+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

वैदेशिक रोजगारीमा जानेको ग्राफ निरन्तर ओरालो, मलेसियामा ठूलो गिरावट

अच्युत पुरी अच्युत पुरी
२०८० कात्तिक २ गते १५:१७

२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्यामा निरन्तर गिरावट देखिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्म १ लाख ६२ हजार ६९४ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३९ हजार ४९० जनाले कम हो । खासगरी मलेसिया र गल्फ मुलुकमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मलेसिया र गल्फ मुलुकबाट नयाँ डिमान्ड कम आइरहेको छ । समग्रमा विदेश जानेको संख्या कम भएको भन्न नमिले पनि गत वर्षको तुलनामा कम डिमान्ड आउँदा त्यसको प्रभाव यस वर्ष देखिएको उनले बताए ।

विभागको तथ्यांक अनुसार यस वर्ष साउनमा ५५ हजार ५७५ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत वर्ष यो महिनामा ७६ हजार ४०६ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष असोजमा ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको असोजमा ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

कतिपय कामदार पर्ख र हेरको अवस्थामा

सरकारले यस वर्ष मात्र युरोपका दुई मुलुक रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको छ । बेलायतमा नर्स पठाउने प्रक्रिया सुरु भइसकेको छ । खासगरी दक्ष कामदार उच्च आय हुने मुलुकमा जान पाउने गरी अगाडि बढेका यी सम्झौतालाई कामदारले पर्ख र हेरको अवस्थामा लिएको पनि देखिने अध्यक्ष भण्डारी बताउँछन् ।

‘उस्तै कामका लागि गल्फ जानु भन्दा यूरोप जाऔं न त भन्नेहरु पनि उत्तिकै देखिन्छन्,’ उनले भने, ‘तर, श्रम सम्झौता मात्र भएका मुलुकमा कामदार पठाउन कुनै प्रक्रिया त अगाडि बढिसकेको छैन, यसले पनि केही कामदार पर्ख र हेरको अवस्थामा रोकिएको हुन सक्छन् ।’

मलेसियाबाट डिमान्ड कम आउनुमा भने सो मुलुकबाटै कामदारको कम खपत हुनु मुख्य कारण हरेको उनले बताए ।

मलेसियाको प्रभाव कति ?

तथ्यांक अनुसार असोज २०८०मा मलेसियाका लागि मात्र ७ हजार ९०९ जनाले श्रम स्वीकृति लिएका छन् । असोज २०७९ मा मलेसियाका लागि २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएका थिए ।

साउन २०७९ मा २१ हजार ८११ मलेसिया गएकोमा यस वर्ष साउनमा मात्र ९ हजार २६८ जनाले श्रम स्वीकृति लिएका छन् । भदौ २०७९ मा मलेसियाका लागि ३५ हजार ३७२ जनाले श्रम स्वीकृति लिएकोमा यस वर्ष भने मात्र भदौमा ८ हजार १६९ जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसियाको ग्राफले समग्र वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको देखिएको हो ।

चाडबाड अगाडि देश छाड्नेको संख्या ५० हजार माथि

असोज महिना नेपालीहरुको मुख्य चाडबाडको महिना हो । वैदेशिक रोजगार विभागका अनुसार चाडबाडकै सिजनको यो महिनामा कामको खोजिमा ५६ हजार २३५ जना विदेशिएका छन् ।

सबैभन्दा धेरै यूएईमा १३ हजार ९०५ जना गएका छन् । साउदी अरेबियामा ११ हजार १२३ जना गएका छन् ।

कतारमा १० हजार ६१० जना गएको विभागको तथ्यांक छ । मलेसियामा ७ हजार ९०९ जनाले श्रम स्वीकृति लिएका छन् ।

कुवेतमा ३ हजार ७८१, कोरियामा ४८५, युद्धग्रस्त मुलुक इजरायलमा ४९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?