+
+

नरदेवीमा ‘महाजात्रा’को छायांकन, विपिन भन्छन्- दर्शकको आशालाई केन्द्रमा राखेका छौं

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १२:२३

काठमाडौं । ‘महाजात्रा’ छायांकन काठमाडौंका विभिन्न थलोमा भइरहेको छ । कात्तिक १५ देखि सुरु छायांकन बुढानीलकण्ठस्थित मह स्टुडियो र नरदेवीमा भइरहेको छ ।

जीवन समृद्ध तुल्याउने सपना र अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथावस्तुमा बन्न लागेको फिल्मको छायांकन बुधबार नरदेवीमा गरियो । ‘जात्रा’ शृंखलाले नरदेवीका भित्री गल्लीलाई सेटिङको रुपमा चित्रण गर्दै आएको छ ।

स्थानीयले चाखपूर्वक छायांकन हेरेको निर्माता म्याक्स दीपेश खत्रीले बताए । उक्त थलोबाट यताउता जाने सर्वसाधारण एकछिन रोकिन्थे । उनीहरुले फिल्म हेर्न आफूहरु उत्साहित रहेको समेत प्रतिक्रिया दिए ।

सुटिङ हेर्न पुगेका दर्शकले फिल्म कहिले रिलिज हुन्छ भनेर कलाकार र निर्देशकसामु चासो राख्थे । निर्देशक प्रदीप भट्टराईले योजना अनुसार नै छायांकन भइरहेको जानकारी दिए । ‘योजनाबद्ध रुपमा काम गरिरहेका छौं । युनिटका सम्पूर्ण सदस्यले मेहनतका साथ काम गरिरहनुभएको छ,’ उनले भने ।

‘महाजात्रा’ अघिल्लो फिल्म ‘जात्रा’का तेस्रो श्रृंखला हो । बुधबार आउटडोर खिचिएको फिल्मलाई बिहीबार मह स्टुडियोमा इन्डोर खिच्ने तयारी छ । विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत सुटिङको चटारोमा छन् ।

विपिनले छायांकनमा रमाइलो भइरहेको बताए । ‘हामी तेस्रोपटक काम गर्दैछौं । अधिकांशलाई के गर्ने र कसरी गर्ने भन्ने ज्ञान छ । यसपटक महाजात्रा छ, दर्शकको आशालाई केन्द्रमा राखेर काम गरिरहेका छौं,’ उनले भने ।

अभिनेता रविन्द्र झाले ‘मुन्ना’ अवतारलाई दर्शकअनुसार नै प्रस्तुत गर्ने बताए । उनले यो फिल्म आफ्नो लागि खास रहेको भन्दै काठमाडौंमा अधिकांश र तराईमा केही छायांकन हुने बताए । यो फिल्मबाट हरिवंश आचार्य पनि जोडिएका छन् । ‘जात्रा’मा गायक बनेका हरिवंश यसमा चाहिं अभिनेताकै रुपमा प्रस्तुत छन् ।

यो मल्स्टिारर फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय रहनेछ । यो फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले मिलेर बनाउँदैछन् । फिल्म आगामी चैत ९ गते रिलिज गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?