+
+

१३ दिनमा ६० प्रतिशतले बढ्यो प्याजको होलसेल मूल्य, खुद्रा दोब्बर

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० कात्तिक १३ गते २०:०६

१३ कात्तिक, काठमाडौं । असोज मसान्तमा कालीमाटीको होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य १३ कात्तिकमा अधिकतम् १ सय २० रुपैयाँसम्म पुग्यो । अर्थात्, गएको १३ दिनमै प्याजको मूल्य ४४ रुपैयाँ अर्थात् ६० प्रतिशतले बढेको छ । होलसेलमै ६० प्रतिशतसम्म मूल्य बढेपछि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य दोब्बरसम्म पुगेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा खपत हुने अधिकांश प्याज भारतबाट आयात हुन्छ । भारतमा नै प्याजको मूल्य बढेको तथा प्रतिटन ८०० अमेरिकी डलर (प्रतिकिलो १ सय ५ रुपैयाँ) भन्दा कममा निर्यात गर्न नपाइने व्यवस्था लागु गरेपछि नेपाली बजारमा प्याजको मूल्य बढेको व्यवसायीहरुले दाबी गरेका छन् । तर, भारतले शनिबार मात्रै प्याजको निर्यातमा न्यूनतम मूल्य तय गरे पनि नेपालमा भने यसको मूल्य १३ दिनअघिदेखि नै आकाशिन थालेको हो ।

अझ भारतको निर्याणअघि प्रतिकिलो १ सय २ रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्यमा दुई दिनमा नै १८ रुपैयाँको बढोत्तरी भएको छ । जबकि, त्यो व्यवस्थापछि भारतबाट आयात भएको प्याज बजारमा आएकै छैन । तर, पहिल्यै आयात भएको वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गरिनु कालोबजारी र उपभोक्ता माथिको अपराध भएको भन्दै अधिकारकर्मीहरुले सरकारलाई प्रभावकारी बजार अनुगमन गर्न माग गरेका छन् ।

तर, कृत्रिम भन्डारण गरेर मूल्य बढाएको भन्ने आरोप व्यवसायीहरुले अस्वीकार गरेका छन् । भारतमा मूल्य उच्च भइरहेको र निर्यातमा पनि निश्चित रकमको सीमा तोकिदिएपछि नेपाली बजार प्रभावित बनेको कृषि उपज आलु प्याज आयात निर्यात थोक बिक्री संघका महासचिव प्रकाश गजुरेलले बताए । ‘भारतमै खरिद गर्दा प्याजको प्रतिकिलो मूल्य १०७ रुपैयाँजति पर्छ,’ उनले भने, ‘नेपाल ल्याई पुर्‍याउँदा १२० रुपैयाँ पर्छ, त्यसैले मूल्यवृद्धि हुनु स्वाभाविक नै हो ।’

नेपालमा करिब १५० जना व्यवसायीहरुले प्याज आयात गर्ने गरेका छन् । चालु आर्थिक वर्षको ३ महिना (असोजसम्म) भारतबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ३२ हजार मेट्रिक टन प्याज आयात गरेको छ । नेपालले वार्षिक ५ अर्ब बढीको प्याज भारतबाट आयात गरेर आफ्नो आवश्यकता पूरा गरिरहेको छ ।

के हो प्याजमा भारत सरकारको नयाँ नीति ?

गत शनिबार भारतको वाणिज्य व्यापार मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार महानिर्देशनालयले सुकेको प्याज निर्यातमा कडाई गर्न एक सूचना जारी गरेको छ । त्यसअनुसार भारतमा उत्पादन हुने बैंकलोर रोज र कृष्णपुरम जातको सुकेको प्याजको निर्यात मूल्य न्यूनतम ८ सय अमेरिकी डलर प्रतिमेट्रिकटन हुनु पर्ने उल्लेख छ । यो नियम आगामी डिसेम्बर अन्तिम (पुस दोस्रो साता ) सम्म कायम रहने छ ।

आन्तरिक बजारमा प्याजको मूल्यमा भएको वृद्धि र यसले उपभोक्तामा पर्ने महँगी नियान्त्रण गर्न भारतले प्याजको निर्यातलाई थप महँगो बनाएको भारतीय सञ्चार माध्यमको दाबी छ । पछिल्लो २ सातायाता भारतीय बजारमा प्याजको मूल्य १६ प्रतिशतसम्मले बढेर भारु ८० रुपैयाँ (१ सय २८ नेपाली रुपैयाँ) प्रतिकिलोसम्म पुगेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

यसरी भारतको आन्तरिक बजार मात्रै होइन, निर्यातमा पनि उच्च मूल्यवृद्धि भएपछि असोज अन्तिमसम्म बजारमा खुद्रा बजारमा प्रतिकिलो ७० देखि ८० रुपैयाँमा पाइने भारतीय सुकेको प्याजको मूल्य अहिले १३० देखि १६० रुपैयाँसम्म पुगेको छ ।

भारतीय बजारमा प्याजको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । ‘प्याजमा भारतमा निर्भर हाम्रा लागि स्वाभाविक रुपमा सो मूल्यले असर गर्छ । मूल्य महँगो भएका कारण बजारमा प्याजको आयात नै कम भएको छ,’ उनले भने ।

असोजसम्म दैनिक करिब एक लाख ७० हजार किलो हाराहारी प्याज आयात हुने गरेकोमा कात्तिक लागेपछि प्याजको आयात आधाभन्दा धेरैले घटेको उनले बताए । अहिले दैनिक ६० हजार किलो हाराहारी मात्रै प्याज आयात भइरहेको श्रेष्ठको भनाइ छ ।

मुलुकमै प्याज उत्पादनको पाठ, १६ दुना आठ

४ वर्षअघि २०७६ सालमा भारतले प्याजको निर्यातमा रोक लगाउने निर्णय गर्‍यो । भारतको उक्त निर्णयले नेपाल लगायत असर दक्षिण एशियाली मुलुकहरु नराम्रोसँग प्रभावित हुन पुगे ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले त आफ्नो भान्सामा प्याज प्रयोग नगर्न सार्वजनिक अपिल नै गरिन् । त्यसयता पनि भारतले आन्तरिक बजारमा मूल्य बढ्न थालेपछि निर्यात निरुत्साहनको नीति लिने गर्छ ।

नेपालमा कुल मागको एक तिहाइ मात्रै आन्तरिक उत्पादनले धान्ने राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले जनाएको छ । त्यसो हुँदा भारतले प्याज आयातमा कडाइ गर्दा वा मूल्य बढ्दा देशभित्रै प्याज उत्पादन बढाउने विषयमा बहस हुने गर्छ । तर, देशमा प्याज उत्पादन बढ्ने होइन, निरन्तर घटिरहेको छ ।

सरकारी तथ्यांकअनुसार नेपाली प्याज खेती हुने जमिन गत वर्ष भन्दा ३ हजार हेक्टरले घटेको छ । अघिल्लो वर्ष १३ हजार हेक्टरमा प्याज खेती गरिएकामा गत वर्ष १० हजार हेक्टरमा मात्रै प्याज लगाइएको वरिष्ठ बाली संरक्षण अधिकृत टीएन जोशीले बताए । नेपालमा वार्षिक एक लाख ६९ हजार मेट्रिक टन मात्रै प्याज उत्पादन हुने उनको भनाइ छ । ‘जबकि, मुलुकको माग वार्षिक ४ लाख १ हजार मेट्रिक टन छ,’ उनले भने ।

वार्षिक २० लाख बेर्ना उत्पादन गरेर बजारमा पठाइरहेको तरकारी बाली विकास केन्द्रका बागवानी विकास अधिकृत डोलराज पाण्डेले बताए । भारतले प्याजको बिउ बिक्री गर्न नदिने, नेपालमा उन्नत बिउ उपलब्ध हुनु नसक्नु र बिउ भए पनि झन्झटपूर्ण उत्पादन प्रक्रियाका कारण किसानहरु प्याज खेतीमा आर्कषित नभएको उनको दाबी छ ।

नेपालमा बिउ उत्पादनका लागि निश्चित क्षेत्र मात्रै रहेको तर त्यसका लागि आवश्यक पूर्वाधारहरु नरहेको पनि केन्द्रले जनाएको छ । गहुँ र प्याज एकै समय उत्पादन हुने हुनाले किसानहरु प्याजमा भन्दा पनि गहुँमा आर्कषित भएको बाली संरक्षण अधिकृत जोशी बताउँछन् । मुलुकमा प्याजको बिउ पर्याप्त नभएको समेत केन्द्रले जनाएको छ ।

कहाँ हुन्छ प्याज खेती ?

राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार उच्च हिमालीबाहेक नेपालका सबै ठाउँमा प्याजखेती हुन्छ । घाम लाग्ने पारिलो ठाउँमा प्याजको खेती राम्रो हुने केन्द्रले जनाएको छ । प्याज १३ देखि २४ डिग्री सेन्टिग्रेड तापक्रममा राम्रो फस्टाउँछ ।

पानीको राम्रो निकास भएको, हलुका दोमट मलिलो माटोमा प्याज खेती गर्न उपयुक्त हुने केन्द्रको सुझाव छ । नेपालमा एक पाउदेखि आधा किलोसम्मका प्याजको गाना उत्पादन हुने तरकारी बाली विकास केन्द्रले जनाएको छ ।

नेपालमा प्याजका ७ जातका बीउहरू (नसिक ५३, रेड क्रियोल, सुपरेकस, टीआई १७२, कास, भेनस र विन्टर सिल्भर) बाट उत्पादन गर्न सकिन्छ ।

बीउ छरेर उमारेको बेर्नालाई सारेर र प्याजको साना दानाका सेट तयार गरेर प्याजको खेती गर्न सकिन्छ ।

नेपालको तराईमा असोजदेखि कात्तिक अन्तिम र पहाडमा कात्तिकदेखि पुसको दोस्रो सातासम्म प्याज रोप्ने सिजन हो । बीउ उमारेर प्याजको बेर्ना तयार हुन एक महिना लाग्छ ।

तरकारी बाली विकास केन्द्रका बागवानी अधिकृत डोलराज पाण्डेका अनुसार एक महिनापछि रोपेको बेर्नाबाट १६० देखि ६५ दिनमा प्याज फल्छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?