+
+

नयाँ कार किनेपछि दीपक भन्छन्- गाडी विलासी होइन, आवश्यकता बन्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १७:२५

काठमाडौं । अभिनेता दीपकराज गिरीले सोमबार ९७ लाख रुपैयाँ मूल्य पर्ने टाटाको एच-फाइभ कार किने । बितेको डेढ दशकमा यो उनको चौथो कार हो ।

यसअघि टाटाको हेक्जा चढ्दै आएका उनले यसपटक पनि पेट्रोलबाटै चल्ने गाडी किनेका हुन् । ईभी नकिनेर किन पेट्रोलवाला ? यसमा उनको आफ्नै कारण छ । दीपक भन्छन्, ‘हामी प्रायः सुटिङमा जानुपर्छ । कार्यक्षेत्र गाउँगाउँसम्म हुन्छ । कलाकारलाई ल्याउने लैजाने गर्नुपर्छ ।’

कारसँग दीपकको साइनो रोचक छ । आफ्नो हिट कार्यक्रम ‘रामविलास धनियाँ’ चलाउँदासम्म उनी मास्क लगाएर टेम्पो र साझा बस चढ्थे । साइकल पनि थिएन । शहीदगेटदेखि गुर्जुधारासम्म टेम्पो चढेर सडक नापेका अनुभवका किस्सा उनीसँग छन् ।

कार्यक्रमले दिलाएको प्रसिद्धिपछि भने उनको अनुहार चिनिने भइसकेको थियो । त्यसपछि स्पेलेन्डर मोटरसाइकल किने । ‘वडा नम्बर ६’ को समयसम्म बाइक हाँक्थे । ‘छक्कापञ्जा’ सिरिजको सुरुवातको बेला भने उनीले गाडी चढ्न थाले । पहिलोपटक हुण्डाइको आइटेन चढे ।

चौथो पटकको कार किन्दासम्म आफूले यसलाई शो-अपको माध्यमको रुपमा नलिएको दीपक बताउँछन् । ‘दुई-तीन करोडका महँगा जापानी गाडी पनि चढ्न सक्थें होला । तर गाडीको लागि उत्साहित भइन् । तिमी अपग्रेड हुनुपर्छ भनेर साथीहरुले भनिरहन्थे । मेरा लागि यो आवश्यकता हो । मैले यसलाई शो-अपको माध्यमका रुपमा कहिल्यै लिइनँ,’ दीपकले भने ।

कस्तो गाडी चढ्ने र कसरी प्रयोग गर्ने भन्ने कुराको व्यक्तिको स्वभावमा निर्भर हुने उनी बताउँछन् । ‘देखाउने नेचर छ भने नयाँ कार, नयाँ मोबाइल, गजेट प्रदर्शन गर्छ । मेरो स्वभाव सकेसम्म नदेखाऊँ भन्ने छ,’ उनी भन्छन्, ‘यो भनेको प्रतिस्पर्धा गर्ने चीज होइन । घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने सिद्धान्तबाट निर्देशित छु । कहिल्यै पनि विलासितामा जोड दिइनँ ।’

नेपाली सडकका लागि एच-फाइभजस्ता कार उपयुक्त हुने उनको धारणा छ । ‘यसले मलाई अझै ५-६ वर्ष मजाले बोक्छ । म अफरोडमा पनि मजाले चलाउन सक्छु,’ दीपक भन्छन् ।

तर कार चढेर हिंड्ने मान्छेका लागि काठमाडौंजस्ता सहरमा सडक चुनौती, लेन अनुशासनदेखि जामका समस्या रहेको उनको अनुभव छ । ‘मैले घरमा करोडौं रुपैयाँ गाडी भएका मान्छे मोटरसाइकल चढेर हिंडेको देख्या छु । शनिबार मात्र परिवार लिएर चढ्ने भन्ने मान्छे पनि छन्,’ उनी भन्छन् ।

स्वास्थ्यका लागि दुईपांग्रे उपयुक्त नहुने उनी बताउँछन् । ‘दुईपांग्रेबाट माथि जान सक्नुहुन्छ भने माथि जाँदा राम्रो । दुईपांग्रे जोखिमपूर्ण सवारी साधन हो । उमेर बढी छ भने त धुवाँधुलोले स्वास्थ्यलाई असर गर्छ,’ दीपक भन्छन्, ‘चारपांग्रेमा जाँदा ब्राण्ड हेरेर जानुपर्‍यो । देखाउनका लागि भन्दा पनि आवश्यकताको आधारमा गर्नुपर्‍यो ।’

कामको कुरा गर्दा दीपक ‘छक्कापञ्जा ५’ निर्माणको तयारीमा छन् । वैशाख दोस्रो सातादेखि छायांकन तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?