+
+

दाम्पत्य जीवन सुरु गर्नुअघि पार्टनरलाई सोध्नुपर्ने १० प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १३:२९

आजका युवायुवती जति चाँडो सम्बन्धमा जोडिन रुचाउँछन् । सम्बन्धमा केही समस्या निम्तिएको खण्डमा त्यति नै छिटो टाढिन्छन् पनि ।

आजको प्रविधियुक्त जमानामा आफ्नो मनको कुरा मन परेको व्यक्तिलाई व्यक्त गर्न केवल एक फोन कल वा मेसेज नै काफी छ । तर यदि आफ्नो सम्बन्ध लामो समयसम्म रहिरहोस् र बलियो होस् भन्ने चाहनुहुन्छ भने आफू र आफ्नो पार्टनरलाई केही प्रश्न सोध्नुहोस् ।

सम्बन्ध विच्छेदका मामिलामा विशेषज्ञ वकिल ब्यारोनेस फियोना स्याकलटन र एक्सेटर विश्वविद्यालयका शिक्षाविद्हरूले भनेका छन्, ‘कुनै पनि जोडीले गम्भीर सम्बन्धमा आउनुअघि एकअर्कालाई केही प्रश्न सोध्नु पर्छ । यसले उनीहरूको सम्बन्ध सुमधुर राख्न मद्दत गर्छ ।’

सफल दम्पती, पारिवारिक वकिल र मध्यस्थकर्ताका अनुसार मित्रता, सम्मान र आफ्नोबारेमा आधारित सबै कुरा साझा गर्ने सम्बन्ध लामो समयसम्म टिक्ने गर्छ ।

४० वर्षभन्दा बढी समयदेखि सम्बन्ध विच्छेदका वकिल बनेकी स्याकलटन भन्छिन्, ‘मसँग सम्बन्ध विच्छेदका लागि आउने ५० प्रतिशतभन्दा बढीले आफ्नो सम्बन्धमा भएको तीतोपनबारे बताउँछन् । उनीहरू आफ्नो पार्टनरसँग बेमेल भएको बताउँछन् ।’

स्याकलटनको विचारमा दीर्घकालीन सम्बन्ध तब मात्र सफल हुन्छ, जब दुवै साझेदारले सम्बन्ध कसरी राम्रो बनाउने भनेर सल्लाह गर्छन् । कहिलेकाहीं परिवारका सदस्यहरू वा आमाबाबुको सम्बन्धबाट पनि यो कुरा सिकिन्छ ।

अन्वेषकहरूले १० वर्षदेखि विवाह गरेका वा सो अवधिमा छुट्टिएका ४३ जोडीसँग अन्तर्वार्ता लिएका थिए । उक्त अन्तरवार्तामा १० देखि १५ वर्ष सँगै अन्य समलिङ्गी र विषमलिङ्गी जोडीहरू पनि समावेश थिए ।

अध्ययनपछि निम्न १० प्रश्न प्रकाशमा आए, जुन हरेक सम्बन्ध सुरु गर्नुअघि सोध्नुपर्छ ।

असल साथी नै राम्रो पार्टनर

सर्वेक्षणका अनुसार अधिकांश सफल जोडीले आफ्नो सम्बन्ध मित्रताबाट सुरु गर्छन् र बिस्तारै उनीहरूबीच प्रेमको सम्बन्ध बन्न थाल्छ । तसर्थ, अनुसन्धानकर्ताहरू भन्छन् कि सम्बन्ध सुरु गर्नुअघि दुवै पार्टनरले एकअर्कालाई सोध्नुपर्छ-

के हाम्रो मित्रता गहिरो छ ?

विशेषज्ञका अनुसार एकअर्काको राम्रो साथी हुँदा मुस्किल समय पनि सजिलै कटाउन सकिन्छ । जो जोडी पछि अलग्गिए उनीहरूबीच साथीको सम्बन्ध कम भएको अध्ययनमा पत्ता लाग्यो ।

के हामी समान चीज चाहन्छौ ?

अध्ययनअनुसार जुन दम्पतीको सम्बन्ध लामो समय रहन्छ, उनीहरूले एकअर्कासँग आफ्नो सम्बन्धको मूल्य, सम्बन्धबाट अपेक्षा, सपना आदि आफ्नो पार्टनरसँग सेयर गर्छन् ।

के हाम्रा अपेक्षाहरू जायज छन् ?

अध्ययनबाट विज्ञहरूले पत्ता लगाएका छन्, सफल जोडीहरूले विवाह र उनीहरूको सम्बन्धको बारेमा उचित अपेक्षा राखेका थिए । उनीहरूलाई थाहा थियो कि सम्बन्ध निभाउन सजिलो छैन र त्यसको लागि उनी कडा परिश्रम गर्न तयार थिए ।

के हामी आफ्नो पार्टनरलाई आफूभन्दा माथि ठान्छौ ?

सम्बन्धमा सहानुभूति राख्नु राम्रो कुरा हो । विशेषज्ञहरु भन्छन्,  ‘दयाभावले प्रेममा पर्न समय लाग्ला तर जब सम्बन्धमा दयाको भावना हुन्छ दुवैले एकअर्कालाई आफूभन्दा राम्रो मान्छन् । आवश्यक पर्दा एकअर्काको लागि जे पनि गर्न तयार हुन्छन् ।’

आफ्नो सम्बन्ध कायम राख्न के गर्छौ ?

लामो समयदेखि सम्बन्धमा रहेका दम्पतीले दैनिक सानातिना काम र कर्मकाण्डमा एकअर्कालाई सकेसम्म सहयोग गर्ने गरेको बताउँछन् ।

के हामी सबै विषयमा छलफल गर्न र हामीबीचको समस्या एकअर्कालाई बताउन सक्छौ ?

यो निकै महत्त्वपूर्ण छ । दिनभरिको आवश्यक विषय वा कुनै गम्भीर विषयमा पार्टनरसँग कुरा गर्नका लागि तपाईंसँग पर्याप्त समय हुनुपर्छ । यसो गर्दा प्रेम थप प्रगाढ बन्ने गर्छ ।

हामी कठिन समयमा पनि साथ रहन सक्छौ ?

सम्बन्धलाई स्थायी बनाउन जोडीले समयका साथ आउने परिवर्तनका लागि तयार हुनु जरुरी हुन्छ । जब मुस्किल घडीमा दुवै एकअर्काको साथमा हुन्छन् तब उनीहरू आफ्नो सम्बन्ध बलियो भएको पाउँछन् ।

के हामी हाम्रो मागलाई नियन्त्रण गर्न वा कम गर्न सक्छौ ?

जीवनमा प्रेम गुमाउने डर र कमजोर आर्थिक अवस्था आदिको दबाबमा धेरै इच्छालाई नियन्त्रण गर्नुपर्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । आफ्नो इच्छालाई नियन्त्रण गर्नु सम्बन्धको जित हो र यो सबै सम्बन्धको लागि आवश्यक छ ।

के हामी सार्वजनिक रूपमा एकअर्कालाई समर्थन गर्छौ ?

हामीले जुन व्यक्तिको साथमा जीवन बिताउने निर्णय गरेका छौं, उसलाई हाम्रो परिवार र साथीहरूले पनि मन पराउनुपर्छ भन्ने चाहना हुन्छ । यस्तोमा दम्पतीले परिवार र साथीभाइबाट सहयोग पाएमा उनीहरूको सम्बन्ध बलियो बन्ने विज्ञहरूको विश्वास छ ।

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?