+
+

प्रदेश सचिवसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १७:५१

१९ कात्तिक, काठमाडौं । कृषि उपकरण खरिद र वितरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारी सहित चार जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

अख्तियारले लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, मन्त्रालयको महाशाखा प्रमुख तथा कृषि उपसचिव श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसारका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुमाथि एक करोड ३१ लाख रुपैयाँ विगो माग दाबी गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा कृषि यान्त्रिकीकरण कार्यक्रम सञ्चालनका क्रममा भ्रष्टाचार भएको अख्तियारको दावी छ ।

कृषि उपकरण बाड्ने भनेको कृषि किसान संसार प्रालि भरतपुरले भारतबाट उपकरण ल्याउने भनेर रकम लिएको तर स्पेसिफिकेसन र सम्झौता विपरितका कम गुणस्तरका सामान बाँडेर भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

अख्तियारले प्रदेश सचिव अधिकारीमाथि कागजात अध्ययन र स्थलगत अनुगमन नगरी रकम भुक्तानीको टिप्पणी सदर गरेको आरोप छ । महाशाखा प्रमुख ज्ञवालीमाथि सम्झौता अनुसारको सामान बाडिए नबाडिएकोवारे कागजात परिक्षण नगरेको आरोप छ । उनले भुक्तानीका लागि टिप्पणी सिफारिस गरेको अख्तियारको दावी छ ।

कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीमाथि सम्झौता अनुसार सामान खरिद भएनभएको, अनि आपूर्ति भएका सामानको गुणस्तर परिक्षण नगरेको आरोप छ ।

उनीमाथि आपूर्तिकर्ताले पेश गरेको कागजात हुबहु भुक्तानीका लागि पेश गरेको आरोप छ । अख्तियारले आपूर्तिकर्ता कम्पनीका प्रबन्ध निर्देशक राजाराम तिवारीलाई समेत मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?