+
+

प्रधानमन्त्रीको गुनासो : पृथ्वीजयन्तीको बिदा ठीक, जनयुद्ध दिवसमा टीकाटिप्पणी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १७:४४

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको नाममा १ फागुनमा सार्वजनिक बिदा दिने निर्णयबाट पछि नहट्ने संकेत गरेका छन् ।

बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा भएको सशस्त्र युद्धलाई पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राज्य विस्तारपछिको ठूलो काम भनेका छन् ।

पृथ्वी जयन्तीमा पुस २७ गते कुनै प्रधानमन्त्रीले आँट नगरेका बेला आफूले नै सार्वजनिक बिदा दिएको भन्दै प्रचण्डले त्यसको भने विरोध नभएको बताए ।

‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ । … धेरै भए प्रधानमन्त्री शान्ति सम्झौतापछि । कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन् । मैले आँट गरें । यो आँट गरेकामा सबैले ठीकै माने, कसैले विरोध गरेनन् । तर मैले अर्को पनि गरें जनयुद्ध दिवस भनेर त्यसको चाहिं अहिले निकै ठूलो टीका टिप्पणी हुने गरेको छ’, उनले भने ।

नेकपा एमालेले फागुन १ गते नेपालमा हिंसा सुरु भएको भन्दै त्यस दिन बिदा दिनु उचित नहुने भन्दै विरोध गर्दै आएको छ । सत्ता साझेदार नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि जनयुद्ध दिवसको नाममा बिदा दिनु बेठीक भन्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने जनयुद्धलाई दबाउन सम्भव नहुने बताए । ‘हजारौं मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भने पनि फेरि उठ्छ त्यो’ उनले भने, ‘कार्ल मार्क्सले भन्नुभएको थियो, महान् उद्देश्यको निम्ति समर्पित भएर त्याग गर्ने शहीदहरु कहिल्यै मर्दैनन् । अहिले एकछिन दबाइएर चिहानमा पुरिए पनि चिहानबाट फेरि ती जाग्छन् ।’

प्रचण्डले जनयुद्धको आधिकारिक र प्रामाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै अहिले जनयुद्धलाई विद्रुपीकरण गरेर निरंकुशतालाई अगाडि ल्याउने जमर्को भइरहेको आरोप लगाए । ‘पृथ्वीनारायण शाहले राज्य एकीकरणको बेलामा गरेपछिको अर्को ठूलो जनताको तहबाट, जनताको स्तरबाट गरिएको महान् विद्रोह र पहलकदमी थियो यो’ उनले भने ।

प्रचण्डले अगाडि भने, ‘तर यसको आधिकारिक र प्रामाणिक व्याख्या हुन अझै बाँकी छ । आधिकारिक रुपले यो के चिज हो ? यसभित्र कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो ? भन्ने कुराको जस्ताको तस्तै स्थापित गर्ने देशभित्र, देशबाहिर त्यो अझै बाँकी छ । यसभित्र अन्तर्निहित उदात्त विचार, भावना र त्यागको महानता, उच्चतालाई होइन यसको विद्रुपीकरण गर्ने । र निरंकुशतालाई अगाडि ल्याउने जमर्कोहरु अझै पनि देखा पर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?