+
+

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बेलायती लगानीकर्तालाई आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १५:१४

१५ कात्तिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालको जलविद्युत् लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले उक्त कुरा बताएका हुन् ।

सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरुका बारेमा जानकारी दिंदै कार्कीले नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आव्हान गरे ।

ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत् परियोजनाहरुमा लगानीको ठूलो अवसर भएको बताए । भारत र चीनसँग विद्युत् विकास तथा खरिदका लागि भएका सम्झौताहरु एवम् जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै देवले यसका लागि यो क्षेत्रमा ठूलो पूँजीको आवश्यकता र अवसर रहेको बताएका थिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्राउन चाहेको बताएका थिए ।

नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशमासमेत विद्युत् निर्यात गर्ने तयारी गरेको बताउँदै उनले नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताएका थिए ।

सम्मेलनमा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका प्रवन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा आफूले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको बताएका थिए ।

यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्ड (दुई खर्ब ४२ अर्ब रपैयाँ) सम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको बताएका थिए ।

नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्दी भएको १०० वर्ष पूरा भएको अवसरमा आयोजित उक्त सममेलनमा इप्पानका अध्यक्ष कार्की सहित उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी भएका थिए । त्यस्तै ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय र विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी र बुद्धिजीवीहरुको समेत सम्मेलनमा सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?