+
+

इजरायलबाट धेरै नेपाली फर्किनै चाहेनन् : दूतावास

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते २०:३८
इजरायलबाट स्वदेश फर्किएका नेपाली ।

१ कात्तिक, काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् ।

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् ।

दूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए ।

‘हामीलाई छिमेकी मुलुक भारतको उद्धार विमानमा दिइएको सिट पनि भर्न सकेनौं । हामीलाई २० वटा सिटको व्यवस्था भएको थियो । सबैलाई सूचना गर्दा पनि १८ जना मात्रै जान तयार हुनुभयो । यसले पनि नेपाल फर्किन चाहेका नागरिकहरूको मनस्थिति बदलिएको देखिन्छ’, प्रथम सचिव घिमिरेले अनलाइनखबरलाई भने ।

दूतावासले नेपाल फर्किन चाहनेहरुका लािग आवश्यक व्यवस्था गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ । दूतावासले आक्रमण सुरु भएको तेस्रो दिनदेखि नेपाल फर्किन चाहनेको विवरण माग गरेको थियो ।

त्यसरी सूचना जारी गर्दा नाम दर्ता गराएका करिब चार सयभन्दा बढीमध्ये २५४ जना मात्रै पहिलो चरणको उद्धारमा नेपाल फर्किएका थिए । त्यसपछि मंगलबार थप १८ जनालाई भारतीय विमानको सहयोगमा दिल्ली हुँदै नेपाल ल्याइएको छ । पहिलो चरणमा नेपाल फर्किने २५४ जना सबै विद्यार्थी थिए भने यो चरणमा श्रमका लागि गएकाहरू बढी छन् ।

गएको ७ अक्टोबारबाट हमासले इजरायलको दक्षिणी क्षेत्रमा सुरु गरेको रकेट आक्रमणमा नेपालीहरू समेत परेका थिए । त्यसमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए ।

घाइते भएकामध्ये एक जना डिस्चार्ज भएर नेपाल आइसकेका छन् भने एकजना इजरायलमा नै दूतावासको निगरानीमा छन् । बाँकीको पनि अस्पतालनबाट छिट्टै डिस्चार्ज गर्ने तयारी चलिरहेको छ । एकजना नेपाली विद्यार्थी विपिन जोशी भने घटनाकै दिनदेखि सम्पर्क विहीन छन् ।

दूतावासका प्रथम सचिव घिमिरेका अनुसार विपिनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको छ । अहिलेसम्म कुनै नतिजा हात लाग्न सकेको छैन । घटनामा परी ज्यान गुमाएका १० जनामध्ये पाँच जनाको शव इजरायलले नेपाली राजदूतावासलाई हस्तान्तरण गरिसकेको छ ।

बाँकी पाँच जनाको शवको पहिचान र केही कानुनी प्रक्रिया बाँकी रहेको दूतावासले जनाएको छ । छिट्टै मृतकका शव नेपाल पठाउने तयारी भइरहेको घिमिरेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?