+
+

चाडपर्वमा रिलिज क्यालेन्डर अस्तव्यस्त, दिन बिराएर तीन फिल्म प्रदर्शन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १२:२६

काठमाडौं । यो सप्ताहन्त नेपाली बक्स अफिसमा अनौठो संयोग जुरेको छ । दिन बिराएर बिहीबार, शुक्रबार र शनिबार नयाँ फिल्म रिलिज हुँदैछन् । बिहीबार विजय थलापति स्टारर दक्षिण भारतीय फिल्म ‘लियो’ प्रदर्शनमा आएको छ ।

एक्सन–क्राइम ड्रामा जनरामा राखिएको यो फिल्मलाई लोकेश नागराजले निर्देशन गरेका हुन् । विजय थलापतिसहित यसमा सञ्जय दत्त, अनुराग कश्यप, तृषा कृष्णको शीर्ष भूमिका छ । यो एक्सनप्रधान फिल्मलाई प्रतीक्षित मानिएको छ । यो फिल्मको लम्बाइ १६५ मिनेट छ ।

दशैंकै अवसर पारेर शुक्रबार टाइगर श्राफ स्टारर ‘गणपत’ रिलिज हुनेछ भने शनिबार नेपाली फिल्म ‘भष्मे डन’ प्रदर्शनमा आउँदैछ । चाडपर्वमा आफूलाई अनुकूल समयमा फिल्म रिलिज गर्न दिने मौकाको फाइदा उठाउँदै निर्माता र वितरकले यसरी फिल्म रिलिज गर्न लागेका हुन् । आफ्नो अनुकूलतामा फिल्म रिलिज गर्दा फ्राइडे रिलिज क्यालेन्डर अस्तव्यस्त बनेको छ ।

यसअघि निर्माता संघ र चलचित्र संघबीच चाडपर्वबाहेकको समयमा शुक्रबार रिलिजलाई निरन्तरता दिने सहमति भएको थियो । यसबाहेक भारतमा समेत शुक्रबार बाहेकका दिनमा फिल्म रिलिज हुँदा यसले नेपाली क्यालेन्डरलाई समेत प्रभावित पारिरहेको छ । यसअघि शाहरुख खानको जवान पनि बिहीबार रिलिज भएको थियो ।

थलापति विजयको महत्वाकांक्षी फिल्म बताइएको ‘लियो’ शुक्रबारअघि नै रिलिज हुँदा यसले प्रदर्शनरत नेपाली फिल्म ‘परदेशी २’ लाई असर पारेको छ । प्रकाश सपुत स्टारर फिल्मको शो र अकुपेन्सी दुवै बिहीबार घटेको छ ।

शुक्रबारदेखि लाग्ने टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चनको एक्सन थ्रिलर ‘गणपत’ पनि दर्शकमाझ प्रतीक्षित छ । यो फिल्मले लियो र भष्मे डनका शोलाई प्रभावित तुल्याउने छ । अब ‘भष्मे डन’ दोस्रो सातामा रिलिज हुँदा ‘परदेशी २’ दोस्रो सातामा निकै कम शोमा खुम्चिने पक्का छ ।

हलले शनिबारसम्मको शो मात्र प्रकाशित गरेका छन् । तिहारमा पनि नेपाली फिल्म ‘दिमाग खराब’ शुक्रबार रिलिज हुँदा ‘टाइगर ३’ आइतबार मात्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?