+
+

रोमान्सका बादशाह कसरी बने एक्सन स्टार ?

एजेन्सी एजेन्सी
२०८० असोज २९ गते १३:२२

चम्किला आँखा, डिम्पलसहितको मुस्कान र मायालु शैलीका कारण तीन दशकदेखि शाहरूख खान बलिउडमा रोमान्सका बादशाहका रुपमा परिचित थिए । यसपटक उनले काँचको पर्दामा आफ्नो शैलीलाई परिमार्जन गर्दै एक्सन स्टारमा आफूलाई ढाले ।

हालै प्रदर्शनमा आएको जवान फिल्ममा उनी तक्लु खान रेलमा बन्धक बनाएका भयभीत यात्रुसँग देखिन्छन् । त्यहाँ उनले गीतमा नृत्य गर्दा यात्रुहरुमा संशय पैदा हुन्छ । फिल्मको ट्रेलरमा खानले दर्शकलाई चेतावनी दिन्छन्, ‘जब म खलनायक बन्छु तब कोही नायकका लागि कुनै मौका बाँकी रहनेछैन ।’

लामो अन्तरालपछि जवानमा देखिएका खानको यस चलचित्रले बक्स अफिसमा निकै सफलता पायो । यस चलचित्रबाट उनले आफ्नो चरित्र पनि परिवर्तन गरे । चलचित्र समीक्षक अनुपमा चोपडा भन्छिन्, ‘रोमान्स हिरो अहिले लडाकु चरित्रमा आए ।’

यसअघि पनि सन् २००६ मा डनमा पनि उनका केही एक्सन दृश्य थिए । सन् २०१७ मा आएको रइसमा पनि त्यस्ता दृश्य समावेश थिए । तर पूर्ण रुपमा एक्सन भने पठान र जवानमा मात्रै केन्द्रित थियो । चोपडा भन्छिन्, ‘शाहरुखको फिल्म करियरको यो नयाँ चरण हो ।’

सन् २०२३ को सुरुवातमा सार्वजनिक भएको जासुसी चलचित्र पठानमा उनी मुलुकलाई आतंकवादी हमलाबाट जोगाउन संघर्षरत थिए । यसले बक्स अफिसको कारोबारमा १२० करोड डलर एकै महिना कमाउँदै नयाँ रेकर्ड राख्यो । जवानमा बहुआयामिक अवतारमा रहेका खानको चलचित्रले पनि १८ दिनमा राम्रै कारोबार गर्‍यो । ‘खानको चरित्रमा आएको बदलाव विगतका चलचित्रमा भन्दा निकै भिन्न छन् । यस चरित्रलाई पनि दर्शकले उत्तिकै मन पराएका छन्’, समीक्षक चोपडा भन्छिन् ।

शाहरुखको प्रारम्भिक सफलता नायक-विरोधी चरित्रमै थियो । सन् १९९३ मा हिट भएको चलचित्र डरमा उनी दु:ख दिएर सताउने चरित्रमा थिए । त्यही वर्ष सार्वजनिक भएको बाजिगरमा उनी पागल प्रेमीको चरित्रमा थिए ।

सन् १९९४ मा हिट चलचित्र अन्जानमा उनी प्रतिशोधी भूमिका थिए । सन् १९९५ को सुपरहिट चलचित्र दिलवाले दुल्हन हम ले जायगेँबाट उनले रोमान्स हिरोका रुपमा आफूलाई स्थापित गरेका हुन् ।

सन् १९५५ यता उनले विभिन्न उनले कमेडीदेखि विभिन्न चलचित्रमा अभिनय गरेपनि उनी रोमान्सका बादशाह रहिरहे । हात फिँजाएर रोमान्टिक गीतमा नाँच्नु उनको नियमितता थियो । धेरै चरित्रमा उनले त्यसलाई निरन्तरता पनि दिए ।

उनले विगतको छविलाई कायमै राख्दै जवान र पठान मार्फत आफुलाइ एक्शन स्टारका रुपमा पनि उही रुपमा स्थापित गर्न खोजेका छन् । फिल्म समीक्षक राहुल देसाइका अनुसार जवान र पठानले उनको स्टारडम र करियरलाई पुर्नजिवित गराएको छ ।

यी दुई चलचित्रका निर्देशकले खानका दर्शकलाई सन्तुलित राखेको चोपडा बताउँछिन् । ‘खानबाट फ्यानहरुको अपेक्षालाई सन्तुलनमा राख्दै यस चलचित्रका निर्देशकहरुलाई दर्शकलाई नयाँ स्वाद दिन खोजे । खानसँग काम गर्दा उनको रोमान्टिक चरित्र उतार्नैपर्ने कारणले धेरै निर्देशक तनावमा हुन्थे । तर यसपटक निकै सन्तुलित रुपमा दर्शकलाई नयाँ स्वाद दिइएको छ,’ उनले भनिन् ।

चार वर्षदेखि चलचित्रमा नआएका कारण खानको व्यक्तिगत तथा व्यवसायिक यात्रामा निकै धक्का पुगेको थियो । सन् २०१६ र २०१७ मा आएका उनका चलचित्र ठीकै चलेका थिए । सन् २०१८ यता उनको उपस्थिति छोटा सट र स्वरांकनमा मात्रै केन्द्रित थियो । सन् २०२१ मा उनका छोरा आर्यन खान लागुऔषध प्रकरणमा पक्राउ परेको भनेर धमाका मच्चियो । उनको छोरामाथि झुटो आरोप लागेको तथ्य पछि खुल्यो ।

समीक्षक देसाइ भन्छन्- ‘व्यक्तिगत र व्यवसायिक तनाव तथा निराशालाई चिर्दै खान फरक चरित्रमा समेत निकै उत्कृष्ट र अब्बल रुपमा आए ।’

शाहरुखको पुनरागमन किन निकै ठूलो कुरा हो ?

पठान र जवानका शैली फरक भएपनि तिनीहरुको सन्देश एकै हो । दुबै चलचित्रमा राष्ट्रिय संकट समाधानमा जुध्ने राष्ट्रभक्त चरित्र देखाइएको छ । हिन्दुत्वको राजनीति हाबी रहेको वर्तमान अवस्थामा मुस्लिम शाहरुखलाई राष्ट्रभक्त चरित्रमा उतारिएको थियो ।

यी चलचित्रमा मुस्लिम धर्म मान्ने खानलाई सन् २०२२ मा सार्वजनिक भएको केरला स्टोरी, सन् २०२१ मा बनेको कश्मिर फाइल्सभन्दा पृथक कथामा देखाइयो ।

जवानमा खान आर्मी अफिसरका छोरा हुन्छन् । उनी दूषित राजनीतिक प्रणालीले न्याय दिन अस्वीकार गर्दा पीडामा परेका आम मानिसलाई विभिन्न चरित्रबाट न्याय दिन्छन् । खानका अक्सर चलचित्रमा कल्पना र जीवन मिश्रित हुन्छन् ।

यता पठानमा उनी टुहुरो भुमिकामा हुन्छन् । आफूलाई मुलुकले हुर्काएको उनी बताउँछन् । चलचित्रमा खानको चरित्रबारे देसाइ भन्छन्, ‘विगतमा शाहरुखलाई आत्मसम्माजनक र उत्सवजन्य भूमिकामा उतारिन्थ्यो । पठान र जवानमार्फत उनको व्यक्तित्वमात्रै परिमार्जन गर्न खोजिएको छैन । वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलले परिकल्पना गरेको भन्दा पृथक चरित्रमा उनलाई उतारिएको छ।’

समीक्षकहरुका अनुसार जवान र पठान मात्रै नभएर उनका विगतका चलचित्रमा पनि राजनीतिक रंग छन् । स्वदेश फिल्ममा नासाका इन्जिनियरको भूमिकामा रहँदै स्वदेश फर्काएर उनको चरित्र देशभक्त बनाइएको थियो । चोपडा भन्छिन्, ‘विगतका केही वर्षमा भारतमा भएका गतिविधिका कारण उनको निजी जीवनमा पनि राजनीतिक रंग छ्यापियो ।’

भारतमा भाजपाले नरेन्द्र मोदी नेतृत्वमा सरकार गठन गरेसँगै मुस्लिमविरुद्ध विभिन्न अपराध बढेका छन् । भाजापाले यसमा आफ्नो हात नरहेको बताए पनि कहीँ न कहीँ उसका शुभेच्छुक संस्था र कार्यकर्ता त्यसमा संलग्न भएकै छन् ।

देसाइ भन्छन्, ‘राष्ट्रभक्त चरित्रबाट धमाकेदार पुनरागमन गरेर हिन्दुत्व राजनीति चलिरहेको समयमा मुस्लिम सुपरस्टारले आफ्नो खुबी देखाएका छन् ।

खानले यस चलचित्रमार्फत सहिष्णुताको सन्देश पनि दिएको देशाइको बुझाइ छ । ‘चलचित्र हेर्दा दर्शकले मेसो नपाउलान् तर शाहरुखले सहिष्णुता र धर्मनिरपेक्षताको परम्परागत आफ्नो मान्यताको समेत चलचित्र मार्फत प्रतिनिधित्व गरेका छन्’, देसाइले भने ।

जवानमा चुनाव र राजनीतिक उत्तरदायित्वबारेको दृश्य पनि थियो । त्यसमा खानको एकलापलाई दर्शक र समीक्षकले समान रुपमा बुझे । तर त्यस दृश्यलाई भाजपाले कंग्रेसलाई इंगित गरेको भन्यो भने कंग्रेसले भाजपाको चरित्रलाई समावेश गरेको भनेर प्रचारबाजी गर्‍यो ।

भाजपा र कंग्रेसले भने एक अर्कालाई यसले आलोचना गरेको भनेर प्रचार गर्‍यो । ‘आफूले गरेको कामले भिन्न क्षेत्रमा समेत प्रभाव छोड्नु निकै राम्रो काम हो । खानको चरित्रले राजनीतिमा पनि असर गर्‍यो’ चोपडाले भनिन् ।

खानकाबारे पुस्तक लेख्ने श्रेयाना भट्टाचार्य खानलाई दर्शकले हरेक समय र परिस्थितिमा माया गरेको बताउँछिन् । खानका लागि कुनै पुरागमन जरुरी नरहेको उनको बुझाइ छ । शाहरुखबारे पुस्तक लेख्नका निम्ति १५ वर्षसम्म उनको अन्तर्वार्ता लिएकी भट्टाचार्यले भनिन् ।

‘पहिचानको राजनीतिमा समाजलाई विभक्त बनाउँदा समेत उनको लोकप्रियता कहिल्यै ओरालो लागेन । दर्शकले खानलाई माया गर्न कहिल्यै छोडेनन् ।’

खानले आफ्नो चरित्रमा विविधिकरण ल्याउँदै दर्शकलाई सरप्राइज दिने उनको विश्वास छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?