+
+

दशैंको बेला चितवनमा झनै घट्यो कुखुराको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते १४:३२

७ कात्तिक, चितवन । दशैंको बेला कुखुराको मासुको खपत विगतमा बढ्ने गरेको चितवनमा यसपटक भने ह्वातै घटेको छ ।

जिल्लामा ब्रोइलर कुखुराको ठूलो कारोवार गर्दै आइरहेका पोल्ट्री व्यवसायी मञ्चका कोषाध्यक्ष हरि लोहनीले विगतका दशैंको तुलनामा यसपटक कुखुराको मासुको कारोवार निकै घटेको बताए ।

उनका अनुसार सोह्र श्राद्धमा भन्दा पनि अहिले कुखुराको मासुको खपत कम छ । सोह्र श्राद्धताका प्रतिकेजी २७० रुपैयाँमा बिक्री भएको कुखुराको मासु अहिले २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदा व्यवसायीलाई मार परेको लोहनीले सुनाए । ‘फूलपाती, अष्टमी र नवमीमा अघिल्ला दशैंमा कुखुराको मासुको खपत राम्रो हुन्थ्यो, यसपटक झनै यी दिनमा घट्यो,’ कोषाध्यक्ष लोहनीले भने, ‘पहिला १२ क्वीन्टल बेच्नेले अहिले ४ क्वीन्टल मात्रै बेचिरहेका छन् ।’

कुखुराको मासुको बिक्री ३५ प्रतिशत मात्रै भएको बताए । मासुको खपत कम भएपछि कुखुरा ओसार्ने गाडीहरु थन्काएर त्यहाँ काम गर्ने चालक तथा लेबरहरुलाई बिदा दिइएको लोहनी बताउँछन् ।

खसी, बोका तथा राँगाको मासु दशैंमा बढी खपत हुने भए पनि कुखुराको मासु पनि सोही अनुपातमा खपत हुने गरेको अनुभव लोहनीले गरेका थिए । उनको बुझाइमा १४÷१५ वर्षभन्दा कम र ६० वर्षभन्दा बढी उमेर समूहले खसी, बोकाकै मासु खाने गरेको र ब्रोइलरको मासु खाने १८÷१९ वर्षदेखि ४०÷४५ वर्षका अधिकांश मानिस विदेश गएकाले कारोबार घटेको हो । उनले नेपालमा भएको निम्नवर्गीय परिवारसँग रकम भएको र मध्यम वर्ग विदेश गएको परिवारको सदस्यले रकम पठाउँदा उनीहरुले खसी बोका नै खाँदा कुखुराको मासु उपभोगमा कमी आएको हुनसक्ने बताए ।

चितवनमा अन्य समयमा दैनिक ३५÷४० गाडी (१०÷११ क्वीन्टल) कुखुराको मासु खपत हुने गरेको छ । सोह्र श्राद्ध अगाडिसम्म चितवनमा ब्रोइलरको मासुले नपुगेर पोखरा तथा वीरगञ्जबाटसमेत ल्याउने गरिएको थियो ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले यसपटकको दशैंमा खसी बोकाकै कारोबार कम भएको सामाचारहरु आइरहेको सन्दर्भमा कुखुराको मासुको कारोवार पनि घटेको बताए । ‘दशैंमा खसी नै खाने आम नेपाली प्रचलन हो, निम्नमध्यम वर्गीय परिवारले कुखुराको मासु खान्थे, अहिले आर्थिक रुपमा समस्या हुँदा सबैतिर यसको मार परेको छ’ अध्यक्ष लामिछानेले भने, ‘समग्रमा अर्थतन्त्रको परेको असर चाडपर्व र समुदायसम्म नै देखिन थालेको छ ।’

उनले विगतमा लेयर्स कुखुराहरुको मासु राजमार्गका होटलहरुमा जाने भए पनि यसपटक नगएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?