+
+

बक्स अफिस रिपोर्ट गलत दिने दक्षिण कोरियाका तीन ठूला मल्टिप्लेक्समा प्रहरीको छापा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १८:२५
दक्षिण कोरियाको सियोलस्थित एक मल्टिप्लेक्स

प्रहरी अनुसन्धान, घोस्ट स्क्रिनिङ र राजनीतिक षड्यन्त्र, दक्षिण कोरियाली फिल्मका विषयवस्तुमा यी तीन तत्व अनिवार्य समावेश हुन्छन् । तर राजधानी सियोल केन्द्रित कोरियाली फिल्म उद्योग वास्तविक जीवनमै यी तीन तत्वलाई लिएर आरोप खेपिरहेको छ ।

सियोल महानगरीय प्रहरी एजेन्सीको भ्रष्टाचार विरोधी इकाईले हालैका महिनामा तीन मल्टिप्लेक्स चेनहरू सीजीभी, मेगाबक्स र लोट्टे सिनेमासहित तीन वितरण कम्पनीमा छापा मारेको छ । पछिल्लो पाँच वर्षमा गैरकानुनी रुपमा ३२३ भन्दा बढी फिल्मका टिकट बिक्रीमा अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा चलाइएको छ ।

प्रहरीका अनुसार सन् २०२१ को फ्लप फिल्म ‘इमर्जेन्सी डिक्लरेसन’ र सन् २०२२ को क्राइम थ्रिलर ‘हट ब्लडेड’सहितका फिल्मबाट २.६७ मिलियन टिकट बिक्री गैरकानुनी रुपमा गरेको देखिन्छ ।

निर्देशक बोङ जुन–होले आफ्नो डार्क कमेडी ‘प्यारासाइट’को लागि सन् २०२० मा उत्कृष्ट फिल्मको लागि ओस्कार अवार्ड जित्दा दक्षिण कोरियाको फस्टाउँदै गएको फिल्म उद्योगले अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरेको छ । तर कोरियाली फिल्म बजार भने महामारीपछि संकटग्रस्त देखिन्छ ।

धेरै अन्य विकसित बजारभन्दा विपरीत दक्षिण कोरियामा फिल्मको सफलता टिकट बिक्रीको आधारमा मापन गरिन्छ । फिल्मले कति कमायो भन्ने कुरा त्यहाँ महत्वपूर्ण होइन । जसकारण फिल्मको टिकट वितरक र कर्पोरेट प्रायोजकलाई सस्तोमा बेचिन्छन् । साथै, दर्शकको संख्या बढी देखाउने र बक्स अफिस र्‍यांकलाई बलियो बनाउन बिहान वा अबेर राति गोप्य रुपमा शो (घोस्ट स्क्रिनिङ) गरिन्छ । न्यूनतम १० मिलियन टिकट बिक्रीलाई दक्षिण कोरियामा सफल फिल्म मानिन्छ ।

‘महामारीको समयमा हलमा टिकटको बिक्री घट्यो र सिनेमा चेनले प्रचारका नयाँ शैली अपनाउन थाले,’ वितरण कम्पनी इन्डी प्लगका प्रमुख समेत रहेका निर्देशक गोह यंग–जे भन्छन् ।

‘थिएटर र वितरकले फिल्मको ओपनिङ बढी भएको देखाउन धेरै टिकट जारी गर्छन् र किन्छन्, जुन फिल्मको प्रदर्शनको लागि महत्वपूर्ण हुन्छ । यो कुरा ओपन सेक्रेट हो,’ स्थानीय फिल्म निर्देशकले भने, ‘दर्शकलाई हलसम्म तान्नका लागि दशकौंदेखि गरिएको यो अभ्यास महामारीको समयमा खराब रह्यो ।’

त्यहाँका पूर्वन्यायमन्त्री चो कुकबारे बनेको डकुमेन्ट्री ‘रेड हेरिङ’कोबारेमा अनपेक्षित लोकप्रियता देखिएपछि प्रहरी अधिकारीले खोजबिन थालेका थिए । उक्त फिल्मको प्रदर्शनमा रिपोर्ट गरिएको भन्दा उपस्थित दर्शकको संख्या कम रहेको प्रहरीले जनाएको छ ।

तर ओ–दोङ जिन नामक एक फिल्म समीक्षकले प्रहरी अनुसन्धानलाई राजनीतिक रुपमा प्रेरित भएको बताएका छन् ।

संस्कृति मन्त्रालयले बक्स अफिसको पारदर्शितालाई सुधार गर्न र यथार्थ बक्स अफिस तथ्यांक संकलन गर्न राज्य सञ्चालित कोरियन फिल्म काउन्सिललाई निर्देशन दिएको छ । ‘बक्स अफिस धाँधलीको विवादले स्थानीय फिल्म उद्योगमा जनताको विश्वासलाई कम गरेको छ,’ संस्कृतिमन्त्री पार्क बो–ग्युनले गत महिना भने, ‘जनताको विश्वास पुनर्स्थापना गर्न फिल्म उद्योगले नयाँ उपाय अपनाउनुपर्छ ।’

कोरियन फिल्म काउन्सिलको अनुमान अनुसार समग्र टिकट बिक्रीको पाँच प्रतिशतभन्दा कम संख्यामा व्यावसायिक प्रदर्शनलाई मान्यता दिइन्छ । ‘कोरियाली फिल्म निर्माताहरु हलका दर्शकलाई छिट्टै आकर्षित गर्न धेरै हतार गर्छन् । जसले गर्दा उनीहरु भाइरल मार्केटिङको एक भागको रूपमा आफैंले टिकट किन्न र बाँड्ने दबाबमा हुन्छन्,’ कोरियाली फिल्म काउन्सिलका एक अधिकारीले भने, ‘यदि यस्तो होइन भने घाटाका लागि अन्य कुनै उपाय छैन ।’

समीक्षक ओले प्रहरी अनुसन्धानअघि नै बक्सअफिसको पारदर्शिता कायम राख्न र यथार्थ तथ्यांक सार्वजनिक गर्न भन्दै जनस्तरबाट व्यापक दबाब आएको बताउँछन् । ‘यो एक पुरानो जमानाको तरिका हो । अब कोरयाली फिल्म विश्वव्यापी भएकाले अब सोही मापदण्डअनुसार चल्नुपर्ने बेला आएको छ,’ उनले भने ।

सीजीभी र लोट्टे सिनेमाले प्रहरी अनुसन्धानलाई सघाउन र रातिका शो बन्द गर्न आफूहरु सहमत भएको बताएका छन् ।

फाइनान्सियल टाइम्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?