+
+
स्थलगत जाजरकोट :

भूकम्पले तहसनहस बनाएको चिउरी गाउँको दर्दनाक दृश्य

शवकै थुप्रोको अर्को छेउमा भक्कानिएर रुँदै थिइन्, पिरमकली विक (८) । भूकम्पमा उनका बाबुआमा र दुई जना दाइहरुको मृत्यु भयो । काकाको काखमा बसेर रोइरहेकी पिरमकलीले गुमाउन बाँकी केही रहेन ।

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक १९ गते २१:२१

१९ कात्तिक, नलगाड (जाजरकोट) । घर अगाडि बारीमा शवको थुप्रो छ । त्यही थुप्रोको एउटा कुनामा टोलाइरहेकी थिइन्, कमला विक (४२) । कमला एक्कासी त्यहाँबाट जुरुक्क उठिन्, दौडिंदै भत्किएकोे घरमा पुगिन् ।

‘हे प्रभु तैंले मेरो मुटुको टुक्रालाई किन लगिस् ? मैले अस्ति मात्रै नयाँ कपडा किनेर ल्याइदिएकी थिएँ । मेरो नातिलाई त्यही कपडा लाएर पठाउँछु’, विलौना गर्दै उनी कपडा निकाल्न भत्किएको घर उधिन्न थालिन् । तर कपडा भेटिएन ।

शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी छोरा, बुहारी र सानो नाति गुमाएकी उनी आइतबार आफ्ना प्रिय मान्छेहरुको अन्तिम बिदाइमा थिइन् । बिदाइ गर्नु अगाडि उनी आफ्नो नातिलाई नयाँ कपडा लगाएर पठाउन चाहन्थिन् । ‘अब बई (बज्यै) भन्दै मेरो नाति कहिल्यै आउँदैन’ कमलाले विलौना गरिन्, ‘मैले तेरो के बिगारेको थिएँ र दैव, तैंले मेरो सबथोक लुटिस् !’

शुक्रबार बेलुकी खाना खाएर जाजरकोट नलगाड नगरपालिका–१ चिउरीकी कमला विस्तारामा गइन् । उनीसँगै घरको पल्लो कोठामा सुत्न गएका थिए, छोरा भीमसेन विक (२४), बुहारी कमला विक (२२) र नाति सुवास विक (४) । राति ११ः ४७ मा बसेको घर एकाएक हल्लियो । ठूलो गर्जनसहित भित्ताहरु भत्किन थाले ।

‘हामी बुढाबुढी हत्तपत्त बाहिर निक्ल्यौं । हामी बाहिर नआउँदै घरको भित्ता एक्कासी गर्ल्याम्म खस्यो’ उनले भनिन्, ‘हेर्दाहेर्दै छोरा, बुहारी र नाति पुरिए । मेरो त होश नै गएछ ।’

उनी होशमा आउँदा पूरै घर भत्किसकेको थियो । आफूसँगै सुत्न गएका छोरा, बुहारी र नातिको शरीर सेतो कपडाले ढाकिएको थियो । आफैंसँगै सुत्न गएका छोरा, बुहारी र नातिको लास देखेपछि उनलाई सबथोक गुमे झैं लाग्यो ।

‘त्यो स्यानु नाबालक लिनु भन्दा मुइन लग्या हुन्या नि भगवान । त्यो निर्दोष बच्चाको के दोष थियो र ?’ फेरि उनले भगवानलाई प्रश्न गर्दै विलौना गरिन् ।

शवकै थुप्रोको अर्को छेउमा भक्कानिएर रुँदै थिइन् सोही ठाउँकी पिरमकली विक (८) । उनको अगाडि ४ वटा शव थिए । आफ्नो काकाको काखमा बसेर रोइरहेकी पिरमकलीले गुमाउन बाँकी केही थिएन ।

शुक्रबार मात्रै भारतबाट घर आएका थिए बुवा हिरे कामी (५५) । लामो समयपछि बुवा भारतबाट आएकाले उनको घरमा खुसियाली छाएको थियो । खाना आएर सुत्न गएका उनका बुवा, आमा र दुई जना दाइहरु फेरि कहिल्यै उठ्ने छैनन् ।

भूकम्पमा परी बुबा हिरे कामी, आमा चन्द्रा विक (४५), दाइहरु विमल (१४) र सुनिल (१२) को मृत्यु भयो । जेठी दिदीको बिहे भइसकेको छ । अब उनी एक्लो भएकी छन् । पिरमकली बस्ने घर भत्किएको छ । कहाँ बस्ने, के खाने कुनै टुङ्गो छैन ।

स्थानीय दलवीर विटालुकी श्रीमती र छोराको मृत्यु भएको छ । दलवीर भने परीक्षा दिन नेपालगञ्ज गएका थिए । गाउँकै धनबहादुर महरका ७ वर्षीय छोरा प्रवेश महरको पनि मृत्यु भएको छ । स्थानीय दत्त कुमाईंको पनि ज्यान गयो ।

छोरा बाहिर थिए । घरमा भएका श्रीमती र आमा घाइते छन् । दुवैको नेपालगञ्जमा उपचार भइरहेको छ ।

शुक्रबार गएको भूकम्पमा परी चिउरी गाउँका मात्र परी १३ जनाको मृत्यु भएको छ । उनीहरु सबैको भेरी नदीमा सामूहिक दाहसंस्कार गरिएको छ ।

उपमेयर सिंहको पनि अन्त्येष्टि

भूकम्पमा परी निधन भएकी नलगाड नगरपालिकाका उपमेयर सरिता सिंहको पनि आइतबार अन्त्येष्टि गरिएको छ ।

नलगाडका बासिन्दा उपमेयर सिंह सहितलाई अन्तिम श्रद्धाञ्जली दिन भेरी किनारमा जम्मा भएका थिए । भूकम्पमा परेर ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहितका नेताहरु पुगेका थिए ।

उपप्रधानमन्त्री खड्काले उपमेयर सिंहलाई राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरे । प्रियजनको अन्तिम बिदाइमा त्रिवेणी पुगेकाहरूको आँखा भिजेका थिए । भूकम्पले उपमेयरसहित नलगाडका ५५ जनाको ज्यान गएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?