+
+

चीनमा झलनाथको सम्बोधन : विश्वको कुनै पनि शक्तिले बीआरआई रोक्न सक्दैन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १७:०३

२ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि बढाइरहेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता तथा विदेश विभाग प्रमुख खनालले चीनको बेइजिङमा जारी बेल्ट एन्ड रोड फोरम (बीआरएफ) को तेस्रो संस्करणलाई सम्बोधन गर्ने क्रममा पश्चिमा शक्तिहरूले विरोध गरे पनि बीआरआईलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

‘केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहन्छन् । तर विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन’, खनालले बुधबार सम्बोधनका क्रममा भने, ‘यो पहलकदमीले विश्वभरका जनताहरुमा आर्थिक समृद्धि र विभिन्न सभ्यताहरूको सहअस्तित्वको साझा भविष्यसहितको सुन्दर संसार स्थापनाको लगि नयाँ आशा जगाएको छ ।’

बीआरआई एक ऐतिहासिक पहलकदमीको हिस्सा भएको भन्दै उनले नेपालले पनि बीआरआईमार्फत विश्वजगतसँग जोडिन पाएकोमा गर्व महसुस गरिरहेको बताए ।

चीनले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सहकार्यको लागि तेस्रो बेल्ट एण्ड रोड फोरम’ शीर्षकको ‘जनस्तरको आपसी सहकार्य’ विषयको प्यानललाई खनालले सम्बोधन गरेका थिए ।

खनालले १० वर्षअघि सुरु भएको बीआरआईले प्राचीन सिल्क रोड र सामुद्रिक सिल्क रोडलाई पुनः आविष्कार गरेको भन्दै यसले इतिहासमा विश्वभर विकसित भएका विभिन्न सभ्यताहरूलाई जोडेकामा प्रशंसा गरे ।

‘यस पहलकदमीले विश्वभरका जनताहरुलाई एकआपसमा व्यापार गर्न, एक अर्काका मूल्य मान्यताहरूबाट सिक्न र आपसी सम्बन्ध र सहयोगलाई प्रवद्र्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको छ’, उनले भने ।

यो ऐतिहासिक पहलकदमीले नेपाल र चीन सरकार तथा दुई देशका जनताहरू बीचको औपचारिक सम्बन्धको परिचय दिएको उनको भनाइ छ । उनले नेपाल र चीनको औपचारिक सम्बन्ध करिब १६०० वर्ष पुरानो रहेको र यसलाई ऐतिहासिक कालखण्डमा सिल्क रोडको एउटा शाखा चामा गुडाओ (चिया हर्स रोड) द्वारा स्थापित सम्बन्धको रूपमा स्मरण गर्ने गरिएको बताए ।

सिल्क रोड प्रणालीले स्थापित गरेको विश्व सम्बन्धको उचाइलाई पश्चिमा सांस्कृतिक अहंकारवाद, जातिवाद, उपनिवेशवाद र साम्राज्यवादले ध्वस्त पारेको उनको भनाइ छ ।

‘आज चीनले अगाडि सारेको बीआरआईले विश्वभर रहेका मानिसहरुको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ’, खनालले सम्बोधनका क्रममा भने ।

‘सिल्क रोडको पुनःआविष्कारको रूपमा आएको बीआरआईले विश्वमा रहेका विभिन्न सभ्यताहरू एकआपसमा सहकार्य गर्छन्, सहअस्तित्वमा बाँच्छन्, र एकअर्कालाई रूपान्तरण समेत गर्छन्, तर तिनीहरू बीच कुनै विरोधाभास हँदैन भन्ने सत्यलाई समेत स्थापित गरेको छ’, उनले भने ।

समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापी विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?