+
+

सरकारको दिमाग खराब (टिकटक टिप्पणी)

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० कात्तिक २७ गते २०:२२

फिल्म हलमा ‘दिमाग खराब’ हेरिरहँदा मोबाइलमा नोटिफिकेसन आयो : टिकटक बन्द गर्ने सरकारको निर्णय । धेरैपछि हलको पर्दामा ध्यान एकत्रित गर्न खोज्दै गर्दा टिकटक बन्दको खबरले दिमाग खराब गर्न थाल्यो ।

सुरुमै प्रष्ट गरिदिन्छु : म टिकटकको प्रशंसक होइन । टिकटकले खाली समयको खराब व्यवस्थापन गर्छ भनेर ठान्नेमध्ये म पनि हुँ । अझ सिर्जनात्मक कन्टेन्टलाई नक्कलको नाममा टिकटक, फेसबुक रिल, युट्युब सर्टस् आदिले सोत्तर बनाएका छन् । व्यक्तिको आत्मसम्मान, धार्मिक–सामुदायिक संवेदना र गोपनीयताको हक ध्वस्त गर्न टिकटकमा औंलाको एक क्लिक काफी थियो ।

तर यो कुनै नयाँ आविष्कार थिएन, जसले एटम बमभन्दा ध्वंसात्मक मानवीय विनाश गर्न सकोस् ।

श्यामश्वेत कागजमा छापिएका बेनामे पर्चाहरुदेखि फेसबुक ट्वीटरका फेक आइडीसमेत देखेर आएको मेरो पुस्तालाई टिकटकले चरित्र हत्या, व्यक्तिगत गोपनीयताभित्र घुसेर आक्रमण, अनि अर्काले रचेको संगीतमा ‘राम्रो म’ को उत्कर्ष देखायो । समस्या व्यक्तिहरुमा हो, टिकटक विधामा होइन ।

प्रचण्ड सरकारकी प्रवक्ता रेखा शर्माले यस प्रतिबन्धको निर्णयमा दलहरुबीच राष्ट्रिय सहमति भएको दाबी गरेकी छन् । जबकी दुई दिनअघि अनलाइनखबरसँग कुरा गर्दै उनले सामाजिक सन्जाल नियमनमात्रै गर्न लागेको, नियन्त्रण नगर्ने दाबी गरेकी थिइन् ।

सरकारका कुरा पत्याउनै गाह्रो !

शर्माले भनेझैं कांग्रेस, एमाले, माओवादी लगायत दलहरुबीच सहमति नै भएको हो भने पनि हेक्का रहोस्, लोकतन्त्रमा नागरिक स्वतन्त्रताविरुद्ध ‘राष्ट्रिय सहमति’ गर्न पाइँदैन । त्यो ‘राष्ट्रवाद’ होइन, ‘राष्ट्रघात’ हो । प्रचण्डले संसद नचलेका बेला, नागरिक चाडमा मस्त भएका बेला जुन निर्णय गराएका छन्, उनले के बुझ्नुपर्छ भने उनी सधैं सत्तामा हुने छैनन् ।

टिकटक लगायत प्लाटफर्ममा भएका गलत, असंवेदनशील कदम रोकिनुपर्छ । त्यो रोक्ने, नियमन गर्ने काम राज्यकै इकाइहरुको हो, जसलाई प्राविधिक रुपमा अझै सबल र सिपालु बनाउँदै जानुपर्छ । नत्र टिकटक बन्द गर्ने सरकारी निर्णयको हालत त्यही हुनेछ, जुन हालत तिहारमा पटाका प्रतिबन्धको छ ।

नपत्याए राम्रोसँग सुन्नुहोस् त, भर्खरै टोलछिमेका उन्मुक्त बालबच्चाहरुले प्रतिबन्धित पटका पड्काए । सत्ता–संस्थापन र सबैसँग रिसाएको व्यक्ति स्वयं आफ्ना उकुसमुकुस र आक्रोशहरुलाई अभिव्यक्त गर्ने मञ्चहरुमा निषेधाज्ञा लाग्दै गए झन् चर्को रुपमा प्रस्तुत हुन सक्छ ।

विद्रोहको भाषालाई पूर्वविद्रोहीहरुले भन्दा राम्रोसँग कसले बुझ्न सक्ला र ? विद्रोह सामसुम बनाउने अब एउटै विकल्प छ– नागरिकलाई अभिव्यक्त हुन दिने । अफबाह र गलत सामग्रीमा सीमा लगाउने । नत्र नागरिकको पनि दिमाग खराब हुन सक्छ, फिल्ममा खगेन्द्र लामिछाने र दयाहाङ राईको दिमाग खराब भएझैं ।

नागरिक स्वतन्त्रतालाई सम्मान गर्दै, अराजकतालाई नियमन गर्न बलियो संयन्त्रको आह्वान गर्दै हामीले यो अनलाइनखबर–टिप्पणी टिकटकमार्फत् प्रकाशित गर्न चाहेका छौं ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?