+
+

संस्कृति जोगाउन उदयपुरको ज्‍यामिरेमा हुक्केहुक्का महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते १७:४५

२५ कात्तिक, ज्यामिरे (उदयपुर)। थारू समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले उदयपुरको ज्यामिरेमा प्रथम उदयपुर हुकेहुका महोत्सव-२०८० तथा बृहत सांस्कृतिक कार्यक्रम मनाइएको छ ।

नेपाल थारू संघ (समाजवादी) को आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित पश्चिमटोल, ज्यामिरेमा महोत्सव मनाइएको हो ।

महोत्सवमा हुक्केहुक्का प्रतियोगीतासमेत गराइएको छ, जसमा ७ वटा टिम सहभागी भएका छन् । हुक्केहुक्का महोत्सवमा सहभागी हुने टिमहरू थारू सामुदायिक होमस्टे पूर्वटोल जोगीदह, अमृता चौधरीको टोली देवधार, बेहड्वा थारू होमस्टे-१३, अपेक्षा चौधरीको समूह, पदम चौधरी पुर्व टोल ज्यामिरे, सीतादेवी चौधरी पुर्व टोल ज्यामिरे, शिव बाबा मण्डली देवधार रहेका छन् ।

हुक्केहुक्का प्रतियोगिता जारी छ, त्यसपछि रिजल्ट आउनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमश: ५ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा भाग लिनेहरूको मुल्यांकन ५ आधारमा गरिने छ । हुकेहुकाको बनोट, हुकेहुकाको मन्त्र, हुकेहुका खेल्ने तरिका, हुकेहुकाको समापन र थारू भेषभूषा/पहिरणको आधारमा प्रतियोगिताको मुल्यांकन गरिनेछ ।
प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई ५ मिनेटको समय तोकिएको छ ।

किन मनाइन्छ हुक्केहुक्का ?

अन्धन लक्ष्‍मी घर ढुक
दलिदर भूत बहार हो
अर्थात धनकी देवी लक्ष्‍मी घरभित्र आओ
भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ

हिन्दु नेपालीहरुले तिहारको लक्ष्मीपूजाको दिन धनकी देवी लक्ष्मीलाई घर-घरमा भित्र्याइरहँदा तराईमा बसोबास गर्ने आदिवासी थारु समुदायले घर-घरमा हुक्के-हुक्का खेलेर र सुप्पो (नाङ्लो) ठटाएर भूत, पिचास र दलिदर (राक्षस) लाई बाहिर निकालेर लक्ष्‍मी भित्र्याउने गर्छन् ।

परापूर्वकालदेखि नै धनकी देवी लक्ष्मीलाई भित्र्याउन पूर्वका थारु समुदायले हातमा सन्ठी (जुट निकालिसकेपछि बाँकी रहेको सिन्का) बाट बनाइएको हुक्‍के-हुक्‍का खेलेर भित्र्याउँछन् । त्यस्तै पश्चिम नेपालका थारु समुदायले मादल ठोकेजस्तै सुप्पो (नाङ्लो) ठटाउँदै ‘भाग दलिदरी ओत्ती जा लक्ष्मी घरम आ’ (भाग अलिच्छिन टाढा जा लक्ष्मी घरमा आऊ) नारा लगाउँदै लक्ष्मी भित्र्याउँछन् ।

पूर्वका थारु समुदायले लक्ष्‍मीलाई भित्र्याउन र कुनै किसिमको अनर्थ नलागोस्, घरमा भएका भूत, पिचास र दलिदर (राक्षस) बाहिर जाओस् र धनकी देवी लक्ष्मी भित्र पसुन् भनेर नकारात्मक पक्षलाई पन्छाउन हुक्‍के हुक्‍का खेल्ने गरेको थारु संस्कृतिविद् भुलाई चौधरी बताउँछन् ।

उनी भन्छन्, ‘हुक्‍के हुक्का थारु समुदायको एउटा मौलिक पर्व हो। वर्षभरिमा घरमा लुकेर बसेको भूत, पिचास र दलिदर (राक्षस)लाई सन्ठीमा आगो लगाएर घरबाट धपाउने गरिन्छ । त्यसपछि लक्ष्मीलाई भित्र्याउने गरिन्छ । हाम्रो समाजमा यो चलन प्राचीन हो ।’

लक्ष्मीपूजाको साँझ प्राय थारु समुदायले आ-आफ्‍नो घरमा/टोल छरछिमेकमा सनपाटबाट दिउँसो हुक्‍के हुक्‍का तयार गर्छन् । उनीहरुले आजको दिन आफ्‍नो घरमा सनपाट/जुटबाट (नभए अरुकोबाट मागेर भए पनि ल्‍याएर) हुक्‍के-हुक्‍का बनाएर खेल्‍ने गर्छन्।

पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्‍दै आएको संस्कृतिविद् चौधरी बताउँछन्। उनी भन्छन्, ‘हुक्‍के-हुक्‍का तराईमा बस्‍ने आदिवासीले त्‍यतिबेला घनघोर जंगलमा बस्दा भूत, पिचास लगायतका नकारात्मक शक्तिसँग मूक्त रहन र धान चामल, बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्‍ने गरेको छ ।’

यस्तै सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पूजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको थारु पण्डित शिवशंकर चौधरी बताउँछन् । उनी भन्छन्, ‘सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताले यसको संरक्षण नगर्दा लोप हुँदै गएको छ । पहिलाको जस्तो सनपाट उत्पादन हुँदैन र तालतलैया पनि पुरिन थालेका छन् । युवाहरु कृत्रिमतातर्फ आकर्षिक हुँदै गएका छन् ।’

थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका-३, मोतीगडाका किसान नन्दबत्ती चौधरीले बताइन् । उनले भनिन्, ‘ताल तलैया, पोखरीहरु पुरिए । अर्कोतिर सनपाट पनि खासै पाइदैन । अब कसरी खेल्‍ने यसमा थारु युवाहरु एक भएर संरक्षण गर्नुपर्ने देखिन्छ ।’

परम्परा अनुसार घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ । यसरी सल्काइएको हुक्के हुक्कालाई तीन पटकसम्म देउता घरको चारैतिर घुमी दोबाटो वा खाली चौरमा लगी खेल्ने चलन छ । खेल्दा उनीहरुले यस्तो भन्‍ने गरेका छन् ।

हुक्‍के- हुक्‍का बेहानके नोन बगिया
हुक्‍के-हुक्‍के बेहानके तेल बगिया

पुर्वमा थारु समुदायले खेलिने हुक्के-हुक्का। यहाँ हुक्के-हुक्का खेलेर लक्ष्मी भित्र्याउने गरिन्छ।

किंवदन्ती अनुसार हुक्‍के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्‍ने गरिन्छ । यसले उब्जनी राम्रो हुने मान्यता रहेको छ । अन्नबाली राम्ररी सप्रियोस् भनी हुक्के हुक्काको बल्न बाँकी एक भाग जम्मा पारी दोवाटोमा जलाउने र बलेको आगोमा तीन पटकसम्म नाघेर आ–आफ्नो घर जाने चलन छ ।

यस्तै एउटा एउटा जलेको हुक्के हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?