+
+
टी-२० विश्वकप छनोट :

कुशल र अविनाश चम्किएको दिन

नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ उत्कृष्ट प्रदर्शन गर्दे स्वभाविक जित निकाल्यो र यो जितसँगै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक १४ गते २१:२३

१४ कात्तिक, काठमाडौं । मलेसियालाई दोस्रो खेलमा ६ विकेटले पराजित गरेपछि नेपालले एक खेल अघि नै आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

बलिङमा अविनाश बोहरा र ब्याटिङमा दुई कुशल (मल्ल र भुर्तेल)ले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले छनोटमा अर्को सहज जित निकाल्दै आफ्नो लय कायम राखेको छ । यसअघि नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।

नेपालले मलेसियालाई पराजित गरेपछि घरेलु टोलीसँगै दुई खेल जितेको ओमान पनि सेमिफाइनल पुगिसकेको छ । अब बिहीबार ओमान र नेपालबीचको खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ ।

८ टिम सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् र सेमिफाइनल जित्ने दुई टिम अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

मंगलबार पहिलो खेलमा ओमानले सिंगापुरलाई पराजित गरेपछि मंगलबारको दोस्रो खेलमा मलेसियालाई हराएमा नेपाल सेमिफाइनल पुग्ने समिकरण थियो । त्यही अनुसार नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ उत्कृष्ट प्रदर्शन गर्दे स्वभाविक जित पनि निकाल्यो ।

यो जितले सेमिफाइनलमा स्थान पक्का हुँदा नेपालले केही सहज भएको छ । ‘लगातार दुई खेल जित्दै सेमिफाइनल पुग्नु राम्रो हो । आज फरक किसिमको स्कोर र चुनौती थियो । तर नेपालले राम्रो खेल्यो,’ अनलाइनखबरको लाइभ कमेन्ट्रीमा एक्सपर्ट गेष्टको रुपमा रहेका शरद भेषावकरले भने, ‘लगातार दुई जितले सेमिफाइनल पुग्दा ओमानसँगको खेलमा धेरै दबाब हुँदैन ।’

बलिङमा अविनाशको प्रभाव

मलेसियाले त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थियो । त्यसलाई ओपनरद्वय शैयद अजिज र अहमद जुबैदी जुल्किफ्लेले राम्रो सुरुवात गर्दै केही हदसम्म कप्तानको निर्णयलाई न्याए गरेका थिए । सुरुको पाँच ओभरमै मलेसियाले विना क्षति ४९ रन बनाउँदै उत्कृष्ट सुरुवात गर्‍यो ।

त्यसपछि कप्तान रोहितकुमार पौडेलले अविनाश बोहरालाई बल थमाए र अविनाशले पावर प्लेमै विकेट निकालेर साझेदारी तोडे । डेथ ओभरमा बलिङ गर्ने अविनाशले आवश्यक परेका बेला जहाँ पनि विकेट लिएका छन् । मलेसिया विरुद्ध उनले पावर प्लेमै जुबैदीको विकेट लिएर नेपाललाई सफलता दिलाएका थिए ।

त्यसपछि उनले डेथ ओभरमा आफ्नो प्रभाव अनुसार बलिङ गर्दै थप ३ विकेट लिए । जसले गर्दा मलेसियाले ९ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो ।

एक समय मलेसिया ठूलो स्कोर बनाउनेतर्फ अघि बढिरहेको थियो । तर अविनाशपछि मिडल ओभरमा सन्दीप लामिछाने, गुल्सन झा र कप्तान रोहित पौडेल स्वंयमले विकेट लिँदा मलेसिया १५ रन जति कममा समेटिएको भेषावकर बताउँछन् ।

मलेसियाको सुरुवात हेर्दा १८० रन बन्छ जस्तो देखिन्थ्यो । तर सुरुमा अविनाशले नै पार्टनसरसिप ब्रेक गरेपछि नेपालले मलेसियाको रन गति रोक्यो,’ उनले भने, ‘त्यसपछि बीचको ओभरमा गुल्सनले ओपनर अजिजको विकेट लिनु, सन्दीपले विरन्दीपको विकेट लिनु नेपालको लागि महत्वपूर्ण भयो ।’

अविनाशले नै १८औं ओभरमा १ र अन्तिम ओभरमा २ विकेट लिएका थिए ।  डेथ ओभरमा विकेट लिँदै अविनाशले आफ्नो भूमिकालाई प्रमाणित गरेको भन्दै भेषावकरले भने, ‘जसले गर्दा मलेसियाले स्कोर केही कम भयो । यस्तै नेपालको दुई रनआउट पनि महत्वपूर्ण रह्यो ।’

५ ओभरको खेल सकिँदा मलसियाले बिना क्षति ५४ रन बनाएको थियो । ‘पावर प्लेमा उनीहरुले राम्रो ब्याटिङ गरे । तर बीचमा गुल्सन, स्यान्डीले राम्रो बलिङ गरे अनि अविनाशले डेथमा राम्रो गरे । बलिङमा हामीले राम्रो गर्‍यौँ,’ खेलपछि कप्तान रोहितले पोष्ट म्याच कन्फ्रेन्समा भने, ‘फिल्डिङमा राम्रो हुँदैछ । सुधार भइरहेको छ ।’

मलेसियाका लागि ओपनर अजिजले सर्वाधिक सर्वाधिक ६८ रन बनाए । उनले ४९ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । जुबैदीले २४ र शर्भिन मुनिएन्डीले १३ रन बनाए । विजय उन्नी १३ रनमा अविजित रहे ।

नेपालका लागि अविनाशले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । सन्दीप, गुल्सन र रोहितले समान एक विकेट लिए ।

 कुशल मल्लको शानदार ब्याटिङ

पहिलो खेलमा सिंगापुर विरुद्ध चौथो नम्बरमा आएर एक बल मात्र खेलेका कुशल मल्लले शनिबार वान डानउमै आएर सानदार ब्याटिङ गरे ।

उनकै अर्धशतक मदतमा नेपालले १६६ रनको लक्ष्य १८ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सुरुमा ओपनर कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै आधार तय गरेका थिए, त्यसमा कुशल मल्लले हेर्नलायक ब्याटिङ गर्दै नेपाललाई जितसम्म पुर्‍याए । ओपर द्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

ठूलो सट खेल्ने क्रममा भुर्तेल छैटौं ओभरको दोस्रो बलमा आउट भए । उनले २५ बल खेल्दै ४ चौका र ४ छक्का मदतमा ४३ रन बनाएर आफ्नो काम पूरा गरे ।

त्यसपछि आएका कुशल मल्लले ३४ बल खेल्दै ७ चौका र २ छक्का मदतमा सर्वाधिक ६५ रन जोडे । नेपाललाई जितका लागि ९ रन आवश्यक हुँदा उनी १७औं ओभरको पाँचौ मोहमद अमिरबाट कट एण्ड बोल्ड भए ।

‘चान्स आएको थियो माथि ब्याटिङ गर्ने, फिनिस गर्नुपर्ने, फिनिस गर्न सकिएन अरु राम्रै भयो,’  छक्का हान्न खोज्दा आउट भएका कुशलले खेलपछि पत्रकारसँग भने, ‘सानो एण्डबाट लेफ्ट आर्म स्पीनरले बलिङ गरेको थियो र त्यसैमा मैले टार्गेट गरेको हो ।’

२०१४ मा नेपालले टी-२० विश्वकप खेलेको हेरेर नै हुर्केको भन्दै कुशल मल्लले फेरि विश्वकपमा पुग्नु आफ्नो लागि महत्वपूर्ण हुने बताए ।

कुशल मल्लको खेलको नेचर नै रन हान्ने र आज उनको प्रदर्शन स्वभाविक रहेको शरदले बताए । ‘कुशलको नेचर नै त्यस्तै हो । आज मलेसियाको टिममा लेफ्ट आर्म स्पीनरहरु धेरै थियो । लेफ्टी उनले त्यसमा मज्जाले रन हाने,’ शरदले भने, ‘उ गड गिफ्टेड प्लेअर नै हो । उ जस्तो छक्का हान्ने प्लेअर नेपालमा छैन ।’

मल्लले त्यसअघि दोस्रो विकेटका लागि आसिफ शेखसँग ६७ रनको साझेदारी गरेका थिए । आसिफले २३ बलमा १ चौका र २ छक्का प्रहार गरी ३२ रन योगदान गरे । ठूलो स्कोर बनाउन नसकेपनि आसिफले राम्रो साथ दिएका थिए ।

ब्याटिङ युनिटको रुपमा नेपालले राम्रो गरिरहेको भन्दै कप्तान रोहितले पनि मल्लको प्रशंसा गरे । ‘ब्याटिङ युनिट हामिले राम्रो गरिराछौँ । ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखले राम्रो गरिराछन् । जसरी कुशल मल्लले ब्याटिङ गरिराछन् । त्यो अद्भुत छ ।’

अघिल्लो खेलमा अन्तिमसम्म नटआउट रहेका कप्तान रोहित आफै भने आज ८ बलमा २ रन बनाएर आउट भए ।

दीपेन्द्र सिंह ऐरी चोटका कारण टिममा नहुँदा सन्दिप जोरा र विवेक यादवले गेम फिनिस गरे ।

जोराले १६ बल खेल्दै २ चौका मदतमा अविजित १८ रन जोडे । पहिलो पटक ब्याटिङको मौका पाएका विवेक २ बलमा २ रन बनाएर अविजित रहे । मलेसियाका मोहमद अमिरले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।

सन्दीप लामिछानेले खेलपछि पत्रकारसँगको कुराकानीमा नेपालको ब्याटिङ अहिले लयमा रहेको बताए ।

‘सबै खेलाडी राम्रो लयमा छन् । ब्याटिङमा सबैले राम्रो गरिरहेका छन् । एक जनाले प्रदर्शन नगरे पनि अरुले ब्याक अप गरिरहेका छन् । कुशलले राम्रो सुरुवात दिए । पछि  फिनिस राम्रो भयो,’ लामिछानेले भने, ‘हामी खेलमा कुनै समयमा पनि पछि थिएनौं ।’

दीपेन्द्रको अनुपस्थितीबारे सोध्दा सन्दीपले दीपेन्द्रले टी-२० मा एकरुपको प्रदर्शन गरिरहेको र विश्वकपमा छनोट भएर उसलाई त्यही गिफ्ट दिने लक्ष्य रहेको बताए ।

यस्तै सिंगल स्पीनरको रुपमा खेल्दा डिफेन्सिभ र अट्याकिङ दुवै वातावरणमा खेल्नुपर्ने उनले बताए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?