+
+

‘नेपाली सिनेमाको कमजोर पक्ष नै कथा लेखन हो’

सिनेमा के कारणले चल्छन् र किन असफल हुन्छन् भन्ने प्रश्नको उत्तर दिनु दुनियाँकै सबैभन्दा गाह्रो काम हो । यसको ठ्याक्कै गणितीय उत्तर हुँदैन । अनि कसैले एक, दुई, तीन भनेर जवाफ दिन पनि सक्दैन ।

दीपकराज गिरी, निर्माता दीपकराज गिरी, निर्माता
२०८० कात्तिक ३ गते १०:३८

नेपालमा जति पनि चलचित्रहरू रिलिज भएका हुन्छन्, तीमध्ये अधिकांश आफ्नो लगानी उठाउन समेत असफल बन्छन् । रिलिज भएकामध्ये ९० प्रतिशत असफल हुन्छन् ।

गत वर्षको ‘ग्राफ’ भने अलि फरक थियो । पोहोरसाल सफलता पाउने चलचित्रहरूको सूची अलि लामो थियो । गत वर्ष आठ वटा जति फिल्महरू हिट भए । कबड्डी, छक्कापञ्जा, महापुरुष, झिंगेदाउ लगायत फिल्महरूले राम्रै व्यापार गरे ।

यो अवधिमा कतिपयले औसत व्यापार गरे । तर हरेक वर्ष त्यस्तो सम्भावना नहुँदो रहेछ । नेपालमै चलेको भारतीय सिनेमाको तुलनामा नेपाली सिनेमाहरू धेरै असफल छन् ।

सिनेमा के कारणले चल्छन् र किन असफल हुन्छन् भन्ने प्रश्नको उत्तर दिनु संसारको सबैभन्दा गाह्रो काम हो । यसको ठ्याक्कै गणितीय उत्तर हुँदैन र कसैले एक, दुई, तीन भनेर जवाफ दिन पनि सक्दैन ।

मेरो विचारमा दर्शकहरूलाई नेपाली सिनेमाका निर्माताहरूले विश्वासमा लिन सकेका छैनौं, सिनेमा हलसम्म डोर्याउन सकेका छैनौं । हाम्रा प्रचार सामग्रीहरू असाध्यै आकर्षक बनाइन्छन् तर हलमा हेर्न जाँदा चलचित्रमा त्यो विषयवस्तु पाइँदैन । यस्तो प्रवृत्तिबाट दर्शक निराश हुन्छन् ।

कोरोना लहरअघिको तुलनामा अहिले सिनेमा बन्ने क्रम केही घटेको छ । कोभिडअघि हामीले वर्षको १०० वटा सिनेमा बनाउँथ्यौं । कोभिडपछि एकखालका सिनेमाहरू निर्माण हुन कम भएका छन् । अझै दर्शकहरू सिनेमा हलमा जाने क्रम घटेपछि त निश्चित प्रकृतिका सिनेमाहरू त बन्नै छाडेका छन् ।

तैपनि सिनेमाको संख्या कम नहुनुका केही आधारहरू छन् । अहिले विभिन्न उपायले लगानीको बाटो खुलेको छ । विदेशमा देखाएर पनि सिनेमामा केही पैसा आउँछ । डिजिटल प्लेटफर्महरूले पनि केही रकम जोहो गरिदिन्छन् । सिनेमामा लगानी गरौं, यताबाट र उताबाट केही पैसा आइहाल्छ, बनाइहालौं न त भन्ने मानसिकता पनि छ ।

अझै केही समय सिनेमाको संख्यात्मक वृद्धिलाई रोक्न सकिंदैन । संख्यात्मक वृद्धि आफ्नो रूपमा कायम रहोस्, सँगसँगै सिनेमाको गुणात्मक विकासमा पनि ध्यान दिनुपर्छ, जुन काम चलचित्र विकास बोर्डको हो ।

अहिले सिनेमाको सबैभन्दा कमजोर पक्ष लेखन हो । सिनेमा सुरुवात गर्दा हामी कागजी रूपमा नै कमजोर भएका हुन्छौं । प्रि–प्रोडक्सनमै कमजोर भएपछि त्यसले नतिजा दिन सक्दैन । अनि एकपछि अर्को गर्दै सिनेमा कमजोर हुँदै जान्छ ।

सिनेमा बलियो बनाउन त्यसको सुरुवाती खाकालाई नै मजबुत बनाउन आवश्यक छ । तर, कमजोर सुरुवात भएपछि त्यसपछिको मिहिनेतले मात्रै सिनेमा राम्रो बनाउन सकिंदैन । राम्रा लेखकहरूलाई प्रवद्र्धन गर्ने, नयाँ लेखकहरूलाई उत्प्रेरित गर्ने, लेखनलाई बलियो बनाउन अन्तर्राष्ट्रियस्तरमा समेत सहकार्य गर्ने लगायत काम गर्न सकिन्छ ।

अहिले चलचित्र विकास बोर्डले व्यावसायिक सिनेमाको तुलनामा आर्ट सिनेमालाई प्रोत्साहन गरेर बसिरहेको छ । कलात्मक सिनेमालाई प्रोत्साहन गरेपछि त कलात्मक सिनेमा नै बढ्नु स्वाभाविकै हो । हामीले व्यावसायिक सिनेमा खोजेको हो कि कलात्मक ? त्यसमा स्पष्ट हुनु आवश्यक छ ।

सबैभन्दा पहिले बजार ठूलो कुरा हो । बजारमा बिक्ने र दर्शकले रुचाउने सिनेमा बनाउने हो भने व्यावसायिक सिनेमाको प्रवद्र्धन गर्नुपर्छ । त्यसका लागि चलचित्र विकास बोर्डले पनि ध्यान केन्द्रित गर्नुपर्छ । सिनेमाकर्मीहरू, लेखक एवं संलग्न अन्य जनशक्तिलाई तालिम दिनुपर्छ ।

५० वटा व्यावसायिक सिनेमा बन्दा २/३ वटा कलात्मक सिनेमा बन्नु स्वाभाविक हो । तर २५/३० वटा आर्टहाउसको सिनेमा बनेको हुन्छ र त्यसले आधा हिस्सा ओगट्छ भने त्यस्तो सिनेमा उद्योग राम्रो हुँदैन ।

भारतकै स्थिति हेर्ने हो भने व्यावसायिक सिनेमाहरूको बाहुल्य छ । एक समय बलिउड व्यावसायिक धारबाट टाढा जान लाग्दा झण्डै झण्डै घुँडा टेक्ने अवस्थामा पुगेको थियो । अहिले पठान, गदर, जवान लगायत पछिल्ला सिनेमाहरूले बलिउडलाई जीवनदान दिएका छन् । तसर्थ व्यावसायिक सिनेमाहरूको विकल्प छैन । व्यावसायिक सिनेकर्मीहरूलाई प्रवद्र्धन गर्नुपर्छ ।

अब निर्माताहरूले पनि सिनेमा बनाउनुअघि केही कुरामा ध्यान दिनुपर्छ । उनीहरू ‘मैले यो कथा किन ?’ भन्ने सवालमा स्पष्ट हुनुपर्छ । यो कथामा किन लगानी गर्ने भन्नेमा उनीहरू स्पष्ट हुनु आवश्यक छ । आफूले लिएको स्क्रिप्ट अरू भन्दा फरक छ कि छैन भन्नेमा द्विविधा पाल्नुभएन । कसैले फलानाले यति कमायो भनेर बताएका भरमा सिनेमामा लगानी गर्नु घातक हुन्छ ।

लगानीकर्ता वा निर्माताले विषयवस्तु र बजार अध्ययन गरेर मात्रै हात हाल्नु उचित देखिन्छ । कतिपय निर्माताहरू अरूको लहलहैमा लागेर पनि पैसा कमाउने लोभमा फसेका छन् । कतिपयले ५० दिन, १०० दिन मनाउनेछ भनेर उचाल्दिएका भरमा हौसिएका छन् । पैसा कमाउने मात्रै उद्देश्य हो भने सिनेमामा मात्रै लगानी गर्नु नै हँुदैन, अरू धेरै विकल्प छन् । एउटा राम्रो सिनेमा बनाउँछु भन्ने उद्देश्य राखेर आउनुपर्छ ।

अहिले हामी हरेक विषयमा व्यावसायिकताबाट टाढा छौं । सेन्सर बोर्डमा समस्या छ, सबैतिर कर्मचारीतन्त्र हावी छ । चलचित्रकर्मीहरूको नेतृत्वदायी भूमिका पनि असाध्यै कमजोर छ । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा जुन परिकल्पना गरिएको छ, त्यो अनुसार हुनसकेको छैन । त्यो पद कागजी बाघमा सीमित छ । साँच्चिकै अधिकार दिन र त्यसलाई तानाशाही हुनबाट रोक्न सन्तुलन हुन आवश्यक छ ।

निर्माता र प्रदर्शकहरूबीच लामो समयदेखि शीतयुद्ध छ, जसले सिनेमा उद्योगलाई धरासायी बनाइरहेको छ । दुवै एकअर्का विना चल्न सक्दैनन्, तर अहिले दुवैले एकअर्काको अस्तित्व स्वीकारेका छैनन् । सबैले सन्तुलन हुने गरी काम अघि बढाउनुपर्छ ।

(निर्माता गिरीसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?