+
+
स्थलगत :

प्रियजनको सामूहिक बिदाइ

भगवतीको घरमा मानिस पुरिएको सुनेपछि सबै उद्धारमा जुटेका थिए । ५ जनालाई बचाउन सकिएन । एकै घरमा पाँच जनाको मृत्यु भएपछि सिंगो गाउँ शोकमा छ ।

गौरव पोखरेल चन्द्रबहादुर आले गौरव पोखरेल, चन्द्रबहादुर आले
२०८० कात्तिक १९ गते १९:४१

१९ कात्तिक, नलगाड (जाजरकोट) । भूकम्पले भत्किएको घरको एउटा छेउ मात्र ठिङ्ग उभिएको छ, अरु भग्नावशेषमा परिणत भएका छन् । आँगनमा परालमाथि राखिएका तीन वटा शवलाई सेतो कपडाले छोपिएको छ ।

भगवती परियार ‘सबै गुमाएँ, म किन बाँचेकी हुँला’ भन्दै बिलौना गरिरहेकी छन् । आफन्त र छिरछिमेकका महिलाहरुले उनलाई सान्त्वना दिइरहेका छन्, तर भूकम्पमा दुई छोरी र नाति गुमाएकी उनी बलिद्रधारा आँसु झारिरहेकी छन् ।

भगवतीकी गर्भवती बुहारी सपनाको अवस्था पनि त्यही छ । छोरा समीर र ज्वाइँ दीपकको अवस्था फरक छैन ।

शुक्रबार राति आएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटस्थित नलगाड नगरपालिका–७, चामाखेतस्थित भगवतीको घर भत्किंदा ५ जनाको मृत्यु भयो ।


भूकम्प आएको बेला घरमा ८ जना थिए । तीनतले घरको माथिल्लो तलामा छोरी सविता परियार (३८), विष्णु परियार (१५) र सन्दीप सुनार (सविताका १८ महिने छोरा) सुतेका थिए । पहिलो तलामा छोरा समीर र बुहारी विपना सुते । छिमेकी २८ वर्षीया विन्दु लामा पनि शुक्रबार राति आफ्नो ९ वर्षीया छोरी विपना लामासहित शुक्रबार राति यही घरमा बसेकी थिइन् ।

गहिरो निन्द्रामा रहेका समीर हुत्तिएर आँगन छेउ पुगेपछि ब्यूँझिए । ‘ढुंगा माटोले पूरै पुरिएको थिएँ’ समीरले भने, ‘पुरै शून्य भएको थिएँ, के भयो भन्ने थाहै पाइनँ ।’

छेउमा श्रीमती लडिरहेको देखे, जसलाई डाक्टरले एक महिनापछि सुत्केरी हुने मिति ताेकेका थिए । ‘घरतिर हेर्दा सबै गर्ल्यामगुर्लुम ढलिसकेको थियो’ उनले थपे, ‘मास्तिरका दाइहरु दगुर्दै आइरहेको देखें, अनि पो घरमा भएका अरु कता होलान् भन्ने सम्झिएँ ।’


छिमेकी लोकेन्द्र केसीका अनुसार, ढुंगा र माटोको घर भूकम्पको पहिलो झट्कामै भत्किएको थियो । ‘तलपट्टि एक जना ऐया… ऐया…भन्दै कराइरहेकी थिइन्, आवाज सुनेर खोतल्न थाल्यौं’ केसीले भने, ‘नजिकै जेसीबी थियो, दलबहादुर रोकायाले लिएर आउनुभयो, अनि अगाडिपट्टिको ढुंगामाटो पन्छाएर निकाल्यौं ।’

छरछिमेकले उद्धार गरेर सबैलाई नलगाड अस्पताल पुर्याए । भगवती प्राथमिक उपचारपछि फर्किइन् । तर पाँच जनाको मृत्यु भइसकेको थियो ।

उनीहरुको शव ल्याएर शनिबार घर अगाडि त्रिपाल टाँगेर राखिएको थियो । छिमेकी दुई जनाको शनिबार नै अन्त्येष्टि गरियो, भगवतीको परिवारका ३ जनाको भने आइतबार मात्र भयो ।

चामाखेतमा भूकम्पमा परेर सविताको मृत्यु हुँदा उनका श्रीमान् दीपक सुनार भने डोल्पामा थिए । ‘गाउँमा काम हुँदैन । यहाँ कि त इण्डियातिर जाने हो कि मजदुरी नै हो’ गाडी चलाउने दीपकले भने, ‘प्रायः बाहिरै हुन्छु । शुक्रबार पनि डोल्पामा थिएँ ।’

छिमेकीले फोन गरेर भूकम्पले घर भत्किएको सुनाएपछि उनी चामाखेतस्थित ससुराली घरतिर हान्निए । ४ घण्टामा ससुराली घर आएका उनले श्रीमती र दुवै छोरा जीवित नभएको थाहा पाए ।


दीपकको घर कालीकोटको रामकोट नगरपालिका–४ मा पर्छ । कामको सिलसिलामा बाहिर भइरहने हुँदा श्रीमती र बालबच्चा माइतीमा बस्थे । उनी पनि प्रायः ससुरालीतिरै बस्थे । भत्किएको घरतिर हेर्दै टोलाइरहेका उनले अनलाइनखबरसँग भने, ‘बिहे भएको तीन वर्ष भएको थियो, प्रायः बाहिरै भएँ…. ।’

चामाखेतमा जम्मा ४५ घर छन् । स्थानीय राजनीतिकर्मी समेत रहेका केशवप्रसाद शर्माका अनुसार अधिकांश घर बस्नलायक छैनन् । अरु परिवारमा मानवीय क्षति छैन । भगवतीको घरमा मानिस पुरिएको सुनेपछि सबै उद्धारमा जुटेका थिए ।

५ जनालाई बचाउन सकिएन । एकै घरमा पाँच जनाको मृत्यु भएपछि सिंगो गाउँ शोकमा छ ।

भूकम्पले नराम्ररी प्रभावित भएको जाजरकोट र रुकुमपश्चिमका अधिकांश गाउँको अवस्था यही छ । गाउँलेले अधिकांशको सामूहिक अन्त्येष्टि गरेका छन् ।

शुक्रबारको भूकम्पले जाजरकोटमा १०५ र रुकुमपश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार भूकम्पमा परी २४६ जना घाइते भएका थिए, उनीहरुमध्ये १४६ जना प्राथमिक उपचारपछि घर फर्किएका छन्, ११० जना घाइते विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

भूकम्पले ९१० घरमा पूर्ण क्षति भएको छ भने २ हजार ८६१ घरमा आंशिक क्षति पुगेको छ । प्रारम्भिक उद्धार सकिएकाले भूकम्प पीडितहरुलाई त्रिपाल, ब्ल्यांकेट, स्लिपिङ ब्याग वितरण गर्न थालिएको गृह मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?