+
+

पर्यटक आगमनमा रेकर्ड ब्रेक, एक महिनामै भित्रिए १ लाख १७ हजार

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १७:०५
फाइल तस्वीर

१५ कात्तिक, काठमाडौं । पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । यो रेकर्ड यस वर्ष तोडिएको हो ।

अक्टोबर महिनामा गैरआवासीय नेपालीको जमघट नेपालमा हुन्छ । उनीहरु समेत नेपाल आउँदा पर्यटकका रुपमा गणना हुन्छ । यो सम्मेलनको प्रभाव समेत यस महिनामा परेको देखिन्छ ।

व्यवसायीहरुका अनुसार भारत, बंगलादेश, चीन, श्रीलंकासहितका मुलुकबाट आउने सबैजसो पर्यटक नै भएपनि अमेरिका र युरोपबाट आएकाहरुमा गैरआवासीय नेपालीको समेत संख्या उल्लेख्य रहने गर्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए । यस महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्यांक छ । तेस्रो स्थानमा बेलायती छन् । यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् । चीनबाड ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।

१० महिनामा भित्रिए ८ लाख पर्यटक

सन् २०२३ को १० महिनाको अवधिमा ८ लाख पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरको बीचमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?