+
+

दशैंको शुभकामना दिंदै झलनाथ खनालले औंल्याए नेपालका ४ संकट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १२:३१

३० असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दशैं, तिहार, छठ, नेपाल संवत्, ल्सोसार, उधौली लगायत चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले मंगलबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालीहरुको अग्रगमन र प्रगतिको कामना गरेका हुन् ।

शुभकामा सन्देशमा उनले नेपालको अवस्थाको पनि चित्रण गरेका छन् । ‘हाम्रो देश यति बेला विभिन्न कारणले अनेक खालका संकटहरुबाट अगाडि बढिरहेको छ’ उनले भने । पूर्वप्रधानमन्त्री खनालले चार वटा संकट औंल्याए । ‘राजनीतिक संकट, आर्थिक संकट, सामाजिक/सांस्कृतिक संकट, राष्ट्रियताको संकट सबै बढिरहेको छ’, उनले भने ।

देशमा मूल्यवृद्धि भइरहेको, महँगी बढिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा आम श्रमिक जनताले चाडपर्वहरु कसरी मनाउने होला भन्ने परिस्थितिको सामना गर्नुपरेको बताए । जुनसुकै अवस्थामा भए पनि चाडपर्व खुसियालीका पर्व भएकाले जस्तोसुकै अवस्थामा खुसी साटासाट गरेर मनाउनुपर्ने र यसैगरी समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताए ।

नेपालमा वर्तमानमा देखा परेका सबै समस्या, विकृति, विसंगतिहरु दलाल पूँजीवादी व्यवस्थाले सिर्जना गरेको उल्लेख गर्दै उनले समाजवादी समाज निर्माण गर्नका लागि प्रयत्न भइरहेको बताए ।

‘एक दिन हामी एउटा सुन्दर, सभ्य, समृद्ध समाजवादी समाजमा पुग्नेछौं । र साँच्चै नै सबैको खुसियालीका निम्ति सम्पूर्ण पर्वहरु नयाँ ढंगले मनाउने छौं । तर, अहिले हामी जे अवस्थामा छौं त्यही अवस्थामा चाडपर्वहरु मनाउनुपर्ने आवश्यकता छ । म सबैलाई चाडपर्वहरुको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?