+
+
फ्राइडे रिलिज :

हलमा तीन नेपालीसहित पाँच फिल्म रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १२:३४

काठमाडौं । शुक्रबार तीन नेपालीसहित पाँच फिल्म रिलिज भएका छन् । दर्शकसामु भिन्न जनरा र कथावस्तुका यी फिल्म रुचिअनुसार हेर्ने सुविधा उपलब्ध छ । नेपाली भाषाका ‘उपहार : द जर्नी अफ लाइफ’, ‘काँडेतार’ र ‘रंगेली’ प्रदर्शनमा आएका छन् । यीसहित हिन्दी थ्रिलर ‘शैतान’ र हलिउडको एनिमेटेड-कमेडी ‘कुङ्फु पान्डा ४’ पनि रिलिज भएका छन् ।

‘उपहार : द जर्नी अफ लाइफ’को रनटाइम १४४ मिनेट छ र यसलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र दिएको छ । युवा उद्यमीले व्यवसाय चलाउन महानगर क्षेत्रमा भोग्नुपर्ने चुनौतीको कथावस्तुमा आधारित छ । यो फिल्मले काठमाडौं महानगरको हालैका घटनाक्रम सम्झाउँछ । फिल्ममा रेखा थापाले चिया पसल उद्यमीको भूमिकामा अभिनय गरेकी छन् ।

ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्ममा रेखासहित पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसालको मुख्य भूमिका छ । पछिल्लो समय सामाजिक कथावस्तुका एजेण्डा बोकेका फिल्म निर्माणमा लागेकी रेखा यो फिल्मबाट आफ्नो शैली र स्वादमा फर्किएकी छन् । यो फिल्मलाई सोसल-ड्रामा जनरामा राखिएको छ ।

‘रंगेली’को रनटाइम १७६ मिनेट तय छ । यो फिल्मले पीजी सर्टिफिकेट पाएको छ । लामो समयदेखि अमेरिकामा रहेर नेपाली फिल्मको प्रवर्द्धनमा कार्य गर्दै आएका अर्जुन सुवेदीको यो डेब्यु कथानक फिल्म हो । पूर्वी नेपालको बजार रंगेलीको सेटिङ बुनिएको यो फिल्मले परिस्थितिवश ग्याङस्टर बन्न बाध्य विजय नामक पात्रको कथा पेश गर्छ ।

फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा र प्रवीण खतिवडाको अभिनय छ । सानो सहरको अर्थराजनीतिक द्वन्द्व चित्रण गर्ने यो फिल्म ग्याङस्टर र एक्सन फिल्म रुचाउने दर्शकलाई प्रिय हुनसक्छ ।

‘काँडेतार’को रनटाइम १२० मिनेट छ । यो फिल्मलाई पीजी सर्टिफिकेट प्राप्त छ । नवल खड्का निर्देशित फिल्ममा उनको शीर्ष भूमिका छ । नेपाल-भारत सीमामा हुने अत्याचार र सीमा अतिक्रमण रोक्न मुख्य पात्रले गर्ने संघर्ष यसमा चित्रण छ । एक्सन र सोसल ड्रामा बताइएको यो फिल्ममा रेविका गुरुङ, गौरव पहारी र सुरविना कार्कीको अभिनय छ ।

‘कुङ्फु पान्डा ४’ हलिउडको कमेडी–एनिमेटेड फिल्म हो । ‘कुङ्फु पान्डा’ सिरिजको यो चौथो अध्याय हो । ड्रिमवर्क्स एनिमेसन र युनिभर्सल पिक्चर्सको यो फिल्मले पो नामक एक मायालु पान्डाको कथा पेश गर्छ । उपत्यकामा शान्ति कायम राख्न पोले उत्तराधिकारी बनाउनुपर्छ । यसका लागि उसले केमेलिया नामक पात्रसँग संघर्ष गर्नुपर्छ । यो कमेडीसँगै दार्शनिक महसुस हुने यो फिल्म अर्को दर्शनीय फिल्म हो ।

माइक मिचेल निर्देशित यो फिल्मको लम्बाइ ९४ मिनेट छ र यसले पीजी सर्टिफिकेट प्राप्त गरेको छ । फिल्ममा ज्याक ब्ल्याक, आक्वाफिना, भायोला डेभिसको शीर्ष भूमिका छ ।

‘शैतान’ अजय देवगण स्टारर थ्रिलर–हरर फिल्म हो । विकास वहल निर्देशित यो फिल्मले परिवारमा संकट आइलागेपछि मुख्य पात्रले त्यसलाई रोक्न गर्नुपर्ने संघर्षको कथावस्तु पेश गर्छ । सत्य र असत्यबीचको कालातित कथावस्तुमा यो फिल्म बनेको छ । यो फिल्ममा माधवन र जानकी बोदीवालको पनि अभिनय छ । यो फिल्मको रनटाइम १३३ मिनेट र सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?