तो भइसकेको थियो । पाँच कक्षामा पढ्दाखेरी, मेरो पछाडि चारवटा भुराभुरी हुनैपर्ने ।

मेरो आमाले भन्नुहुन्छ-तँलाई बच्चैदेखि दुई-तीन जना केटाहरू पछाडि राखेर हिंड्नुपर्ने । स्कुलमा पनि यस्तै हुन्थ्यो म अघि हिंड्नुपर्ने । म कसरी हुन्छ उनीहरूलाई फुर्काउँथे, के दिन्थें, केले ब्ल्याकमेल गर्थें । त्यो मेरो स्वभाव हो । डन भन्ने वित्तिकै नेतृत्व क्षमता पनि हो । यसलाई नकारात्मक रूपमा लिनुहुन्न ।

नेपाली एक्टरले कुन पक्षमा बढी मिहिनेत गर्नुपर्ने देख्नुहुन्छ ?

एक्टर भन्दा पनि म आफैं भन्छु म लगायत अरूले पनि मिहिनेत गर्नुपर्ने कुरा त धेरै नै छ । मुख्यतः अध्ययन नै हो । अन्तर्राष्ट्रिय फिल्म कहाँ छ ? यसरी हामी चाहिं लाग्नुपर्छ होला, दर्शकले के मन पराए र कुन फिल्मले कति करोड कमायो भन्दा पनि । सबैले त्यो एंगलबाट पनि सोच्नुपर्छ होला । मुख्यतः मैले चार कुराबाट धेरै कुरा पाउँछु जस्तो लाग्छ ।

एउटा कुरा त किताब नै खोजेर पढ्ने । फिल्ममा नलागेको भए पनि साहित्यको किताब र पत्रिका पढेर बस्थें । अर्को कुरा म घुम्ने गर्छु । घुम्दा म समुदाय र संस्कृतिलाई बुझ्ने कोसिस गर्छु । जहाँ जाँदा पनि यो एंगलबाट हेर्छु । जसलाई देख्दा पनि क्यारेक्टरको तरिकाले देख्छु । अर्को कुरा काम गर्दागर्दै धेरै कुरा सिकिने रहेछ । हेरेर पनि सिकिन्छ । नाटक हेर्दा पनि धेरै कुरा सिक्छु । नराम्रो फिल्म हेर्दा पनि म सिक्छु किनभने के कुरा गर्न नहुने रहेछ ?

अभिनेताको रूपमा तपाईंको गुण र दोष के हुन् ?

आफैंलाई जज गर्ने कुरा अप्ठ्यारो हुने रहेछ । मैले जति गर्नुपर्ने हो त्यति गर्न सकेको छैन । घुम्नुपर्थ्यो जति घुम्न सकेको छैन । वर्षमा दुईपटक घुम्छु । चुनौती महसुस पनि गरेको भए, मैले अझै गर्नु छ भन्ने हुन्थ्यो । वरपरको परिवेशले एउटा कुरा त गर्दो रहेछ । मैले यति फिल्म गर्न चाहेको पनि मेरो इच्छा विपरीत हो ।

पहिले त म रहनुपर्‍यो नि फिल्म खेल्नलाई । म रहन पनि अभिनयभन्दा अरू त केही गर्दिनँ पनि । म पछाडि मेरो सिंगो परिवार छ । यसको लागि पनि मैले सोच्नुपर्छ । यसका लागि निरन्तर फिल्म गरेको हुँला । काम गर्न सकेको छैन होला ।

एउटै कुरालाई आरामले दुईतीन महिनासम्म सोचेर गर्नुपर्ने हो । तर, म अहिले उत्पादक भैराख्या छु के एकदमै। क्यारेक्टरको फ्याक्ट्री भैराख्या छु । यसलाई ६ महिना लागेको भए उत्कृष्ट हुन्थ्यो । भागवत गीताको क्यारेक्टर २० दिनमा गर्नुपर्‍यो ।

आफूलाई म आत्मविश्वासी ठान्छु । गर्ने कुरामा म विश्वस्त हुन्छु । अन्योल छ भने यो कारण भनेर भन्छु । दोस्रोमा भन्दा मैले गर्ने कामलाई सबैभन्दा ठूलो ठान्छु । मेरो लागि परिवारभन्दा पनि ठूलो काम लाग्छ ।

पछिल्लो समय नेपाली फिल्म दुईतीन जना कलाकार वरपर पात्र घुमिरहेको जस्तो देखिन्छ । यसले नेपाली फिल्मलाई योगदान पुगेको छ ? के कलाकार पैसा छाप्ने मेसिन मात्र हुन् ?

चार वर्षअघि मलाई यसरी खोजी–खोजी फिल्म गराउँदैनथे । साइड–क्यारेक्टरमा मात्र सीमित गराउँथे । यो कमर्सियल मार्केटमा दिइने दबाव अनौठो हुने रहेछ । निर्मातालाई तपाईंको फिल्म एक वर्षपछि गर्छु, हामी पनि काम गर्ने मान्छे हौं, तपाईंले मलाई हेपेको ? तपाईंले मलाई मान्छे गन्नु भएन यार ।

अहिले एक जना निर्देशक छन् जसलाई लिएर उनीसँग पख् भन्ने जस्तो भइसकेको छ । तपाईंको स्क्रिप्ट अहिले हेर्नु छैन भन्दा पनि हेर्नैपर्छ, तपाईं बाहेक हामीले अरू सोचेका होइनौं, तपाईंले स्क्रिप्ट हेर्नुभएन भने म फिल्म बन्द गर्दिन्छु यार भन्छन् । यसरी पनि ब्ल्याकमेल हुँदोरहेछ ।

मैले यसरी पनि फिल्म साइन गरेको छु । भष्मे डनको बीचमा मैले एउटा फिल्म सक्नुपर्ने थियो, तर त्यो फिल्मलाई अहिले पोस्टपोन्ड गरें ।

तपाईंले जति प्रशंसा पाउनुभएको छ अहिले, के तपाईंलाई लाग्छ त्यो प्रशंसा पाउन म लायक छु भनेर ?

आफूले आफैंलाई त म छैन जस्तो लाग्छ तर पनि, वरिपरि हेर्दा त छु जस्तो लाग्छ । अरूको काम मसँग तुलना गर्दा, कसलाई योग्य भन्ने त ? मभन्दा अयोग्य पनि योग्य भएको देखेको छु त मैले । कतिपय मभन्दा तल बसेर बिजोग भएको देखेको छु ।

विश्व फिल्मको कुन निर्देशक र फिल्ममा तपाईंलाई काम गर्न मन छ ? तपाईंको ड्रिम पर्फमेन्स के हो ?

यसरी त कहिल्यै पनि सोचेको छैन हेर्नुस् । सन्दीप रेडी भांगा जस्ता धेरै मिटिङ बसेर, धेरै कुरा माथिसम्म पुगेर एउटा परिस्थितिले काम गर्न सकेनौं नै । म अझै पनि कुरा गर्छु उहाँहरूसँग । मलाई सन्दीप रेडी भांगासँग एउटा फिल्ममा काम गर्न मन छ । उहाँको एउटा आश्वासन पनि छ ।

‘एनिमल’मा नभइसकेपछि उहाँले विपिन हामीले पहिलो काम पो गर्न खोजेको त, तँलाई भर्खर पो चिनेको त । यही नै अन्तिम पनि होइन नि त ! तैंले खेल्न पाइनँ भनेर चिन्तित नहोऊ । मैले त्यहाँ काम गर्न लागेर पनि हुन नसकेको कुरा मेरो आफ्नै कारणले हो । भविष्यमा फेरि गर्न पाए हुन्थ्यो भन्ने कुरा सोचिराखेको छु । उहाँले आगामी प्रोजेक्ट गर्दै हुनुहुन्छ भन्ने थाहा छ ।

नेपाली एक्टरको सबैभन्दा ठूलो अवरोध के हो ?

एउटा एक्टरले गर्छु भनेर केही हुनेवाला छैन । यो टिमवर्क हो । निर्देशकले चाहेको कुरा गर्नुपर्छ एक्टरले । आफूलाई मन लागेको कुरा गर्ने होइन । निर्देशकले के चाहन्छ भन्ने कुरा क्लियर हुनुपर्छ ।

फिल्म पहिल्यै देखाइने वातावरण निर्देशकले गर्नुपर्छ । दोष त भन्दिनँ, एक्टरले आफूले गर्नुपर्ने सुधार सबैको छ । एक्टरको काम राम्रो देखिने वा नदेखिने कुरा, निर्देशकमा निर्भर हुन्छ । यो प्रश्न निर्देशकलाई सोध्नुपर्छ- किन तपाईंहरूले नेपाली एक्टरलाई काम गराउन सक्नुहुन्न भन्ने चाहिं ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?