+
+

वन समूहको सहयोगमा गाउँमा पुग्यो बिजुली

रासस रासस
२०८० कात्तिक १९ गते १५:०८

१९ कात्तिक, कटारी । उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ ।

नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युत्को मुख्य प्रशारण लाईनबाट तामाङको घरमा बिजुली जडान भएको हो । तामाङको घरमा बिजुली बाल्नका लागि तामाङनै उपभोक्ता सदस्य भएको सरस्वती सामुदायिक वन उपभोक्ता समूह कटारीले व्यवस्था मिलाएको हो ।

‘समूहले तार र मिटरबक्स जडान गरिदिएको हो’, तामाङले भने, ‘समूहको सहयोग पाएपछि घरमा बिजुली बल्यो ।’ उनीलगायत गाउँको एक सय घरमा समूहको सहयोगमा बिजुली बलेको छ । समूहको सहयोगले बत्ती बाल्न पाउँदा राहत मिलेको अर्का स्थानीयवासी रामलाल तामाङकाले बताए ।

गाउँमा बत्ती बाल्न समूहले प्रशारण लाइनसम्म जोड्ने तार र मिटरबक्स खरिद गरी सहयोग गरेको समूहका सचिव कर्णबहादुर तामाङले बताए । ‘समूहले भेलाबाट निर्णय गराएर गाउँमा बिजुली बाल्दै आएका छौँ’, उनले भने ।

समूहका अध्यक्ष खड्गबहादुर तामाङका अनुसार हालसम्म गाउँमा बिजुली बाल्न समूहले रु आठ लाखभन्दा बढी खर्च गरिसकेको छ । गाउँमा सबै उपभाक्ताको घर उज्यालो पार्न समूहले बिजुली जडानको काम गरिरहेको छ ।

आमभेलाको निर्णयसँगै डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)को सिफारिसमा समूहले गाउँमा बिजुली बाल्ने कार्यक्रममा सहयोग गर्दै आएको अध्यक्ष तामाङले बताए ।

कटारी नगरपालिकाको उत्तरपूर्वी वडाको पहाडी भेगमा रहेको उक्त गाउँमा बिजुली नपुग्दा स्थानीयवासीले सोलार र टुकी बाल्दै आएका थिए । बिजुली पुगेसँगै वन समूहले बत्ती बाल्नका लागि कार्यक्रम निर्माण गरी सहयोग गरेको हो ।

गाउँमा बिजुली जडान भएपछि तिहारसँगै घरघरमा झिलिमिली बत्ती बालिएपछि अहिले गाउँ नै .उज्यालो भएको स्थानीय सोमबहादुर तामाङले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?