+
+

भरतपुरमा ३ खानेपानी योजना एकैसाथ सञ्चालनमा, ४२ हजार जनालाई सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १७:५७

२८ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिकामा ४२ हजारभन्दा बढी जनसंख्यालाई खानेपानी उपलब्ध गराउन तीन वटा परियोजना एकसाथ सञ्चालनमा आएका छन् ।

ती परियोजनाहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विहान उद्घाटन गरे । महानगरको वडा नं. १७, १९ र २० लाई समेट्ने गरी बनेको शारदानगर खानेपानी तथा सरसफाइ आयोजना, वडा नं. १० र ११ लाई समेट्ने गरी तयार गरिएको जखडीमाइ सहलगानी खानेपानी आयोजना र वडा नं. २६ मा बनेको दिब्यनगर खानेपानी आयोजना सञ्चालनमा आएका हुन् ।

यी तीनवटै आयोजनाबाट महानगरका ४२ हजार २ सय ६५ वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । यी आयोजना २ बर्षयता निर्माण गरिएका हुन् । २०७८ बैशाख ३१ मा ठेक्का सम्झौता भई २०८० जेठ ८ मा निर्माण सकिएको शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाको कुल लागत ३७ करोड ९९ लाख ४७ हजार ३ सय १६ रहेको छ ।

शर्मा एण्ड कम्पनीले निर्माण गरेको यस आयोजनामा पानीको परीक्षण ल्याव, कम्प्युटरबाट नै समस्या र लिकेज पत्ता लगाउन सकिने व्यवस्था छ ।

डीप टयुवेल ६ वटा, पानी प्रशोधन केन्द्र २ वटा, ४५० घनमिटरका २ वटा ओभर हेड ट्याङ्की आफ्नै सुविधा सम्पन्न भवन लगायतका संरचना तयार गरिएका छन् ।

यस्तै, २५ करोड ७ लाख १७ हजारको लागतमा तयार भएको जखडीमाई खानेपानी आयोजनाको ४ सय ५० घनमिटर र ९ सय घनमिटरका दुईवटा ओभरहेड ट्याङ्की र दुई वटा डीप ट्युबवेल छन् । यसमा नेपाल सरकार, भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ताको लगानी छ ।

२०७७ असार ८ गते सम्झौता गरिएको यो आयोजना २०८० साउन ३० गते निर्माण सकिएको हो । सीएबी प्रेरा जेभी काठमाडौंले बनाएको आयोजनाबाट चौबिसै घण्टा पानी वितरण हुन्छ । यसबाट ३३ सय ६८ घरधुरीका १३ हजार ५ सय ५२ जना प्रत्यक्ष लाभान्वित हुन्छन् ।

यस्तै, भरतपुर महानगरपालिका–२६ मा तयार भएको दिव्यनगर खानेपानी आयोजनाबाट १८ सय ५५ घरधुरीका ९२ सय ७१ जना प्रत्यक्ष लाभान्वित हुनेछन् । भीमेश्वर डिलिङ तथा निर्माण सेवा प्रालिले ९ करोड ९६ लाख ३३ हजार ८८८ को लागतमा तयार गरेको यस परियोजनामा २ वटा डीप ट्युववेल, ४५० घनमिटरको ओभरहेड ट्याङ्की, कार्यालय भवन लगायतका संरचना तयार गरिएका छन् ।

चौबिसै घण्टा पानी वितरण हुने यो परियोजना २०७८ असार ७ मा निर्माण सम्झौता भएर २०८० असोज ३ मा सम्पन्न भएको हो । उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भरतपुरमा शुद पिउने पानी र भूमिगत सिँचाइमा देशमा नै नमूना काम भएको बताए । उनले खानेपानी आयोजनामा उपभोक्ताहरुको लागत सहभागिता ३० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको बताए ।

शुद्ध पिउने पानी नागरिकको मौलिक हकसमेत भएकाले राज्यले गरेको प्रतिवद्धता अनुसार काम गर्ने बताए । उनले पानीको महसुल जस्ता विषयमा सरकारले थप सहुलियत प्रदान गर्ने बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा ९२ प्रतिशत जनता खानेपानीको पहुँचमा पुगेको बताइन् । उनले विकट मानिने २९ नम्बर बडाको कविलासदेखि भरतपुरको सघन शहरी क्षेत्रमा समेत पानीको पर्याप्त व्यवस्थाका लागि दजनौं आयोजना सञ्चालन भइसकेको छ र कतिपय निर्माणकै चरणमा रहेको बताइन् ।

अबको २ बर्षभित्र भरतपुरमा शत प्रतिशत जनता खानेपानीको पहुँचमा पु¥याउने घोषणासमेत उनले गरिन् । भरतपुर–१ को रामनगर क्षेत्रमा खानेपानीको केही असुविधा रहेकाले अहिले भैरहेको अस्थायी व्यवस्थापनलाई दीगो समाधान गरेर गुणस्तरीय शुद्ध पिउने पानी नागरिकलाई उपलब्ध गराउने उनले बताइन् ।

उनले एकीकृत ढल निकास तथा खानेपानी कार्यक्रम अन्तर्गत ३ अर्वको थप परियोजना भरतपुर महानगरपालिकामा सञ्चालनमा ल्याउने गरी डीपीआरको काम अन्तिम चरणमा पुगेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?