+
+
ब्लग :

बा–आमा बन्न सक्यौं र ?

दीपक जोशी दीपक जोशी
२०८० कात्तिक २ गते १४:०८

छोराछोरी जन्माएपछि हामीमध्ये अधिकांशलाई बा–आमा बन्यौं भन्ने लाग्दछ । तर वास्तविकता बालबालिकाप्रति उनीहरूको व्यवहार तथा सोचले छर्लङ्ग पारिरहेको हुन्छ ।

बच्चा जन्माएर मात्र पुग्दैन, उचित पालनपोषण, असल संस्कार र राम्रो शिक्षादीक्षाले मात्र असल बाबु–आमा बन्न सकिन्छ । बाबु–आमाले बच्चाको चौतर्फी विकासमा ख्याल पुर्‍याउनुपर्छ ।

विद्यालयको बैठक तथा परीक्षाफल वितरणको दिनमा आफ्ना बालबालिकाको गुनासो राख्ने अभिभावकको संख्या उल्लेखनीय हुने गर्दछ । विचरा शिक्षक–शिक्षिकाहरू दिनमा ४० देखि ४५ मिनेट उनीहरूका बालबालिकासँग समय व्यतीत गर्ने गर्दछन् । त्यसमा पनि ३० देखि ४० जना विद्यार्थी कक्षाकोठामा हुँदा लगभग १ मिनेट समय पनि एक जना विद्यार्थीलाई दिन गाह्रो छ ।

त्यही समयभित्र पढाउनुपर्ने लगायत अरू कार्य गर्नुपर्दछ । तर उनीहरूसँग अभिभावकको आशा र अपेक्षाको चाङ कति धेरै छ । प्रायःजसो आजभोलि प्रत्येकजसो घरमा १ देखि २ जना बालबालिका हुने गर्दछन् । दुई जना बालबालिकाको बानी–व्यहोरा र आचरण सुधार्न नसक्ने बा–आमाले शिक्षक–शिक्षिकालाई जादुगरको भूमिकामा खोज्छन् ।

अब केही प्रश्न घरघरमा उठ्नुपर्दछ, उत्तर खोज्नुपर्दछ । बा–आमाले छोराछोरीको माया लागेर हो कि उनीहरूको बालहठ सम्हाल्न नसकेर बालबालिकाका लागि व्यक्तिगत फोन किनेर छुट्टै कोठाको व्यवस्था गरिदिएका हुन्छन् । विद्यालयमा ‘मेरो बाबुनानीलाई मोबाइलको लतबाट छुटाइदिनुपर्‍यो, मोबाइलमा गेम मात्र खेल्दछ’ लगायत नानाभाँती कुरा शिक्षकहरूसँग गरिरहेका भेटिन्छन् ।

मोबाइल किनिदिनेले त्यसको सही प्रयोग गर्न सिकाउन सक्दैन भने किन किनिदिएको त मोबाइल ? आजभोलिका बा–आमा यति निरीह किन बनिरहेका छन् त आफ्ना छोराछोरीका अगाडि ? शिक्षकलाई बालबालिकाका सबै अवगुणको पुलिन्दा लगाउने तर ‘मैले भनेको नभनिदिनू, म विद्यालयमा आएको उसलाई थाहा नहोस्, थाहा पायो भने त घर छोडिदिन्छु, मरिदिन्छु भन्छ’ लगायत साह्रै निरीह अनुनय–विनयका कथनहरू सुन्ने गरिन्छ । बा–आमाको सही भूमिका कसरी निभाउने ?

सोचमा परिवर्तन

कुनै पनि बालबालिका आफैंमा खराब आचरण लिएर जन्मिएको हुँदैन । तसर्थ बालबालिका निस्वार्थी मायाको संसार हो र उसलाई जसरी हामी हुर्काउँछौं त्यस्तै बन्छ भन्ने मानसिकताबाट बा–आमा निर्देशित हुनुपर्दछ ।

जन्मँदा उसले के लिएर आएको हुन्छ र ? सिर्फ मानव अस्तित्व, त्यसमा सबैथोक त हामीले भरेका होइनौं र ? तसर्थ हामीले हिजो राम्रो–नराम्रो के के भरेका थियौं, त्यो सबैको जिम्मेवारी लिएर राम्रोलाई गोडमेल गरौं र नराम्रा बानी–व्यहोरा पहिचान गरौं । त्यसलाई व्यावहारिक रूपमा सुधार्ने प्रयास गरौं ।

प्रत्येक बालबालिकाको स्वभाव फरक हुन्छ । तसर्थ अरूले दिएको उपाय अधुरो र अपूर्ण हुने गर्दछ । सही आचरण र बानी–व्यहोराको विकास नभएसम्म पूर्णताको लागि अभिभावक स्वयंले मौलिक प्रयत्न गर्नुपर्दछ । बिगार्न केही गर्नुपर्दैन, एकथान मोबाइल किनिदिए पुग्छ । तर सपार्न अथक् मिहिनेत पर्दछ । यो काम बा–आमालाई झिजो लाग्ने हुनसक्छ । त्यही भएर न हो, अभिभावक आफ्ना सन्तानबारे सारा दुनियाँसँग गुनासाका पोका बोकेर सुनाउँदै हिंड्ने गर्दछौं ।

सानैमा ख्याल पुर्‍याउने

बच्चा जन्मिनुभन्दा अगाडि आमा र जन्मेपश्चात् बालबालिकासँग गर्ने व्यवहार महत्वपूर्ण हुने गर्दछ । बालबालिका आफूभन्दा ठूलाको त्यसमा पनि बा–आमाको हरेक कुरालाई ख्याल गरिराखेका हुन्छन् र त्यही सिक्ने गर्दछन् । तर हामीहरूलाई सानोमा बालबालिकाहरूले केही सिक्दैनन्, जान्दैनन् र उनीहरूको व्यवहारलाई जस्तोसुकै भए पनि सहर्ष स्वीकारेर रमाइरहेका हुन्छौं जुन दीर्घकालीन रूपमा घातक बन्ने गर्दछ ।

मानसिक रूपमा बालबालिकाको सम्पूर्ण न्यूरोनहरूको विकास ३ देखि ५ वर्षभित्र भइसकेको हुन्छ । बा–आमाका लागि बालबालिकाको सही आचरण र बानी–व्यहोरा विकास गर्ने यो सबैभन्दा उपयुक्त उपाय र सही समय हो । तसर्थ बा–आमा बन्नुभन्दा पहिला कम्तीमा बा–आमा बन्नका लागि पूर्वतयारी गर्नुपर्दछ । आफ्ना जैविक इच्छा सँगसँगै वास्तविक रूपमा बा–आमा बन्न सक्नुपर्दछ । आफ्ना जैविक इच्छा पूरा गरेर बा–आमा बन्नु भनेको बालबालिकाप्रतिको अन्याय त हो नै आफैंप्रतिको टिठलाग्दो जीवन पनि हो ।

ठिक, बेठिक छुट्याउने क्षमता विकास

बालबालिकामा ठिक, बेठिक छुट्याउने क्षमता विकास भइसकेको हुँदैन । अभिभावकले सिकाए अनुसार र व्यवहारबाट उनीहरूले सिक्छन् । बालबालिकामा सानैमा जे रोप्यौं त्यही पछि फल्ने भएका कारण सानोमा के के रोप्ने पल–पलमा ख्याल गर्नुपर्दछ । अभिभावकको व्यवहार, बोली, जीवनशैली, क्रियाकलाप तथा उनीहरूले देख्ने दृश्य, ठाउँ र परिवेशले बालबालिकाको सिकाइ निर्धारण गरिरहेको हुन्छ ।
बालबालिकाले साथी–संगतिबाट पनि सिक्छन् किनकि उनीहरूले धेरै समय उनीहरूसँग पनि बिताउँछन् । यस्ता संगतले उनीहरूको व्यवहार निर्माण भइरहेको हुन्छ ।

बालबालिकामा सानैदेखि ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्न सक्ने आत्मविश्वास जगाउनुपर्छ । आत्मविश्वास उनीहरूको जीवनलाई सही मार्गमा डोर्‍याउने साधन हो । तब मात्र उनीहरू आफ्नो जिम्मेवारीबाट विचलित नबनून् ।

पूर्वप्राथमिक विद्यालय छनौट

पहिलो पाठशालाबाट दोस्रोमा पठाउँदै गर्दा विद्यालयमा पढाउने भन्दा बालबालिकासँग गर्ने व्यवहार र उनीहरूलाई हुर्काउने वातावरणको बारेमा बुझ्नु नितान्त आवश्यक छ । सानोबाट ठूलो परिवेश र फरक ठाउँमा बालबालिकालाई पढाउँदै गर्दा उनीहरूको सिकाइ र आचरणलाई अभिभावकले नजिकबाट नियाल्नुपर्छ ।

पूर्वप्राथमिक विद्यालय बालबालिकाका लागि पढ्ने वातावरण तय गर्ने पुल मात्र हुन् । तसर्थ विद्यालयमा सामान्य पढ्ने, लेख्ने कार्य गराएर क्रियाकलाप गराउनमा केन्द्रित छ कि छैन जानकारी राख्नुपर्दछ ।

सकेसम्म पूर्वप्राथमिक र माध्यमिक विद्यालय एउटै प्राङ्गणमा सञ्चालनमा छ भने बालबालिकाले सिक्ने, सिकाउने प्रक्रियामा बाधा पुग्दछ । तसर्थ अलग्गै सञ्चालित विद्यालयमा पढाउनु बेस हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?