+
+

हड्ताल टुंगिएपछि रेडकार्पेटमा फर्कियो ‘स्टारडम’, धमाधम प्रिमियर गर्दै हलिउड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १२:२८

काठमाडौं । हलिउड अब रेडकार्पेटमा धुलो उडाउन तयार छ । ११८ दिनसम्म चलेको हड्ताल टुंगिएसँगै रेडकार्पेटमा अब स्टारपावर फर्किन थालेको छ । यसको सुरुवात प्रतीक्षित सिक्वेल ‘हंगर गेम्स : द बलार्ड अफ द सङ बर्ड्स एण्ड स्नेक्स’सँगै सुरु भएको छ ।

बिहीबार ‘हंगर गेम्स’ सिक्वेललाई लण्डनमा विश्व प्रिमियर गरियो । अभिनेत्री रचेल जेगलरले रेडकार्पेटबाट फ्यानलाई अभिवादन गरिन् । बिलियन डलर कमाइ गरेको यो फिल्मको पछिल्लो श्रृंखला आठ वर्षपछि रिलिज हुन लागेको हो ।

जेगलर रातो कार्पेटमा को–स्टार टम ब्लिथ, हन्टर स्याफर र जोश एन्ड्रेस रिवेरासहित हिंडिन् । यी कलाकार हंगर गेम्सका अघिल्ला भाग हेर्दै हुर्किएका थिए । फिल्म बनाउनेबारे बीबीसी न्युजसँग कुरा गर्दै जेग्लरले भने, ‘मैले आफू र मेरो १२ वर्षको छोरीलाई राम्रो सेवा गर्न चाहन्थें, जसले फिल्मलाई माया गर्थे । म निकै खुसी छु ।’

सुजेन कोलिन्सको सबैभन्दा धेरै बिक्री हुने पुस्तकमा आधारित यो फिल्मको पाँचौं सिक्वेलमा जेनिफर लरेन्सको शीर्ष भूमिका रहेको अघिल्ला ‘हंगर गेम्स’को कथावस्तुलाई सेट गरिएको छ । यो फिल्ममा बेलायती अभिनेता ब्लिथले डिस्टोपियन राष्ट्र प्यानेमको अत्याचारी राष्ट्रपतिको भूमिका निर्वाह गरेका छन् ।

हलिउडको हड्ताल टुंगिने निश्चित भएसँगै निर्माताले लण्डनमा प्रिमियर आयोजना गरेका हुन् । चार महिना चलेको कलाकारको हड्तालको कारण प्रिमियर समारोह रोकिएका थिए भने स्टारलाई फिल्म प्रवर्द्धन गर्न समेत अनुमति थिएन ।

कृत्रिम बौद्धिकता (एआई)बाट सुरक्षा र पारिश्रमिकमा वृद्धि गर्ने सहमतिसँगै कलाकारको छाता संस्था हड्ताल टुंग्याउन सहमत भएको छ । यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ ।

हड्ताल टुंगिने भएपछि यसले स्टुडियोलाई ठूलो राहत प्रदान गरेको छ । मार्टिन स्कोरसिजले ‘किलर्स अफ द फ्लावर मुन’को प्रवर्द्धन फिल्मका स्टारहरु लियोनार्दो डिक्याप्रियोबिनै गरेका थिए । सोनीले ‘डम्ब मनी’ पनि स्टारबिनै गरेको थियो ।

नेटफ्लिक्सले आइतबार लस एन्जलसमा आगामी सिरिज ‘द क्राउन’को प्रिमियर समारोह आयोजना गरेको छ । आइतबार हलिउडमा हुन लागेको ‘किलर्स अफ द फ्लावर मुन’को विशेष शोमा अभिनेता डिक्याप्रियो र लिली ग्लाडस्टोन उपस्थित हुने अपेक्षा गरिएको छ । साथै अरु फिल्मको पनि प्रिमियरको ‘लाइनअप’ धमाधम बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?