+
+
Shares

पितृसत्ताविरुद्ध विद्रोहको बीजारोपण : सेप अफ मोमो

उक्त युवा किसानको भित्री व्यथा र वाध्यताले विष्णुको अवचेतन मनमा एउटा सुषुप्त मानवीय सामीप्यताको भावना पैदा गरिदिन्छ । उनीहरूबीचको संवादमा एउटा अनौठो सन्नाटा र संकोच देखिन्छ ।

ऋतेश ऋतेश
२०८३ जेठ १७ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेप अफ मोमो फिल्मले पितृसत्तात्मक समाजमा महिलाको अस्तित्व, लैंगिक विभेद र घरमा पुरुष सदस्य नहुँदा परिवारले भोग्नुपर्ने यथार्थलाई प्रस्तुत गरेको छ ।
  • यस फिल्ममा जोया अख्तर, रीमा कागती र पायल कपाडिया कार्यकारी निर्माता तथा राणा डग्गुबाती वितरण सहयोगीका रूपमा जोडिएका छन् ।

हामी सामाजिक प्राणी हौँ । त्यसैले समाजले कोरिदिएको सीमा र सिमानाभित्र हामी बस्न र बाँच्न एक प्रकारले अभिशप्त छौँ । तर, यो सत्यलाई स्वीकार गरिरहँदा एउटा गम्भीर प्रश्न पनि उब्जिन्छ, के हामी आफैंले निर्माण गरेको सामजिक ढाँचाभित्र आफ्ना भावना, स्वतन्त्रता र खुसीहरूलाई सहजै अटाउन सक्छौँ ?

यस्तै सामाजिक परिबन्ध, मानवीय चाहना र अस्तित्वको द्वन्द्वलाई कलात्मक रूपमा पर्दामा उतारेको छ, फिल्म: ‘सेप अफ मोमो’ले।

नेपालको पूर्वी सिमानासँगै जोडिएको भारतको उत्तर-पूर्वी पहाडी राज्य सिक्किम, जहाँको मुख्य भाषा, संस्कृति र रहनसहन आज पनि विशुद्ध नेपाली नै रहेको छ । त्यही माटो र परिवेशमा हुर्किएकी प्रतिभावान निर्देशक ‘त्रिवेणी राई’द्वारा निर्देशित पहिलो फिचर फिल्म ‘सेप अफ मोमो’ अहिले चर्चाको केन्द्रमा छ ।

थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित फिल्म महोत्सवमा सफल यात्रा तय गरिसकेको यो जीवन्त फिल्म, हाल सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ । यसले समाजको परम्परागत ढाँचा र मानवीय भावनाबीचको गहिरो अन्तरसम्बन्धलाई बडो सुन्दर ढंगले उजागर गरेको छ ।

फिल्मको टाइटल ‘सेप अफ मोमो’ ( छोरा जस्तै ) फगत नाम मात्र नभएर त्यसमा कथाको आत्मा, त्यसले बोकेको दार्शनिक अर्थ र समाजलाई दिन खोजेको गहिरो सन्देश लुकेको छ । ‘मोमो’लाई अघोषित रूपमा नेपालको राष्ट्रिय खाजा भन्दा फरक पर्दैन । ‘भेज’, ‘चिकेन’ र ‘बफ’ यी फरक-फरक स्वादका मोमो हामीलाई चिन्न त्यति गाह्रो हुँदैन । हामी त्यसको बाह्य आकार, बनोट र ढाँचा हेरेकै भरमा त्यो कुन परिकार हो भनी सहजै पहिल्याउन सक्छौँ ।

निर्दशक राईले त्यही मोमोलाई फिल्ममा जीवनको बिम्ब बनाएकी छन् । समाजले हामीलाई एउटा निश्चित आकार वा ढाँचामा बस्न दबाब दिइरहन्छ । तर, हाम्रो जीवन, भावना र सम्बन्धहरू सधैं सोचेअनुरुप आदर्श अथवा सिधा रेखामा हिंड्दैनन् । कहिलेकाहीँ त्यही अपूर्णता नै जीवनको वास्तविक स्वरूप भइदिन्छ ।

घरमा पुरुष नहुँदा पनि समाजले उनीहरूलाई कसरी हेर्छ र सुरक्षा तथा अस्तित्वका लागि उनीहरू कसरी पुरुषमाथि नै निर्भर हुन बाध्य छन् भन्ने कुरा कथाले कलात्मक ढङ्गले देखाएको छ ।

नेपालीमा राखिएको नाम ‘छोराजस्तै’ले हाम्रो समाजको गहिरो लैंगिक विभेद र मनोविज्ञानलाई कडा रूपमा प्रहार गरेको छ । घरमा पुरुष सदस्य नहुँदा शिक्षित र सक्षम छोरीलाई परिवार र समाजले छोरीको रूपमा मात्र स्वीकार गर्न सक्दैन । उसले घरको जिम्मेवारी सम्हालोस् भन्ने चाहँदा उसलाई ‘छोरा जस्तै’ भएको उपमा दिइन्छ । यसले देखाउँछ, समाजमा अझै पनि जिम्मेवारी र सामर्थ्यको पहिचान केवल ‘पुरुषत्व’सँग मात्र जोडिएको छ, महिलाको आफ्नै स्वतन्त्र अस्तित्व पर्याप्त मानिँदैन ।

कुनै छोरीले परिवार सम्हाल्दा वा ठूलो सफलता पाउँदा उसलाई ‘छोराजस्तै’ भन्नु वास्तवमा छोरीको आफ्नै अस्तित्वको अवमूल्यन हो । छोरी सक्षम हुनका लागि ‘छोराजस्तै’ बन्नु पर्दैन, उनी छोरीकै रूपमा उत्तिकै पूर्ण र समर्थ छिन् भन्ने सन्देश फिल्मले दिएको छ । लैंगिक भूमिकाको यो स्थापित सामाजिक ढाँचा अब बदलिनुपर्छ ।

जसरी मोमोलाई एउटै साँचोमा हालेर जबरजस्ती एउटै आकार दिन सकिँदैन, त्यसैगरी समाजले तोकेका पुराना नियम र अपेक्षाहरूमा हरेक व्यक्तिको स्वतन्त्र भावना अटाउन सक्दैन । जीवनका आफ्नै अनौठा आकारहरू हुन्छन्, तिनलाई स्वीकार गर्नु नै वास्तविक स्वतन्त्रता हो ।

फिल्मको कथा विशेष गरी पहिचान, सामाजिक अपेक्षा र मानवीय स्वभावको वरिपरि घुमेको छ । मोमोको विम्ब प्रयोग गरेर बुनिएको यो कथाको केन्द्रमा पूर्वी हिमाली क्षेत्र सिक्किमको एउटा गाउँमा बस्ने यस्तो परिवारको कथा हो, जहाँ केवल महिलाहरू मात्र छन् । फिल्मले ती महिलाहरूको दैनिक जीवन, उनीहरूका आन्तरिक चाहना, कुण्ठा र उनीहरूमाथि रहेको सामाजिक अपेक्षाको कथा भन्छ ।

फिल्ममा केन्द्रीय पात्रका रूपमा कलात्मक स्वभावकी विष्णु ( गौमाया गुरुङ ) छिन्, जो दिल्लीको एउटा आधुनिक र कथित स्वतन्त्र जीवन र जागिर छोडेर सिक्किमको आफ्नो पुर्ख्यौली गाउँ फर्किएकी छिन्, जहाँ उनको सामना आफ्नै परिवारका तीन पुस्ताका महिलाहरूसँग हुन्छ ।

घरमा कुनै पनि पुरुष सदस्य भौतिक रूपमा उपस्थित छैनन् । घरमा वृद्धा हजुरआमा छिन्, जो पुराना दिनहरूको सम्झनामा बाँचिरहेकी छिन् । अर्का छोराले उनलाई विदेश लैजालान् भनेर पर्खिरहेकी छिन् । उनी आफ्नो समय व्यतीत गर्न आइप्याड र स्क्रिनमा व्यस्त रहन्छिन् । अर्को सदस्य आमा ( पशुपति राई ), जसका श्रीमान ( विष्णुका बुबा ) को मृत्यु भइसकेको छ ।

उनी श्रीमानको अनुपस्थितिमा परिवार धान्न दिनरात संघर्ष गरिरहेकी छिन्, तर उनी पूर्णरूपमा परम्परागत र पितृसत्तात्मक सोचबाट ग्रसित छिन् । विष्णुको बहिनी (जुनु), जो गर्भवती छिन् र आफ्नो वैवाहिक जीवनको कलह तथा श्रीमानको गैरजिम्मेवारपनबाट थाकेर माइतीमा शरण लिन आएकी छिन् ।

उनको गर्भमा हुर्किरहेको बच्चा भविष्य र अनिश्चितताको बिम्ब हो । अब जन्मने बच्चा छोरा हुन्छ कि छोरी ? भन्ने कौतुहलताले घरको आगामी भविष्य र पितृसत्ताको निरन्तरतालाई संकेत गर्छ ।

कुहिरो र धमिलो प्रकाशले मुख्य पात्र विष्णुको मनभित्रको अन्योल, निराशा र अस्तित्ववादी संकटलाई दृश्यमान बनाएको छ । फिल्ममा संवाद र संगीतभन्दा बढी मौनता गुञ्जायमान छ ।

विष्णुको बढ्दो उमेरलाई लिएर आमा चिन्तित छिन् । उनी विष्णुलाई गाउँकै कुनै व्यक्तिसँग बिहे गरेर घरजम गर्न दबाब दिन्छिन् । आमाको नजरमा विष्णुले घरको जिम्मेवारी ‘छोराजस्तै’ भएर सम्हालोस् भन्ने छ, तर साथै उनले एउटी परम्परागत नारीको भूमिका पनि निभाओस् भन्ने चाहना छ । पितृसत्तात्मक सोचलाई बचाएर राख्न र अर्को पुस्तामा हस्तान्तरण गर्न महिला आफैं किन माध्यम बनिरहेका छन् ?

विष्णुलाई समाजले तोकेको त्यो परम्परागत ढाँचा मन पर्दैन । उनी आमासँग ठूलो स्वरमा झगडा त गर्दिनन्, तर उनीभित्र एउटा मौन विद्रोह र छटपटी छ । एउटै घरमा बसेर पनि ती महिलाहरूबीच एउटा ठूलो संवादहीनता र भावनात्मक दूरी देखिन्छ ।

फिल्ममा धेरै समय पुरुष पात्र देखिँदैनन्, तर उनीहरूको अनुपस्थिति नै फिल्मको सबैभन्दा ठूलो शक्ति हो । आमा आफ्ना दिवंगत श्रीमानको छायाँमा छिन्, हजुरआमा विदेशमा रहेका छोराको पर्खाइमा छिन् र बहिनी जुनु आफ्ना श्रीमानको व्यवहारबाट पीडित छिन् । घरमा पुरुष नहुँदा पनि समाजले उनीहरूलाई कसरी हेर्छ र सुरक्षा तथा अस्तित्वका लागि उनीहरू कसरी पुरुषमाथि नै निर्भर हुन बाध्य छन् भन्ने कुरा कथाले कलात्मक ढङ्गले देखाएको छ ।

फिल्ममा देखाइएको एक पुरुष पात्र ( युवा किसान ) को भने उपस्थिति बलियो छ । ऊ र विष्णु एउटै भूगोलमा उभिएको भए पनि उनीहरूको मानसिक र सामाजिक धरातल पूर्णरूपमा फरक छ, जसले गर्दा उनीहरूबीच एक किसिमको अघोषित वैचारिक दूरी पैदा हुन्छ । विष्णु दिल्लीको आधुनिक, शिक्षित र बौद्धिक संसारबाट फर्किएकी युवती हुन् । उनका लागि गाउँ आफ्नो अस्तित्व र शान्ति खोज्ने ठाउँ हो । अर्कोतिर, त्यो किसान युवा पात्रले विशुद्ध व्यावहारिक र श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ ।

घरभित्र विष्णुलाई ‘छोराजस्तै’ बनेर जिम्मेवारी सम्हाल्न दबाब दिइरहेका बेला युवा किसानको आगमन हुनु आफैंमा एउटा विरोधाभासपूर्ण परिस्थिति हो । गाउँको सामाजिक संरचनामा आर्थिक लेनदेन र व्यापारको काम परम्परागत रूपमा पुरुषले नै गर्दैआएका छन् ।

विष्णुले घरको नेतृत्व लिन खोज्दा, बाहिरको संसारबाट आएको त्यो पुरुष पात्रसँग व्यावसायिक कुराकानी गर्दा उसले विष्णुलाई एउटी ‘स्वतन्त्र निर्णय लिन सक्ने घरमूली’को रूपमा पूर्ण रूपले स्वीकार्न हिचकिचाएको वा गाह्रो मानेको आभास हुन्छ । विष्णुले समाजको त्यो परम्परागत ढाँचालाई तोड्न खोजिरहेकी छिन्, तर त्यो युवाले अन्जानमै त्यही पुरानो सामाजिक नियमको प्रतिनिधित्व गरिरहेको हुन्छ ।

पछि उक्त युवा किसानको भित्री व्यथा र वाध्यताले विष्णुको अवचेतन मनमा एउटा सुषुप्त मानवीय सामीप्यताको भावना पैदा गरिदिन्छ । उनीहरूबीचको संवादमा एउटा अनौठो सन्नाटा र संकोच देखिन्छ । विष्णु आफैंभित्र लडिरहेकी छिन्, एकातिर उनी समाजले तोकेको परम्परागत अवधारणाको घोर विरोधी छिन्, तर अर्कोतिर उनीभित्र कतै न कतै एकांकीपन, हीनताबोध र सामीप्यताको प्राकृतिक चाहना पनि छ ।

त्यो युवा पात्रको अगाडि उभिँदा विष्णुको यही आन्तरिक द्वन्द्व उनको अनुहारमा प्रष्टसँग प्रतिबिम्बित हुन्छ । उनीहरूबीचको कन्फ्लिक्ट ‘सहरिया आधुनिक चेतना’ र ‘ग्रामीण कठोर यथार्थ’बीचको टक्कर हो । निर्देशक त्रिवेणी राईले यो द्वन्द्वलाई पात्रहरूको आँखाको मौन हेराइ, उनीहरूको शरीरको भाषा र संवादको बीचमा आउने मौनतामार्फत बडो कलात्मक रूपमा पर्दामा उतारेकी छिन् ।

फिल्ममा देखिने-नदेखिने पुरुषहरू ( विदेशिएको छोरा, बहिनीको श्रीमान्, एमएलए को छोरा ) या त शोषक छन्, या महिलाहरूको अस्तित्वलाई अवमूल्यन गर्छन् कि त टाढा छन् अथवा गैरजिम्मेवार छन् । तर, यो किसानको छोरा सरल, मेहनती र आफ्नै श्रममा बाँचेको पात्र हो । उसले पितृसत्ताको क्रूर रूपभन्दा बाहिर, समाजमा संघर्ष गरिरहेको एउटा ‘सहनशील र निर्दोष पुरुषत्व’को बिम्ब प्रस्तुत गरेको छ ।

विष्णुका लागि एकाबिहानै एक्लै हिँड्नु भनेको घरेलु बन्धनको कोलाहल र पारिवारिक परिधिबाट केही पलका लागि मुक्ति पाउनु हो । मर्निङ वाकको समयमा उनी आफ्नै अन्तर्चिन्तनमा हराउन पाउँछिन्, जहाँ उनी कसैकी छोरी वा दिदी मात्र नभएर, आफ्नो अस्तित्व बोकेकी एउटी विशुद्ध ‘विष्णु’ बन्न पाउँछिन् । त्यही क्रममा उनको नजर सधैँ एउटी महिलामा पर्छ, जो प्रत्येक बिहान आफ्नो घरको छतमा मात्रै मर्निङ वाक गरिरहेकी हुन्छिन् ।

फिल्मको सम्भवतः यो अर्को सबैभन्दा शक्तिशाली बिम्ब हो, जसले महिलाहरू कसरी आज पनि घरको चौघेरा र समाजको संकुचित दायराभित्रै खुम्चिएर बाँच्न विवश छन् भन्ने तितो यथार्थलाई उजागर गर्छ ।

तर, कथाले एउटा सुन्दर मोड पनि लिन्छ, जब विष्णुलाई बाहिर हिँडेको देखेर प्रेरित हुँदै ती महिलाले अन्ततः घरको त्यो छत छोडेर खुला सडकमा आउने र दौडिने साहस गर्छिन् । यो दृश्यले समाजमा परिवर्तन र आशाको एउटा नयाँ किरण छरेको छ, त्यसले महिलाहरूलाई पितृसत्तात्मक समाजले लादेका संकुचित नियमहरू विरुद्ध विद्रोह गर्न र स्वतन्त्रताको दिशामा अर्को एउटा दरो कदम चाल्न उत्प्रेरित गर्छ ।

विष्णुले लेख्ने कविता उनको मनको स्वतन्त्रता र पँखेटाको बिम्ब हो । तर, जब समाजले उनको कविताको कदर गर्नुको साटो उनको बिहेको उमेरलाई लिएर प्रश्न गर्छ, तब कविता समाजको जरामुनि किचिएको कलाको लाचारीको बिम्ब बन्न पुग्छ ।

फिल्ममा त्यस्ता बिम्बहरू अरू थुप्रै छन्, जसले अनेक अर्थ र संदेश दिएका छन् । कतिपय ठाउँमा दृश्यहरू यति धेरै प्रतीकात्मक लाग्छन्, फिल्मको भाषा अथवा गहिरो समाजशास्त्र नबुझ्ने साधारण दर्शकले निर्देशकले भन्न खोजेको कुरा ठम्याउनै सक्दैनन् । फिल्म बढी ‘एकेडेमिक’ वा बौद्धिक वर्गका लागि मात्र सीमित भएको जस्तो देखिन्छ । फिल्ममा घटनाहरू निकै कम घट्छन् ।

पात्रहरूको आन्तरिक मनोविज्ञान, दृश्य र संवादमै बढी जोड दिइएको हुनाले कथामा बाह्य उतारचढाव कम छ, जसले गर्दा ड्रामामा हुनुपर्ने एउटा स्वभाविक थ्रिल वा कौतुहलता कतै न कतै कम भएको महसुस हुन्छ । तर, यी पक्षहरू कमजोरी पटक्कै होइनन्, बरू फिल्मका सुन्दर विशेषताहरू हुन् । ‘सेप अफ मोमो’ व्यावसायिक दौडका लागि बनेको फिल्म होइन । यो दृश्य र ध्वनिको माध्यमबाट कोरिएको एउटा जीवन्त कविता हो ।

सिक्किमको गाउँको चिसो मौसम, पहाडी हावा र गाउँलाई ढाक्ने बाक्लो कुहिरोलाई निर्देशकले केवल ‘सुन्दर दृश्य’को रूपमा मात्र प्रयोग गरेकी छैनन् । कुहिरो र धमिलो प्रकाशले मुख्य पात्र विष्णुको मनभित्रको अन्योल, निराशा र अस्तित्ववादी संकटलाई दृश्यमान बनाएको छ । फिल्ममा संवाद र संगीतभन्दा बढी मौनता गुञ्जायमान छ । पात्रहरू सँगै हुँदा पनि कोठामा जुन प्रकारको सन्नाटा छाउँछ, त्यसले आधुनिक समाजको एकांकीपन र पारिवारिक सम्बन्धभित्रको संवादहीनतालाई बडो कडा ढंगले महसुस गराउँछ ।

मुख्य पात्रको रूपमा गौमायाले सन्तुलित अभिनय गरेकी छिन् । संवादबिना नै आफ्नो आँखाको हेराइ, शरीरको भाषा र मनोदशाबाट उनले ३२ वर्षकी विद्रोही युवतीको पीडालाई पर्दामा उतारेकी छिन् । नेपाली र रङ्गमञ्चकी स्थापित अभिनेत्री पशुपति राईले परम्परागत र पितृसत्तात्मक सोच बोकेकी आमाको चरित्रमा ज्यान भरेकी छन् । उनी समाज र व्यवस्थाको थिचोमिचो सहेकी आँटिली तर मजबुर आमा हुन् भन्ने कुरा उनको हाउभाउले प्रष्ट पार्छ । हजुरआमा र बहिनी जुनुको भूमिकामा रहेका कलाकारहरूले पनि पहाडी परिवेशको रैथानेपनलाई मर्न दिएका छैनन् । तिनीहरूको लवज, बस्ने-उठ्ने शैली र संवाद बोल्ने तरिका एकदमै प्राकृतिक छ ।

यस फिल्मको यात्रालाई अन्तर्राष्ट्रिय स्तरमा बलियो बनाउन दक्षिण एसियाली सिनेमाका केही ठूला नामहरूले ‘एग्जिक्युटिभ प्रोड्युसर’का रूपमा साथ दिएका छन् । बलिउडकी चर्चित निर्देशक ‘जोया अख्तर’, ‘रीमा कागती’ र सन् २०२४ को कान्स अवार्ड विजेता निर्देशक ‘पायल कपाडिया’ यस फिल्मसँग जोडिएका छन् । यसका साथै दक्षिण भारतीय अभिनेता ‘राणा डग्गुबाती’को ‘स्पिरिट मिडिया’ले यसको वितरणको जिम्मा लिएको छ ।

समग्रमा, ‘सेप अफ मोमो’ ( छोरा जस्तै ) निर्देशक ‘त्रिवेणी राई’द्वारा सिर्जित एउटा क्षेत्रीय वा सांस्कृतिक फिल्म मात्र नभएर, पूर्वी हिमाली भेगको सामाजिक-सांस्कृतिक यथार्थ, नारीवादी चेतना र अस्तित्ववादी संकटको एउटा गहन सिनेम्याटिक दस्तावेज हो । राईले ‘सेप अफ मोमो’ मार्फत समाजले आकार दिएको परम्परागत ढाँचालाई तोड्न विद्रोहको विजारोपण गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?