७ साउन, काठमाडौं । थारू समुदायको कला, संस्कृति, परम्परा र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले ‘हरेरी सांस्कृतिक साँझ–२०८३’ आयोजना हुने भएको छ ।
घोंघी स्टेसन प्रालिका अनुसार साउन ९ गते शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा कार्यक्रम हुनेछ । दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कार्यक्रममा थारू समुदायका कलाकार, स्रष्टा, सांस्कृतिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रम संयोजक नरेश जोगीका अनुसार ‘आपसी एकता, सांस्कृतिक पहिचान, समृद्ध थारू समाज हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमले थारू समुदायको सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा थारू समुदायका चर्चित गायक–गायिका, नृत्य कलाकार तथा सांस्कृतिक समूहले परम्परागत गीत, नृत्य, वेशभूषा र बाजागाजासहित सांस्कृतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा लोक, आधुनिक तथा हास्य विधाका प्रस्तुति पनि समावेश गरिनेछ ।
आयोजकका अनुसार कार्यक्रममा विशेष अतिथिका रूपमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी सहभागी हुनेछन् । साथै सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रका अन्य व्यक्तित्वको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ ।
आयोजकले यसलाई मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई थारू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणको अभियानका रूपमा अघि बढाएको जनाएको छ ।
कार्यक्रमको प्रवेश शुल्क ५०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4