+
+

‘महाजात्रा’ले भ्रष्ट नेतालाई गतिलो मुक्का दिएको छ : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते १२:०६

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले फिल्म ‘महाजात्रा’ले भ्रष्टाचारीलाई गतिलो मुक्का प्रहार गरेको बताएका छन् । आइतबार बेलुका आयोजित विशेष शोमा उनले कलाकारसँगै फिल्म हेरे ।

इलामको उपनिर्वाचनको व्यस्तताबीच पूरै समय बसेर फिल्म हेरेका उनी फिल्म हेर्न क्यूएफएक्सको सेन्ट्रल सिनेमा हलमा पुगेका थिए ।

‘नेपाली समाजमा जुन प्रकारको भ्रष्टाचार, तस्करी देखिएको छ र त्यसलाई नेताले संरक्षण गरेका छन्, त्यसको कारण देशमा युवा रित्तिएका छन् । यसले त्यस्ता गलत आशय राख्ने नेताको भण्डाफोर गरेको छ,’ नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले भने, ‘यो फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो पात्रमार्फत क्रान्ति नै गर्नुभएको छ । नेताहरू नसच्चिएसम्म देश बन्दैन, यस्तो क्रान्ति पर्दा बाहिर पनि चाहिएको छ ।’

फिल्म हेरिरहँदा मनोरञ्जनसँगै सन्देश पाएको उनले बताए । ‘फिल्ममा अभिनय गर्ने सबै कलाकारले कुशल कलाकारिता प्रदर्शन गर्नुभएको छ, पर्दामा देखिने पात्र जीवन्त छन् । म यो फिल्मलाई १० नम्बरमा ९.९ दिन्छु, यसले हाँसो मजाकमै गम्भीर विषयलाई उठान गरेको छ,’ नेता खनालले भने ।

फिल्मकर्मी तुलसी घिमिरे, बद्री अधिकारी, गौरी मल्ल, अञ्जना बराइली, निश्चल खड्का, रेअर राई, आयुष्मान देशराज श्रेष्ठ, सन्दीप क्षेत्रीले पनि फिल्म हेरे । सन्दीपले ‘जात्रा’ शृंखला यहाँसम्म आइपुग्दा परिपक्व हुँदै अगाडि बढेको बताए ।

‘यो फिल्ममा के छैन ? यही कारण प्रायः घरका परिवारलाई सिनेमा हलमा भेटिरहेका छौं,’ उनले भने ।

निर्देशक तुलसी घिमिरेले ‘महाजात्रा’ फिल्म भन्दा पनि आँखीझ्याल झैं लागेको बताए । ‘यहाँबाट देश, समाज र हाम्रो परिस्थितिलाई चिहाउन सकिन्छ । यस्ता फिल्मले दर्शकलाई पनि शिक्षित बनाउँछ, राम्रा उदाहरण पेस गरेको छ,’ उनले भने ।

प्रदीप भट्टराई निर्देशित फिल्मलाई षट्कोण आर्ट्सले निर्माण गरेको हो । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् । विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य र वर्षा राउतको फिल्ममा प्रमुख भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?