+
+

भ्वाइस अफ नेपालमा ‘ब्लकबस्टर’ ब्याटल, कोचदेखि दर्शकसमेत भावविह्वल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १४:११

काठमाडौं । त्यहाँ के मात्र थिएन, जीवन्त फिल्ममा हुनुपर्ने सबथोक । पात्र, घटना, द्वन्द्व, सस्पेन्स, संवेदना, तनाव र क्लाइमेक्स । शुक्रबार प्रसारित भ्वाइस अफ नेपालको ब्याटल राउण्डको पहिलो एपिसोडमा यी सबै तत्व थिए ।

दुई घण्टा लामो फिल्मले भन्न नसकेको कथा ‘भ्वाइस अफ नेपाल’को १५ मिनेटको ब्याटलले भनिदिएको थियो । टेलिभिजन रियालिटी शोको सौन्दर्य नै यही हो । गायक बन्ने सपना बोकेर भ्वाइसको स्टेजमा उभिएका प्रशान्त शिवाकोटी र रोजिना बस्नेतले ब्याटलमा कोचदेखि होस्ट र दर्शकको आँखामा आँसु बगाइदिए ।

उनीहरुको प्रस्तुतिमा मिसिएको यो गायन सामर्थ्यले कोच र दर्शकलाई ‘नोस्टाल्जिक’ बनाइदियो । तुलसी घिमिरे निर्देशित फिल्म ‘लाहुरे’मा समावेश कालजयी गीत ‘पहाडको माथि माथि घुम्दै उडेर’मा यी दुईले ब्लकबस्टर प्रस्तुति दिए ।

उनीहरुको प्रस्तुति हेर्दा दर्शकले नारायणगोपाल र आशा भोस्लेलाई सम्झिए । प्रशान्त र रोजिनाको यो ब्याटलमा कोच उदय र प्रमोद खरेलले ‘स्ट्यान्डिङ ओभेसन’ दिए ।

कोच उदयले ब्याटलमा रोजिनालाई रोजेपछि स्टेजबाट बाहिरिन लागेका प्रशान्तलाई कोच प्रमोदले ‘स्टिल’ गरिदिए । भ्वाइस स्टेजमा यो दुर्लभ दृश्य हो । संवेदना छचल्किएको दृश्यमा उदयदेखि होस्ट सुशील नेपालले समेत आफूलाई सम्हाल्न सकेनन् । आफ्नो समूहका प्रतिस्पर्धीलाई स्टिल गरिदिएपछि उदयले प्रमोदलाई अँगालो हाले ।

प्रमोदले स्टिल गरेपछि जोगिएका प्रशान्तले आफ्नो पुनर्जन्म भएको बताए । ‘पुनर्जन्म भएको छ मेरो भ्वाइसमा । जानुअघि धेरै कुरा सोचिरहेको थिएँ । इमान्दार भएर भन्दा म फ्युचर प्लान गर्दै थिएँ स्टेजमा बोल्दाबोल्दै । अहिले चाहिं म रित्तो भएको छु । बेलाबेलामा झसंग भएको छु । फर्किएर गइसकेको मान्छे, फेरि आउन पाएँ । यो जिन्दगीको सबैभन्दा खुसीको पल हो,’ प्रशान्तले हर्षका आँसु झार्दै भने ।

लगत्तै प्रमोदले आफ्नो मनसाय खुलाए, ‘प्रस्तुति र उदयको कोचिङ हेरेर जसलाई पनि स्टिल गर्थें । दुवै आउट हुनुहुँदैन भन्ने थियो ।’

प्रस्तुतिमा कुन कोचले के भने ?

तपाईंले भ्वाइस अफ नेपालको युट्युब च्यानल वा हिमालय टिभीमा अहिले पनि त्यो प्रस्तुति हेर्न सक्नुहुन्छ । रञ्जित गजमेरको संगीत रहेको उक्त बहुचर्चित गीतको प्रस्तुतिपछि चारै कोचले रोजिना र प्रशान्तमाथि प्रशंसाका शब्द खनाए ।

कोच उदयले ट्यालेन्टको प्रशंसा गर्दै भने, ‘रोजिना मन र मुटुबाट गाउँछिन् । मलाई प्रशान्तको आवाज, हाइट र स्टाइल मन पर्छ ।’

उदयले यो प्रस्तुतिलाई ‘पर्फेक्ट ब्याटल’को संज्ञा दिए । ‘प्रशान्त प्राक्टिसमा नर्भस तर आज प्रशान्तले राम्रो पर्फमेन्स गर्‍यो । मिठासमा रोजिनाले राम्रो उठाइन् । मैले शान्त भएर सुनें । सबै गीतमा नाच्नुपर्छ भन्ने छैन । कतिपय गीतमा शान्त भएर सुन्न सकिन्छ । आवाजले मलाई लठ्ठ्यायो । ब्याटलको पर्फेक्ट ब्याटल मेरा लागि यो हो,’ उदयले भने ।

कोच राजेशपायल राईले आफूले उक्त प्रस्तुतिमा नारायणगोपाल र आशा भोस्लेको जस्तै सहकार्य महसुस भएको बताए । ‘मीठो कम्बिनेसन । आशा दिदीले उत्तिकै जोडले गाउनुभएको छ । नारायण दाइको कुरै नगरौं । नारायण र आशा दिदीको कम्बिनेसनजस्तै लाग्यो । कतिपय ठाउँमा श्रद्धेय नारायण दाइले नगर्नुभएको तपाईंले गर्नुभयो । कतिपयमा आशा दिदीले नगरेको तपाईंले गर्नुभयो ।’

कोच प्रमोद खरेलले उक्त प्रस्तुतिलाई उच्च स्तरीय गायन कला भन्दै प्रशंसा गरे । ‘मलाई मज्जा आयो । ब्युटीफुल । महाराथीले कम्पोज गरेको गीत हो यो । स्टेजमा तपाईं दुवैको कम्बिनेसन र हाइ क्लास गायन कला देखियो । एक-दुई महिनापछि रेकर्डिङ स्टुडियोमा तपाईंहरुको ठूलो डिमान्ड हुन्छ । मजा आयो । सेकेन्ड अन्तरामा मलाई गुजबम्प आयो,’ प्रमोदले भने ।

कोच मिलनले पनि सुमधुर ब्याटल भन्दै प्रशंसा गरिन् । ‘प्रशान्तको टोन टेक्स्चर मीठो । कम्बिनेसन दुवैको राम्रो थियो,’ मिलनले भनिन् । पछिल्लो सप्ताहन्तदेखि भ्वाइस अफ नेपालको सिजन ५ मा ब्याटल राउण्ड सुरु भएको छ । यो रियालिटी शो हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?