+
+

राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ७ गते ६:५६

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरेका छन् ।

विजया दशमीको शुभकामना सन्देश दिँदै उनले देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी रहेको बताएका छन् । ‘नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ । यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ’ उनको शुभकामना सन्देशमा लेखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक सहिष्णुता र सदभाव अझै अभिवृद्धि हुने अपेक्षा गर्दै विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।

सरकार सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशील रहेको पनि उनले उल्लेख गरेका छन् । सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको ऐक्यबद्धता समुन्नत राष्ट्र निर्माणका निम्ति अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।

जात, वर्ग, धर्म लिङ्ग, वर्ण, भूगोल, आस्था र सम्प्रदायको सोचबाट माथि उठेर ‘गरे हुन्छ, परिवर्तन सम्भव छ’ भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा परेको दबाब, विकास निर्माणमा देखापर्ने परम्परागत शैली, संरचना र प्रणालीको अवरोधलाई दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर छिचोल्न सकिने उल्लेख गरेका छन् ।

मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यसभित्र विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेकामा पनि उनले जोड दिएका छन् ।

यसैगरी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चाडबाडमा भड्किलो व्यवहार गर्ने, अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै बडादशैंले आपसी एकता, शान्ति र सकारात्मक सोच विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि दशैंको शुभकामना व्यक्त गर्दै जनताको समृद्धिको सपना पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?