+
+
स्थलगत : रुकुम पश्चिम :

बुहारी र तीन नाति-नातिना गुमाएकी सरस्वती : छोराे फर्किएपछि के जवाफ दिनू ?

आभास बुढाथोकी आर्यन धिमाल आभास बुढाथोकी, आर्यन धिमाल
२०८० कात्तिक १९ गते १५:४४

१९ कात्तिक, रुकुमपश्चिम । शुक्रबार बेलुकी खाना खाएर रुकुम आठबिसकोट नगरपालिका –१४ छेपारेकी ६० वर्षकी सरस्वती जैसी विस्तारामा गइन् । साथमा थिइन्, ६ वर्षकी नातिनी भगवती जैसी । घरको पल्लो कोठामा ३० वर्षकी बुहारी अमृता जैसीसँग एक नातिनी र एक नाति थिए ।

राति ११: ४७ मा बसेको घर एकाएक हल्लियो । ठूलो गर्जनसहित भित्ताहरु भत्किन थाले । ‘निदाएकै बेला घरको भित्ता हामी माथि खस्यो’ उनले भनिन्, ‘सबै चिज एकाएक भयो, हेर्दाहेर्दै म र नातिमाथि भित्ता खसेर बजारियो ।’

सुरुमा त के भएको हो सरस्वतीले भेउ पाउनै सकिनन् । जब सम्हालिइन्, घर पुरै भत्किसकेको थियो । आफूसँगै निदाएकी नातिनी घरको भित्ताले पुरिएकी थिइन् । ‘मेरो टाउको बाहेक सबै शरीर माटोले पुरिएको थियो’ उनले भनिन्, ‘चिच्याएर रुने बाहेक केही गर्न सकिनँ ।’

भूकम्प गएको आधा घण्टापछि उनी चिच्याएको सुनेर छिमेकीका दुई जना आएर उद्धार गरे ।

आफ्नो उद्धार भएलगतै उनी बुहारी र नाति-नातिनीको खोजीमा लागिन् । ‘जिउँदै छे कि भनेर ढुंगा माटो पन्छाएर हेरेँ’ उनले भनिन्, ‘तर उनीहरुले सास छोडिसकेका रहेछन् ।’

आफैंसँग सुतेकी नातिनीको लास देखेपछि चाहिँ उनलाई आफू पनि मरे झैं लाग्यो । ‘सबै कुरा यति छिटो भयो कि सँगै सुतेकी नातिनीलाई पनि बचाउन सकिन’ उनी भत्किएको घर हेर्दै टोलाई रहन्छिन् ।

बुहारी र नाति-नातिनी त बिते । उनीहरुको काजकिरिया गरिदिने पनि कोही भएनन् । दुईवटै छोरा भारतमै भएकाले दाहसंस्कार गर्न समस्या छ । भूकम्पमा मृत्यु भएकाहरु सरस्वतीको जेठो छोराको परिवार हो ।

शवको पोष्टमार्टमपछि उनका साइला जेठाजु दाहसंस्कारका लागि तयार भए । प्रितु जैशीले नै शनिबार बेलुकी गाउँ छेउमा बग्ने भेरी नदीमा चार जनालाई दागबत्ती दिए । अहिले सरस्वती गाउँकै नवज्योति आधारभूत विद्यालयमा किरिया बसिरहेकी छन् । भन्छिन्, ‘जे हुनु भइगयो, संस्कार त पूरा गर्नु पर्‍यो नि !’

भारतमा भएका छोराहरु फर्किँदैछन् । ‘उसले आफ्नो जहान र छोराछोरी बितेको खबर पाएको छ’ उनले अनलाइनखबरसँग आफ्नो पीडा पोखिन्, ‘बाटोमा छ रे, आउँदै होला ।’

उनलाई चिन्ता छ, ‘छोराे फर्किएपछि के पो जवाफ दिने होला ?’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?