२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्यामा निरन्तर गिरावट देखिएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को असोज महिनासम्म १ लाख ६२ हजार ६९४ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ३९ हजार ४९० जनाले कम हो । खासगरी मलेसिया र गल्फ मुलुकमा जाने नेपालीको संख्यामा ठूलो गिरावट आएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मलेसिया र गल्फ मुलुकबाट नयाँ डिमान्ड कम आइरहेको छ । समग्रमा विदेश जानेको संख्या कम भएको भन्न नमिले पनि गत वर्षको तुलनामा कम डिमान्ड आउँदा त्यसको प्रभाव यस वर्ष देखिएको उनले बताए ।
विभागको तथ्यांक अनुसार यस वर्ष साउनमा ५५ हजार ५७५ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका छन् ।
गत वर्ष यो महिनामा ७६ हजार ४०६ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष असोजमा ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका छन् । गत आवको असोजमा ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।
कतिपय कामदार पर्ख र हेरको अवस्थामा
सरकारले यस वर्ष मात्र युरोपका दुई मुलुक रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको छ । बेलायतमा नर्स पठाउने प्रक्रिया सुरु भइसकेको छ । खासगरी दक्ष कामदार उच्च आय हुने मुलुकमा जान पाउने गरी अगाडि बढेका यी सम्झौतालाई कामदारले पर्ख र हेरको अवस्थामा लिएको पनि देखिने अध्यक्ष भण्डारी बताउँछन् ।
‘उस्तै कामका लागि गल्फ जानु भन्दा यूरोप जाऔं न त भन्नेहरु पनि उत्तिकै देखिन्छन्,’ उनले भने, ‘तर, श्रम सम्झौता मात्र भएका मुलुकमा कामदार पठाउन कुनै प्रक्रिया त अगाडि बढिसकेको छैन, यसले पनि केही कामदार पर्ख र हेरको अवस्थामा रोकिएको हुन सक्छन् ।’
मलेसियाबाट डिमान्ड कम आउनुमा भने सो मुलुकबाटै कामदारको कम खपत हुनु मुख्य कारण हरेको उनले बताए ।
मलेसियाको प्रभाव कति ?
तथ्यांक अनुसार असोज २०८०मा मलेसियाका लागि मात्र ७ हजार ९०९ जनाले श्रम स्वीकृति लिएका छन् । असोज २०७९ मा मलेसियाका लागि २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएका थिए ।
साउन २०७९ मा २१ हजार ८११ मलेसिया गएकोमा यस वर्ष साउनमा मात्र ९ हजार २६८ जनाले श्रम स्वीकृति लिएका छन् । भदौ २०७९ मा मलेसियाका लागि ३५ हजार ३७२ जनाले श्रम स्वीकृति लिएकोमा यस वर्ष भने मात्र भदौमा ८ हजार १६९ जनाले श्रम स्वीकृति लिएका छन् ।
मलेसियाको ग्राफले समग्र वैदेशिक रोजगारीमा जानेको संख्यामा ठूलो गिरावट आएको देखिएको हो ।
चाडबाड अगाडि देश छाड्नेको संख्या ५० हजार माथि
असोज महिना नेपालीहरुको मुख्य चाडबाडको महिना हो । वैदेशिक रोजगार विभागका अनुसार चाडबाडकै सिजनको यो महिनामा कामको खोजिमा ५६ हजार २३५ जना विदेशिएका छन् ।
सबैभन्दा धेरै यूएईमा १३ हजार ९०५ जना गएका छन् । साउदी अरेबियामा ११ हजार १२३ जना गएका छन् ।
कतारमा १० हजार ६१० जना गएको विभागको तथ्यांक छ । मलेसियामा ७ हजार ९०९ जनाले श्रम स्वीकृति लिएका छन् ।
कुवेतमा ३ हजार ७८१, कोरियामा ४८५, युद्धग्रस्त मुलुक इजरायलमा ४९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया 4