+
+

‘यथार्थवाद धेरै भो, काल्पनिकताले मात्रै फिल्म जोगाउन सक्छ’

नेपाली सिनेमामा यथार्थवाद धेरै हावी भयो । हामीलाई यथार्थवादको अर्थज्ञानले नै अहिलेसम्म थिचिरहेको छ । तर, अब नेपाली सिनेमाहरूलाई कल्पनाशीलताको आधारमा अघि बढाउनुपर्छ । काल्पनिकताले मात्रै फिल्म जोगाउन सक्छ ।

मनोज पण्डित, निर्देशक मनोज पण्डित, निर्देशक
२०८० कात्तिक ३ गते १०:३६

यो ६ महिना ‘जारी’को दबदबा देखियो । यसको प्रतिफल ‘नांगो गाउँ’ले पनि पायो । नेपालको सिनेमामा जनजाति विषयवस्तुको पनि ठूलो प्रभाव पर्न थालेको छ । ‘एथिनिक पोलिटिक्स’को पनि नेपाली सिनेमामा प्रभाव पर्न थालिसकेको छ । नेपाली समाज एकदमै संवेदनशील हुन थालेको छ ।

सिनेमालाई धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ । यो अवधिमा जति सिनेमाहरू कमजोर भए, त्यसको कारणमा सिनेमा साहित्य कमजोर हुनु एउटा कारण हो । लेखन कमजोर हुनु अर्को कारण हो । लेखन संरचना कमजोर भएर पनि सिनेमाहरूले समस्या भोगिरहेका छन् ।

अर्कोतर्फ वैशाखदेखि भदौसम्म त्यति सिनेमा हेर्ने प्रचलन छैन । भदौपछि भने सिनेमाहरू चलेका हुन्छन् । वैशाखदेखि भदौसम्म वर्षायामसम्म सिनेमा नचल्ने अवधि मानिन्छ । त्यसमा पक्कै पनि एकभन्दा बढी पक्षहरू होलान् । सिनेमाको माहोल बन्ने र हेर्ने उत्साह बढ्ने पनि एउटा याम हुँदोरहेछ, जुन भदौपछि विस्तारै माथि पुग्छ ।

भदौपछि दशैं–तिहारसम्मको अवधिमा सिनेमाहरू चल्छन् । त्यसपछि फेरि ‘ग्याप’ भएर जान्छ । त्यसपछि फेरि माघ–फागुनतिर सिनेमा चलेका हुन्छन् । त्यसकारण नेपाली सिनेमा चल्नु र नचल्नुमा सिजन पनि कारक हुँदोरहेछ ।

अर्कोतर्फ सिनेमामा बजार मूल्य निर्धारण गर्ने क्रममा हामीसँग आवश्यक जनशक्ति नै छैन । आवश्यक मानवीय क्षमता नहुनु हामीसँगको सबैभन्दा ठूलो समस्या हो । नेपाली सिनेमा उद्योग दक्ष जनशक्तिको अभावबाट गुज्रिरहेको छ । त्यही कारणले सिनेमाहरू असफल हुनु स्वाभाविकै हो ।

सिनेमामा संलग्न हुने जनशक्ति भनेको केवल निर्देशक, स्क्रिप्ट लेखक मात्रै होइन । निर्मातादेखि कलाकारहरूले छाड्ने छापले पनि यी विषयहरूमा असर पार्छ । अर्कोतर्फ, नेपालमा कलाकारहरूको आफ्नो स्वतन्त्र पहिचान पनि बनिसकेको छैन ।

भारतमै हेर्ने हो भने त्यहाँ कलाकारहरूको आ–आफ्नो ‘इमेज’ छ । नेपालमा कलाकारको ‘सिनेम्याटिक इमेज’ बन्न सकेको छैन । सिनेमामा कलाकारहरूको आफ्नो स्वतन्त्र पहिचान पनि चल्ने हो । अहिले कलाकारहरू आफ्नो पहिचान र व्यक्तित्व बनाउने कुरामा चुकेका छन् ।

यसमा नयाँ कुरा पनि छ । नयाँ–नयाँ फिल्म मेकरहरूले सिनेमा बनाउन आँट गरिरहेका छन् । चलेकामध्ये केही नयाँ अवधारणाका सिनेमा पनि छन् । अनुपात हेर्दा सिनेमा बन्ने क्रम असाध्यै बढेको होइन, तर नयाँ टिम आउने प्रयास गरिरहेको भने पक्कै हो ।

एउटा फिल्ममेकरले एक वर्षमा एउटा सिनेमा बनाउनु स्वाभाविक हो । नेपालमा त्यस्तो सिनेमा बनाउने टिमहरू ५०/६० भन्दा बढी छन् । फेरि हरेक वर्ष नयाँ टिमहरू पनि आइरहेका हुन्छन् । यस आधारमा हेर्दा वर्षमा कम्तीमा पनि ७०/८० वटा सिनेमा बन्ने सम्भावना स्वाभाविक हो । वर्षमा करिब ५०/६० वटा सिनेमा बनिरहेका छन् । यो संख्या हेरेर धेरै आत्तिनु पनि पर्दैन ।

यति धेरै संख्यामा सिनेमाहरू आउँदा नयाँ आइडिया, नयाँ स्टाइल र केही न केही अरू नयाँपन पनि आउनुपर्ने थियो । त्यस्ता विशेषता सहित सिनेमाहरू आइदिएको भए नेपाली सिनेमा उद्योगमा ठूलो उपलब्धि हुनेथियो । तर जुन आए तिनमा पुरानै शैली र रवैया कायम रहेकाले अहिले ‘कसले किन यति धेरै सिनेमा बनाइरहेको छ ?’ भन्ने प्रश्न उठेको हो ।

मेरो विचारमा अब भने नेपाली सिनेमालाई काल्पनिकताले जोगाउँछ भन्ने लाग्छ । नेपाली सिनेमामा यथार्थवाद धेरै हावी भयो । हामीलाई यथार्थवादको अर्धज्ञान छ, त्यसैले नै अहिलेसम्म थिचिरहेको छ । अब नेपाली सिनेमाहरू कल्पनाशीलताको आधारमा अघि बढाउनुपर्छ । स्वैरकल्पनामाथि पनि प्रयोग गर्नुपर्छ ।

यथार्थवादमा आधारित सिनेमाहरू नै उत्कृष्ट हुन्छन् भन्ने भ्रमबाट हामी ग्रस्त छौं । यथार्थतालाई नटेकी राम्रो सिनेमा बनाउन सकिंदैन भन्ने निर्माताहरूलाई त्यसको दायराबाट बाहिर ल्याउन आवश्यक छ । योभन्दा फरक धारको सिनेमाहरूमा काम गर्न आवश्यक छ, यसले दर्शकहरूलाई नयाँ स्वाद दिलाउनेछ । समाजमा भएका घटनामा आधारित भएर मात्रै सिनेमा बनाउनुपर्छ भन्ने सोच पुरानो भइसकेको छ, त्यसलाई बदल्नुपर्छ ।

अहिले हामीले फिक्सनलाई अंगीकार नै नगरेको, अथवा बहिष्कार गरेको जस्तो भइरहेको छ । फिक्सनको आयाममा नेपाली सिनेमा धेरै कमजोर छ । कल्पनाशीलतामा आधारित सिर्जनशीलतालाई अब अधिकतम रूपमा प्रयोग गर्नुपर्छ ।

त्यसो भयो भने नेपाली सिनेमाहरूले बलिउडका सिनेमासँग अहिलेभन्दा केही बढी प्रतिस्पर्धा गर्न सक्छन् । अब नेपाली सिनेमाहरूले अहिले आफ्नै दर्शकको विश्वास जित्नु आवश्यक छ ।

सिनेमा सामाजिक यथार्थवादको प्रतिविम्ब हुनुपर्छ मात्रै भनियो । समाजको रूपान्तरणका लागि सिनेमा चाहिन्छ भन्ने मानसिकता नीति निर्मातामा छ । तर, राज्यले यो ज्ञानको उत्पादन गर्ने क्षेत्र हो भन्ने सोच्न सकेको छैन ।

सिनेमासँग सम्बन्धित निकाय प्रशासनिक काम र करको मामिलामा मात्रै सीमित छन् । सेन्सरमा मात्रै उनीहरूको रुचि छ । उनीहरूले सिनेमालाई ज्ञान उत्पादनको माध्यम हो भन्ने सोच्न र वातावरण बन्न दिनसकेका छैनन् । त्यसो नहँुदासम्म सिनेमा उद्योग ‘उद्योग’को रूपमा विकास हुन कठिन हुन्छ । सिनेमा भनेको कलाकारहरूको सिर्जनाबाट हुने उत्पादन हो भन्ने मान्यता विकास गर्नु आवश्यक छ ।

(निर्देशक पण्डितसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?